दशैँ–तिहारले चम्कायो कुमाल समुदायको परम्परागत पेसा माटाका दियो बनाउन भ्याइनभ्याई

बाँके, १ कार्तिक ।

नेपालीहरूको महान् पर्व दशैँ र दिपावली नजिकिएसँगै बाँकेका कुमाल समुदायमा चाडपर्वको रौनकसँगै कामको चटारो पनि बढेको छ । पुस्तौँदेखि माटोका भाँडाकुँडा र दियो बनाएर जीविकोपार्जन गर्दै आएको कुमाल समुदायका परिवार यतिबेला माटो मुछ्न, दियोको आकार दिन र बिक्रीका लागि तयार पार्न दिनरात खटिरहेका छन् । 

आधुनिक विद्युतीय बत्तीको प्रयोग बढ्दै गए पनि दिपावलीमा माटोको दियो बाल्ने धार्मिक तथा सांस्कृतिक परम्परा कायम रहेकाले कुमाल समुदायका लागि दसैँ–तिहार आम्दानीको महत्वपूर्ण अवसर बनेको छ ।

दिपावलीमा घरआँगन, मठमन्दिर तथा पूजास्थलमा माटोको दियो बाल्ने चलन रहेकाले नेपालगञ्जसहित बाँकेका विभिन्न स्थानमा रहेका कुमाल परिवारलाई दियो बनाउन भ्याइनभ्याइ भएको हो । विशेषगरी मधेसी समुदायमा दिपावलीका बेला माटोको दियो बाल्ने परम्परा रहेकाले यस समयमा बजारमा दियोको माग बढ्ने गरेको नेपालगञ्जका सामाजिक अगुवा विष्णुलाल कुमालले बताए ।

उनका अनुसार कुमाल समुदायका दर्जनभन्दा बढी परिवार अहिले बिहान सबेरैदेखि रातीसम्म दियो बनाउने काममा व्यस्त छन् । कतिपय परिवार राती २ बजेदेखि नै उठेर माटो मुछ्ने, दियोलाई आवश्यक आकार दिने, सुकाउने र बिक्रीका लागि तयार पार्ने काममा जुट्ने गरेका छन् । चाडपर्वको समय सीमित अवधिमा धेरै दियो उत्पादन गर्नुपर्ने भएकाले परिवारका सदस्य नै काममा खटिने गरेका छन् ।

यस सिजनमा एक परिवारले एक लाखदेखि पाँच लाख वटासम्म दियो उत्पादन गर्ने लक्ष्य राखेको कुमालले जानकारी दिए । उत्पादन र बिक्रीको अवस्था हेरेर प्रतिपरिवार एक लाखदेखि तीन लाख रुपैयाँसम्म आम्दानी हुने अपेक्षा गरिएको उनले बताए । चाडपर्वका बेला दियोको माग बढ्ने भएकाले कुमाल समुदायका लागि यो समय वर्षभरिको आम्दानी जुटाउने अवसरसमेत बन्ने गरेको छ ।

कुमालहरूले तयार पारेका दियो खरिद गर्न ग्राहक तथा व्यापारी कतिपय अवस्थामा घरमै पुग्ने गरेका छन् । त्यस्तै, केही कुमाल परिवारले नेपालगञ्जको त्रिभुवन चोकमा लगेर दियो बिक्री गर्ने गरेका छन् । दशैँ–तिहार नजिकिँदै जाँदा बजारमा दियो किन्ने ग्राहकको चहलपहल बढ्न थालेको छ । मागअनुसार समयमै दियो तयार पार्नुपर्ने भएकाले उनीहरूलाई उत्पादन र बिक्री दुवैको व्यवस्थापन गर्नुपर्ने चुनौती पनि छ ।

आधुनिक विद्युतीय बत्ती, झिलिमिली बत्ती र अन्य सजावटका सामग्रीको प्रयोग बढ्दै गए पनि धार्मिक अनुष्ठान तथा पूजाआजामा माटोको दियोको महत्व कायमै रहेको कुमालको भनाइ छ । परम्परागत रूपमा माटोको दियो बाल्ने चलनले निरन्तरता पाएकाले यसको माग पूर्ण रूपमा घट्न नसकेको उनले बताए ।

कुमाल समुदायको जीवनशैली र पहिचानसँग जोडिएको माटाका सामग्री बनाउने पेसा केवल आम्दानीको माध्यम मात्र होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परागत सीप पनि हो । माटोको छनौंट, त्यसलाई मुछ्ने, चक्रमा राखेर आकार दिने र घाममा सुकाउनेजस्ता काममा सीप, धैर्य र अनुभव आवश्यक पर्छ । यही सीपका आधारमा कुमाल समुदायले वर्षौँदेखि घरायसी प्रयोजन तथा चाडपर्वमा प्रयोग हुने विभिन्न सामग्री उत्पादन गर्दै आएको छ । तर बदलिँदो समयसँगै बजारमा प्लास्टिक, धातु र अन्य आधुनिक सामग्रीबाट बनेका भाँडाकुँडाको प्रयोग बढ्दै जाँदा परम्परागत पेसालाई निरन्तरता दिन चुनौतीसमेत थपिएको छ । 

यस्तो अवस्थामा दसैँ–तिहारजस्ता चाडपर्वमा माटाका दियोको माग बढ्नुले कुमाल समुदायको परम्परागत सीप जोगाउन र परिवारको आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । माटोको दियो बाल्नु केवल धार्मिक आस्थासँग जोडिएको अभ्यास मात्र होइन, स्थानीय उत्पादन, परम्परागत सीप र समुदायको जीविकोपार्जनसँग पनि सम्बन्धित छ । कुमाल समुदायले बनाएका दियो प्रयोग गर्नुले स्थानीय श्रम र उत्पादनलाई प्रोत्साहन दिनुका साथै पुस्तौँदेखि चल्दै आएको मौलिक पेसालाई निरन्तरता दिन सहयोग पुग्छ ।

चाडपर्वको उज्यालो फैलाउन माटोका दियो बनाउन जुटेका कुमाल समुदायका लागि बजारमा उचित मूल्य, सहज बिक्री र आवश्यक कच्चा पदार्थको उपलब्धता महत्त्वपूर्ण छन् । परम्परागत सीपको संरक्षणसँगै स्थानीय उत्पादनको प्रवद्र्धन गर्न सके माटाका सामग्री निर्माण पेसालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न सहज हुने देखिन्छ । आधुनिकतासँगै परम्परालाई पनि जोगाउँदै आएको कुमाल समुदायको मेहनतले यस बर्षको दशैँ–तिहारलाई उज्यालो बनाउनुका साथै स्थानीय अर्थतन्त्रमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

दशैँ–तिहारले चम्कायो कुमाल समुदायको परम्परागत पेसा  माटाका दियो बनाउन भ्याइनभ्याई

कर्णालीको पर्यटन क्षेत्रमा प्रदेश सरकारको लगानी भए

दशैँ–तिहारले चम्कायो कुमाल समुदायको परम्परागत पेसा  माटाका दियो बनाउन भ्याइनभ्याई

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ जफत

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!