मार्सी भित्र्याउन चटारो : जुम्लामा मार्सी उत्पादन १६ प्रतिशत बढ्ने
जुम्ला, ९ कार्तिक ।
जुम्लाका किसानलाई दशैँ सकिए लगत्तै मार्सी धान भित्र्याउन भ्याइनभ्याइ छ । बिहानै खेतमा पुग्ने किसान साँझ अबेरसम्म धान काट्ने र घर भित्र्याउने काममा व्यस्त छन् । रोगकिराको संक्रमणले उत्पादनमा चुनौती थपिए पनि जुम्ली किसानले पुस्तौँदेखि खेती गर्दै आएको मार्सी धान रोप्न छाडेका छैनन् ।
जुम्लाको पहिचान, संस्कृति र किसानको आम्दानीसँग जोडिएको मार्सी धानको बजार माग उच्च छ । यस वर्ष मौसम अनुकूल रहेकाले उत्पादनसमेत बढ्ने अनुमान गरिएको छ । सदरमुकाम खलंगामा अहिले मार्सी चामल प्रतिकिलो एक सय ८० रुपैयाँमा किनबेच भइरहेको छ । किसानले उत्पादन गरेको अधिकांश चामल सदरमुकामका कोसेली घरमा बिक्री गर्ने गरेका छन् ।
कर्णाली घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले समेत मार्सी चामल कोसेलीका रूपमा लैजाने गरेका छन् । अडिलो, स्वादिलो र पोषिलो मानिने मार्सी चामल ठूला होटलको खान्कीसमेत बनेको छ ।
बजारमा राम्रो मूल्य र माग रहेकाले किसान यसप्रति आकर्षित छन् । मार्सी धानको आफ्नै कृषि चक्र छ । चैतमा बीउ राख्ने, जेठ–असारमा रोपाइँ गर्ने, साउन–भदौमा गोडमेल गर्ने र असोज–कात्तिकभित्र बाली भित्र्याउने गरिन्छ । यही चक्रअनुसार अहिले जुम्लाका धानखेतमा किसानको चहलपहल बढेको चन्दननाथ नगरपालिका–४ की देविकन्या चौलागाईंले बताइन् । उनका अनुसार दसैँपछि मार्सी धान काट्ने र थन्क्याउने कामले किसानलाई व्यस्त बनाएको छ ।
जुम्लाको तातोपानी, गुठीचौर, पातारासी, चन्दननाथ, सिँजा, कनकासुन्दरी र हिमा गाउँपालिकाका विभिन्न क्षेत्रमा धानखेती हुँदै आएको छ । मार्सीसँगै किसानले कृषि अनुसन्धान केन्द्रले सिफारिस गरेका चन्दननाथ–१, चन्दननाथ–३, लेकाली–१ र लेकाली–३ जातका धानसमेत लगाउने गरेका छन् । रोगकिराको संक्रमणका कारण मार्सी उत्पादनमा उतारचढाव देखिए पनि स्थानीय पहिचान र बजारसँग जोडिएकाले यसको खेती निरन्तर भइरहेको छ ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा दुई हजार आठ सय ८८ हेक्टर क्षेत्रफलमा धानखेती हुँदा छ हजार एक सय २५ मेट्रिक टन उत्पादन भएको थियो । चालु आर्थिक वर्ष २०८३/८४ मा पनि सोही क्षेत्रफलमा धानखेती गरिएको छ ।
यस वर्ष सात हजार मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको अधिकारीले बताए । गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन १५ देखि १६ प्रतिशतसम्म बढ्ने अपेक्षा गरिएको छ । ‘यस वर्ष रोगकिराको ठूलो प्रकोप देखिएको छैन । बाढीपहिरो र असिनाजस्ता प्राकृतिक विपत्तिले पनि उल्लेख्य क्षति नगरेकाले उत्पादन बढ्ने अनुमान गरेका छौँ,’ अधिकारीले भने । उनका अनुसार मौसम र प्राकृतिक प्रकोपको प्रभाव कम हुनु उत्पादन बढ्ने अपेक्षाको मुख्य आधार हो ।
