जुम्लाबाट आधा अर्बको स्याउ निर्यात 

ओम शाही 

सुर्खेत, ९ कार्तिक । 

जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन स्याउ निर्यात भएको छ । कृषि विकास कार्यालयको तथ्यांकअनुसार जिल्लामा उत्पादन भएको स्याउ हालसम्म करिब सात हजार ३३० मेट्रिकटन बाहिरी जिल्लामा गएको छ ।

कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जिल्लामा करिब १९ हजार ५०० मेट्रिकटन स्याउ उत्पादन भई ५५ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको जानकारी दिए । हाल प्रतिकेजी न्यूनतम ७५ रुपैयाँमा स्थानीय बगैँचाबाट किसानले स्याउ बिक्री गरिरहेका छन् ।

तातोपानी गाउँपालिका–६ स्थित बाँजारावलामा सात हजार १४० रोपनी क्षेत्रफलमा भएको सामूहिक स्याउखेतीबाट मात्र ३४ मेट्रिकटन स्याउ उत्पादन भएको छ । जसबाट मात्र ३० लाख बराबरको स्याउ बिक्री भएको कार्यालय प्रमुख अधिकारीको भनाइ छ ।

जुम्लामा झण्डै चार हजार ६०५ हेक्टर अर्थात् ९२ हजार ८० रोपनी क्षेत्रफलमा स्याउखेती हुने गरेको छ । चालु आवमा झण्डै १०८ हेक्टर अर्थात् दुई हजार १६० रोपनी थप क्षेत्रफलमा स्याउखेती विस्तार गरिने लक्ष्य कार्यालयले लिएको कार्यालय प्रमुख अधिकारीले बताए ।

उच्च जातको फुजी स्याउको खेती भने जम्मा ५२ हेक्टर क्षेत्रफलमा भएको छ । यस वर्ष ४९ हेक्टरमा मात्र फुजी स्याउ फलेको कृषि कार्यालयले जनाएको छ । यसैगरी, रेड डेलिसेस, रोयल डेलिसेस, गोल्डेन, रिचा रेड, जनाथन, स्पोरलगायत स्थानीय जातका स्याउको खेती भई बिक्रीवितरण भइरहेको कृषि कार्यालयले जनाएको छ ।

केही स्याउ व्यापारीले कोल्ड स्टोरका साथै घरमा पनि स्याउ राखेकाले निर्यात र रकम बढ्न सक्ने अनुमान गरिएको छ । कार्यालयका अनुसार यहाँका आठवटै स्थानीय तहका करिब १९ हजार घरधुरी स्याउखेतीमै निर्भर रहेको जनाएको छ ।

यो वर्ष भारतबाट आउने स्याउ नेपालमा बन्द भएपछि जुम्लाको स्याउले बजार राम्रो पाएको छ । जिल्लाबाट एक हजार ५०० कार्टुन स्याउ खरिद गरी नेपालगञ्जमा बिक्री गरेको हिमा गाउँपालिकाका स्थानीय स्याउ व्यापारी माया रोकायाले जानकारी दिए ।

किसान र उत्पादन क्षेत्रमा वृद्धि

जुम्लामा स्याउ खेती गर्ने किसानको संख्या अहिले १८ हजार तीन सय १५ पुगेको छ । दुई वर्षअघिको तुलनामा किसानको संख्या २६.३१ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०८२/८३ मा जुम्लामा १८ हजार दुई सय ४५ मेट्रिकटन स्याउ उत्पादन भएको कृषि विकास कार्यालय जुम्लाको तथ्यांक छ । चालु आर्थिक वर्षमा उत्पादन १९ हजार पाँच सय मेट्रिकटन पुग्ने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी दीपक सिंह धामी बताउँछन् ।

खेतीको क्षेत्रफल पनि बढिरहेको छ । आर्थिक वर्ष २०७८/७९ मा तीन हजार आठ सय २५ हेक्टर रहेको स्याउ खेतीको क्षेत्रफल गत आर्थिक वर्षसम्म चार हजार चार सय ४५ हेक्टर पुगेको छ । चालु आर्थिक वर्षमा यो क्षेत्रफल चार हजार छ सय चार हेक्टर पुग्ने अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा १३ हजार सात सय मेट्रिकटन रहेको उत्पादन २०८०/८१ मा २१ हजार मेट्रिकटनसम्म पुगेको थियो । त्यसपछि उत्पादन घट्दै २०८१/८२ मा १९ हजार आठ सय ४० र २०८२/८३ मा १८ हजार दुई सय ४५ मेट्रिकटनमा झरेको छ ।

कृषि विकास कार्यालयका सूचना अधिकारी धामीका अनुसार बगैँचामा उत्पादन गर्ने किसान बढेका छन् । तर, उत्पादनअघि बगैँचाको व्यवस्थापन र उत्पादनपछि स्याउलाई सुरक्षित राख्ने, गुणस्तरअनुसार छुट्याउने, प्रशोधन गर्ने र बजारमा उचित मूल्यमा पुर्‍याउने पूर्वाधार भने सोही अनुपातमा विस्तार हुन सकेको छैन ।

