बाँकेमा एचआईभी सङ्क्रमित २९ प्रतिशत उपचारको पहुँचबाहिर

बाँके ,९ कार्तिक ।
बाँकेमा एचआईभी सङ्क्रमण पुष्टि भएका व्यक्तिमध्ये उल्लेख्य सङ्ख्या उपचारको पहुँचबाहिर रहेको पाइएको छ। गत आर्थिक वर्षमा एचआईभी सङ्क्रमण पुष्टि भएका एक सय जनामध्ये २९ जना उपचारको पहुँचमा नआएको एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) ले जनाएको छ।

फाउन्डेसनका अनुसार सङ्क्रमण पुष्टि भएपछि पनि उपचार सुरु नगर्ने तथा उपचारकै क्रममा स्वास्थ्य संस्थाको सम्पर्कबाट बाहिरिने प्रवृत्तिले एचआईभी नियन्त्रणमा चुनौती थपेको छ। उपचारको पहुँचबाहिर रहेका अधिकांश व्यक्ति नेपालगन्जका रहेको फाउन्डेसनका कार्यक्रम संयोजक संजयकुमार पौडेलले बताउनुभयो।

“सङ्क्रमण पुष्टि भइसकेपछि पनि उपचार नगर्नु हाम्रो लागि चुनौती बनेको छ,” पौडेलले भन्नुभयो, “यसले समुदायस्तरमा सङ्क्रमणको जोखिम बढाएको छ।”

उहाँका अनुसार समाजमा एचआईभी सङ्क्रमितप्रति हुने भेदभाव, लज्जा र डरका कारण कतिपय व्यक्ति उपचारका लागि स्वास्थ्य संस्थासम्म आउन चाहँदैनन्। सङ्क्रमितप्रतिको सामाजिक दृष्टिकोणमा सुधार हुँदै गए पनि सामाजिक डर र विभेदका कारण उपचारबाट टाढा रहने समस्या पूर्ण रूपमा हट्न नसकेको उहाँले बताउनुभयो।

उपचारको पहुँचबाहिर रहेका व्यक्तिलाई स्वास्थ्य सेवासँग जोड्नु र उपचार सुरु गरेपछि नियमित सेवामा कायम राख्नु अहिलेको प्रमुख चुनौती रहेको फाउन्डेसनले जनाएको छ।

भेरी अस्पतालमा एएचएफसँगको सहकार्यमा एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) केन्द्र सञ्चालनमा छ। अस्पतालका अनुसार हाल ६५८ जना एचआईभी सङ्क्रमितले उक्त केन्द्रबाट नियमित एआरटी सेवा लिइरहेका छन्। सन् २०१७ मा सेवा सुरु हुँदा ३९० जनाले एआरटी सेवा लिएका थिए।

सेवा सुरु भएयता केन्द्रमा उपचाररत नौ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ।

भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन तथा एचआईभी फोकल पर्सन डा. संकेतकुमार रिसालले नियमित उपचार र स्वास्थ्य सेवामा पहुँच विस्तार हुँदा एचआईभी सङ्क्रमित आमाबाबुबाट जन्मिएका स्वस्थ बच्चाको दर बढेको बताउनुभयो। उहाँले उपचार सेवाको निरन्तरता र पहुँच विस्तारले सङ्क्रमण नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।

यद्यपि, भेरी अस्पतालमा भाइरल लोड परीक्षण गर्ने मेसिनको अभावले सेवा प्रवाहमा चुनौती थपिएको उहाँले बताउनुभयो। भाइरल लोड परीक्षणले शरीरमा एचआईभी भाइरसको मात्रा कति छ भन्ने पत्ता लगाउन मद्दत गर्छ। यसबाट उपचारको प्रभावकारिता मूल्याङ्कन गर्न सकिन्छ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले एचआईभी सङ्क्रमण पुष्टि भएका व्यक्तिलाई उपचारमा जोड्न तथा उपचारकै क्रममा सम्पर्कविहीन हुनेको सङ्ख्या घटाउन छुट्टै संयन्त्र आवश्यक रहेको बताउनुभयो। सङ्क्रमितको पहिचानसँगै उनीहरूलाई नियमित उपचारमा राख्ने व्यवस्था प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ।

यसका लागि सङ्क्रमितलाई सम्मानजनक व्यवहार गर्ने वातावरण निर्माण, सामाजिक भेदभाव न्यूनीकरण, नियमित परामर्श तथा उपचारमा निरन्तरता सुनिश्चित गर्ने कार्यलाई प्राथमिकता दिनुपर्ने देखिएको छ।

एड्स हेल्थकेयर फाउन्डेसनले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेको परियोजनाअन्तर्गत आयोजित स्थानीय परियोजना सल्लाहकार समितिको बैठकमा पनि एचआईभी सङ्क्रमितको पहिचान, उपचारमा पहुँच विस्तार र नियमित उपचार सेवालाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।

बैठकमा सङ्क्रमण पुष्टि भएका व्यक्तिलाई उपचारको दायरामा ल्याउने, उपचारकै क्रममा सम्पर्कविहीन हुने समस्या न्यूनीकरण गर्ने तथा स्वास्थ्य सेवामा पहुँच बढाउने विषयलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिइएको थियो।

उपचारको पहुँचबाहिर रहेका सङ्क्रमितलाई स्वास्थ्य सेवासँग जोड्न सकेमा उनीहरूको स्वास्थ्य अवस्था सुधार गर्नुका साथै समुदायस्तरमा एचआईभी सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बाँकेमा एचआईभी सङ्क्रमित २९ प्रतिशत उपचारको पहुँचबाहिर

कर्णालीका ८ पालिका अझै सडक सञ्जालबाहिर, दुर्गमको

बाँकेमा एचआईभी सङ्क्रमित २९ प्रतिशत उपचारको पहुँचबाहिर

बाँकेमा एचआईभी सङ्क्रमित २९ प्रतिशत उपचारको पहुँचबाहिर

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!