मार्सी धानको इतिहास जुम्लाको संस्कृति र परम्परासँग जोडिएको छ । करिब सात सय वर्षअघि जुम्लीका इष्टदेवता चन्दननाथले भारतको काश्मिरबाट मार्सी धानको बीउ ल्याएको विश्वास गरिन्छ । राणा शासनका बेला केन्द्रमा रहेका शासकका लागि यही धानको चामल हुलाकमार्फत काठमाडौंसम्म पुर्याउने गरिएको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य बताउँछन् ।
कृषि विवरणअनुसार मार्सी चामलबाट जुम्लामा बार्षिक तीन करोड ५० लाख रुपैयाँ आम्दानी हुने गरेको छ । जुम्लामा २०२७ सालमा स्थापना भएको कृषि अनुसन्धान केन्द्रले १३ वर्षसम्म स्वदेशी तथा विदेशी जातका धानको बीउमा अनुसन्धान गरेको थियो । मार्सीको सक्कली बीउ अनुसन्धानका लागि केन्द्रमा राखिए पनि अन्यत्र हराइसकेको बताइन्छ ।
समुद्र सतहबाट दुई हजारदेखि तीन हजार ५० मिटर उचाइसम्मका बेँसी, मध्य तथा उच्च क्षेत्रमा धानखेती हुने गरेको छ । पातारासी गाउँपालिका–३ स्थित छुमचौर ज्युलो समुद्र सतहबाट दुई हजार आठ सय ५० मिटर उचाइमा छ, जहाँ मार्सी धान फल्छ । उच्च भूभागमा धान फल्ने यही विशेषताले जुम्ली मार्सीलाई विशिष्ट पहिचान दिएको छ ।
मार्सी धानसँगै जुम्लाका किसानलाई पाकेको कोदो, फापर, सिमी, मकै, भटमास र आलुलगायतका बाली भित्र्याउन पनि भ्याइनभ्याइ छ । यतिबेला किसान खेतबारीमा पाकेका बाली संकलन गरेर घर भित्र्याउन व्यस्त रहेको कृषि विकास कार्यालयका प्रमुख अधिकारीले बताए । तर, मार्सी धानको बजार र मूल्यले किसानलाई उत्साहित बनाइरहेका बेला जुम्लामा परम्परागत कोदोखेतीको क्षेत्रफल भने बर्सेनि खुम्चिँदै गएको छ ।
अधिकारीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा जुम्लामा तीन हजार आठ सय ४० हेक्टरमा कोदोखेती भएको थियो । आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा यसको क्षेत्रफल घटेर तीन हजार सात सय हेक्टरमा सीमित भयो । गत वर्ष दुई हजार सात सय ३५ हेक्टरमा कोदोखेती हुँदा तीन हजार आठ सय २१ मेट्रिक टन उत्पादन भएको थियो । चालु आर्थिक वर्षमा कोदोखेतीको क्षेत्रफल थप घटेर दुई हजार सात सय ३३ हेक्टरमा झरेको छ ।
जुम्लामा कोदोको पिठो प्रतिकिलो एक सय ५० रुपैयाँ र कोदोको दाना प्रतिकिलो एक सय रुपैयाँमा बिक्री भइरहेको छ । सिमी दाल प्रतिकेजी २ सय ८०, दाना कालो २ सय ७० र मिक्स २ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ ।
फापरको पिठो २ सय ५० रुपैयाँ बिक्री भइरहेको छ । बजारमा राम्रो मूल्य हुँदा हुँदै पनि कोदोखेतीको क्षेत्रफल घट्दै जानुले यसको उत्पादन र संरक्षणमा चुनौती थपिएको देखाउँछ । उपलब्ध विवरणमा चालु आर्थिक वर्षको कोदो उत्पादन र उत्पादकत्व भने खुलाइएको छैन ।
मार्सी धानको बढ्दो बजार माग र सम्भावित उत्पादन बृद्धिले जुम्ली किसानलाई परम्परागत खेतीप्रति उत्साहित बनाएको छ । तर, रोगकिराको जोखिम, खेतीयोग्य जमिनको उपयोग र कोदोखेतीको खुम्चिँदो क्षेत्रफलले स्थानीय कृषि प्रणालीको दिगोपनबारे प्रश्न उठाएको छ । जुम्लाका मौलिक बालीको संरक्षणसँगै उत्पादन वृद्धि, रोगकिरा नियन्त्रण र बजार व्यवस्थापनमा ध्यान दिन सके मात्रै कृषि उपजबाट किसानको आम्दानी बढाउन सकिनेछ ।