उनी भन्छन्, ‘जलवायु परिवर्तनका कारण स्याउमा विभिन्न रोग र किराहरूको संक्रमण बढ्दै गएको छ । विशेषगरी टेन्ट केटरपिलर र पाउडरी मिल्ड्यूजस्ता समस्या स्याउमा देखिन थालेका छन्, जसले क्षेत्रफल बढे पनि उत्पादकत्वमा चुनौती थपेको छ ।’

उत्पादनअघि बगैँचाको व्यवस्थापन र उत्पादनपछि स्याउलाई सुरक्षित राख्ने, गुणस्तरअनुसार छुट्याउने, प्रशोधन गर्ने र बजारमा उचित मूल्यमा पुर्‍याउने पूर्वाधार भने सोही अनुपातमा विस्तार हुन सकेको छैन ।

स्याउका रूखमा झ्याउ लाग्ने समस्या पनि बढिरहेको छ । अनिश्चित वर्षा र मौसमी चक्रमा परिवर्तन हुँदा समयमा पानी नपर्ने तर, बेमौसममा धेरै पानी पर्ने समस्याले स्याउ खेतीलाई निकै असर गरिरहेको छ ।

यस्तै, स्याउको फूल फुल्ने संवेदनशील समयमा तुसारो पर्ने, असिना आउने वा धेरै पानी पर्ने हुनाले उत्पादनमा प्रत्यक्ष नकारात्मक असर परिरहेको किसानको गुनासो छ ।

जिल्ला कृषि विकास कार्यालयले उन्नत जातका बोटमा अनुदान, आधुनिक कृषि औजार, जलवायु अनुकूलन खेती प्रणाली, प्याकेजिङ र ढुवानीमा अनुदानलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुम्लामा स्याउ उत्पादन बढ्दै गएसँगै यसको सुरक्षित भण्डारण र वर्षभरि बजारमा पुर्‍याउने सम्भावनासमेत विस्तार हुँदै गएको छ । कृषि विकास कार्यालयका अनुसार जिल्लामा अहिले एक हजार पाँच सय मेट्रिकटन क्षमताको एउटा र साना क्षमताका ५१ वटा प्रिफ्याब कोल्ड स्टोर (चिस्यान केन्द्र) सञ्चालनमा छन् । यी संरचनाले जुम्लाको स्याउलाई उत्पादनको मौसममै बिक्री गर्नुपर्ने बाध्यताबाट क्रमशः बाहिर निकाल्दै वर्षभरि बजारमा पुर्‍याउने आधार तयार गरिरहेका छन् ।

चिस्यान केन्द्रमा प्रदेश सरकारको ३० प्रतिशतभन्दा बढी लगानी छ । चन्दननाथ नगरपालिकामा रहेको कैलाश चिस्यान केन्द्रमा प्रदेश सरकारले ९२ लाख रुपैयाँ लगानी गरेको छ । चिस्यान केन्द्र निर्माण तथा सञ्चालनमा जुम्लाका स्थानीय तह र विकास साझेदारले समेत ठूलो लगानी गरेका छन् ।

कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार कुल उत्पादन २० हजार मेट्रिकटनभन्दा बढी हुने जिल्लामा हाल भण्डारण क्षमता भने निकै कम रहेको छ । उत्पादन र भण्डारण क्षमताबीचको यो अन्तरले जुम्लामा स्याउको शीत भण्डारण पूर्वाधार विस्तारका लागि ठूलो सम्भावना देखाउँछ ।

पर्याप्त चिस्यान केन्द्र थपिएमा किसानले सिजनमै सबै स्याउ बिक्री गर्नुपर्ने अवस्था अन्त्य हुँदै जानेछ । पर्याप्त कोल्ड स्टोर निर्माण गर्न सके तीन महिनाको मौसमी उत्पादनलाई वर्षभरि क्रमिक रूपमा बजारमा पुर्‍याउन सकिने सम्भावना रहेको अधिकारीको भनाइ छ ।

उत्पादन बढेसँगै स्याउको आकार, रङ र गुणस्तरअनुसार वर्गीकरण अर्थात् ग्रेडिङ गर्ने अभ्यास विस्तार गर्न सके बजारमा यसको मूल्य र पहिचान दुवै बढाउन सकिने अवस्था छ । हाल जुम्लामा ग्रेडिङ गर्ने अभ्यास अत्यन्त न्यून छ ।

अधिकांश किसानले सबैखाले स्याउ एउटै मूल्यमा बिक्री गर्दै आएका छन् । कम गुणस्तरका स्याउ बिक्री नहुने डरले किसानले ग्रेडिङ गर्न नचाहने अवस्था पनि छ । यसको असर राम्रो गुणस्तरका स्याउमा समेत पर्ने गरेको छ ।

बजारमा एकरूप गुणस्तरको आपूर्ति हुन सके जुम्ली स्याउले प्रिमियम ब्रान्डको पहिचान बनाउन सक्ने सम्भावना पनि उत्तिकै छ । उत्पादन, शीत भण्डारण, ग्रेडिङ र प्याकेजिङलाई एउटै प्रणालीमा जोड्न सके जुम्लाको स्याउले मौसमी कृषि उपजबाट वर्षभरि बजारमा उपलब्ध हुने उच्च मूल्यको व्यावसायिक उत्पादनको रूप लिन सक्छ ।

जुम्लाबाट आधा अर्बको स्याउ निर्यात 

सुर्खेतमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या उच्च

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!