बाँकेमा धार्मिक सद्भावको उदाहरण : मुस्लिम समुदायका युवाले लगाए दसैँको टीका र जमरा

बाँके ,४ कार्तिक ।
धार्मिक सद्भाव र सामाजिक एकताको सहरका रूपमा परिचित बाँकेमा बडा दसैँका अवसरमा मुस्लिम समुदायका युवाले हिन्दु समुदायका मान्यजनबाट टीका तथा जमरा लगाएर दसैँ मनाएका छन् ।
मुस्लिम समुदायका युवाले दसैँको टीका ग्रहण गर्दै आपसी प्रेम, सम्मान र सद्भावको सन्देश दिएका हुन् ।
बाँकेमा हिन्दु समुदायका चाडपर्वमा मुस्लिम समुदाय सहभागी हुने र मुस्लिम समुदायका चाडपर्वमा हिन्दु समुदायका व्यक्तिहरू सहभागी हुने परम्परा लामो समयदेखि कायम छ । यही परम्परालाई निरन्तरता दिँदै मुस्लिम समुदायका युवाले बुधबार दसैँको टीका तथा जमरा लगाएर आशीर्वाद लिएका हुन् ।
जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले पनि हिन्दु समुदायका मान्यजनबाट दसैँको टीका तथा जमरा लगाएर आशीर्वाद लिनुभएको छ । उहाँले सबै धर्म र समुदायका चाडपर्वलाई सम्मान गर्दै आपसी सद्भावका साथ मनाउँदै आएको बताउनुभयो । उहाँको सहभागिताले विभिन्न धार्मिक समुदायबीचको पारस्परिक सम्मान र सहअस्तित्वको सन्देश दिएको छ ।
यसैगरी, राष्ट्रिय जनमत पार्टीका वरिष्ठ नेता इरफान अहमद शेषले पनि हिन्दु समुदायका मान्यजनबाट दसैँको टीका तथा जमरा लगाउनुभएको छ । उहाँले पनि आपसी सद्भाव र सामाजिक एकताको भावनासहित दसैँ मनाउनुभएको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले हिन्दु समुदायका मान्यजनबाट टीका तथा जमरा लगाएर दसैँ मनाएको बताउनुभयो । उहाँले दसैँ, तिहार, रक्षाबन्धन, होलीलगायत हिन्दु समुदायका पर्वमा मुस्लिम समुदायका व्यक्तिहरू सहभागी हुने र ईद, बकराईद, मोहर्रम तथा मोहम्मद डे जस्ता मुस्लिम समुदायका पर्वमा हिन्दु समुदायका व्यक्तिहरूलाई समेत सहभागी गराउने परम्परा रहेको उल्लेख गर्नुभयो ।
मुस्लिम इत्तेहाद सङ्गठन बाँकेका अध्यक्ष तथा नेपालगन्ज उपमहानगरपालिका–४ का पूर्व वडाध्यक्ष मोहम्मद सफिक नद्दाफले पनि हिन्दु समुदायका आफन्त तथा मान्यजनबाट टीका ग्रहण गर्नुभएको छ ।
उहाँले आफूले वर्षौंदेखि दुवै समुदायका चाडपर्व मिलेर मनाउँदै आएको उल्लेख गर्दै एकअर्काका पर्वमा सहभागी हुँदा आत्मीयता र भाइचाराको भावना बलियो हुने बताउनुभयो ।
हिन्दु समुदायका अगुवा कृष्णप्रसाद श्रेष्ठले पनि नेपालगन्जमा एकअर्काका चाडपर्वलाई सम्मानपूर्वक मिलेर मनाउने परम्परा रहेको बताउनुभयो । उहाँले मुस्लिम समुदायका चाडपर्वमा समेत सहभागी हुँदै आएको उल्लेख गर्नुभयो ।

नेपालगन्जमा हिन्दु र मुस्लिम समुदायका व्यक्तिहरूले एकअर्काका चाडपर्वमा सहभागी हुने, शुभकामना आदानप्रदान गर्ने तथा सुख दुःखमा साथ दिने अभ्यासलाई सामाजिक एकताको आधारका रूपमा लिने गरेका छन् । दुवै समुदायका धार्मिक गुरुहरूले समेत एकअर्काका पर्वका अवसरमा भेटघाट, अङ्कमाल र शुभकामना आदानप्रदान गर्दै आउनुभएको छ ।
विविध धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको नेपालगन्जमा कायम यस्तो परम्पराले धार्मिक सहिष्णुता, आपसी सम्मान र सामाजिक सद्भावलाई निरन्तरता दिन सहयोग पुर्‍याउँदै आएको छ ।

बाँकेमा धार्मिक सद्भावको उदाहरण : मुस्लिम समुदायका युवाले लगाए दसैँको टीका र जमरा

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!