जरायो मारेर भाग लगाउँदै गर्दा जब प्रहरी पुग्यो..

सुर्खेत । संरक्षित क्षेत्र सुर्खेतको काँक्रेविहारमा जरायो मारेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर–९ स्थित नयाँगाउँ क्षेत्रमा जरायो मारेर मासु भागवन्डा गरिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा बुधबार बिहान पासोमा पारेर जरायो मारेर भाग लगाइरहेको अवस्थामा उनीहरूलाई घटनास्थलबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर–१० का ५२ वर्षीय डम्मरबहादुर थारु, उनका छोरा अन्दाजी २१ वर्षीय सुशील चौधरी, २८ वर्षीय आशाराम चौधरी र वीरेन्द्रनगर-११ का ४१ वर्षीय मिनबहादुर वली रहेको प्रवक्ता शाहीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही हुने जिल्ला वन कर्यालय सुर्खेतले जनाएको छ ।

उक्त ऐनको उपदफा ३ मा राष्ट्रिय निकुञ्ज, प्राकृतिक आरक्ष, वन्यजन्तु आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रभित्र अनुज्ञापत्र नलिई पन्छी र माछाबाहेक अन्य वन्यजन्तु शिकार गरी मारेमा वा घाइते बनाएमा २० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनादेखि एक वर्ष कैद वा दुवै सजाय हुने उल्लेख छ ।

एक सय ७५ हेक्टर क्षेत्रफलमा फैलिएको काँक्रेविहारको वन क्षेत्रलाई २०५९ सालमा पहिलो संरक्षित वन क्षेत्र घोषणा गरिएको थियो । काँक्रेविहार वन क्षेत्रमा बासस्थान भएका दुर्लभ वन्यजन्तु जरायो, बँदेल, खरायो, मृग, स्यालजस्ता जनावर र मयुर, कालिजलगायतका चराचुरुङ्गी छन् ।

संरक्षणका लागि सशस्त्र वन रक्षकको पोष्ट खडा गरिएको छ भने टोलटोलमा संरक्षण समिति बनाइएको छ । तर, वन क्षेत्रको उचित घेराबार तथा संरक्षणको जिम्मेवारी पाएका निकाय चनाखो नहुँदा वन्यजन्तु र चराचुरुङ्गीको चोरी शिकार बढिरहेको छ ।

जरायो मारेर भाग लगाउँदै गर्दा जब प्रहरी पुग्यो..

प्रधानमन्त्रीपत्नी सीता दाहालकाे निधन

Leave a comment

Your email address will not be published. Required fields are marked *