सीमान्तका आवाजलाई केन्द्रमा ल्याउँदै जुम्लामा साहित्य सम्मेलन
गाेल्डेन बुढा
जुम्ला,८कार्तिक
सीमान्तकृत भूगोल, समुदाय, भाषा र संस्कृतिका आवाजलाई राष्ट्रिय साहित्यिक तथा बौद्धिक विमर्शको केन्द्रमा ल्याउने उद्देश्यले जुम्लामा सोमबार ‘सीमान्त साहित्य सम्मेलन’ आयोजना हुने भएको छ।कुटिरो रिसर्च प्रालिको आयोजनामा होटल कान्जिरोवामा बिहान १० बजे सुरु हुने सम्मेलनको मूल अवधारणा ‘किनारादेखि केन्द्रसम्मको वैचारिकी’ रहेको छ। आयोजकका अनुसार सम्मेलनले कर्णालीलगायत देशका विभिन्न सीमान्तकृत क्षेत्रका साहित्य, कला, संस्कृति, इतिहास र स्थानीय ज्ञानलाई राष्ट्रिय बहससँग जोड्नेछ।आइतबार होटल दौतरीमा आयोजित पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष महेश नेपालीले कर्णालीको मौलिक भाषा, देउडा, लोकगीत, परम्परागत ज्ञान र जीवनपद्धतिको संरक्षण तथा प्रवर्द्धन सम्मेलनको प्रमुख उद्देश्य रहेको बताए।सम्मेलनको उद्घाटन समारोहमा कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको विशेष उपस्थिति तथा आतिथ्यता रहनेछ। उद्घाटन सत्रमा कुटिरो रिसर्च सेन्टरद्वारा प्रकाशित लेखक लक्ष्मणबहादुर शाहीको नयाँ पुस्तक ‘आधा अध्याय’ को गृह विमोचनसमेत गरिनेछ।सम्मेलनमा देशभरका साहित्यकार, लेखक, अध्येता, अनुसन्धानकर्ता, प्राध्यापक, पत्रकार तथा स्थानीय ज्ञानका जानकार सहभागी हुनेछन्। कार्यक्रममा विषयगत बहस, विचारपत्र प्रस्तुति, कविता वाचन, साहित्यिक संवाद, स्थानीय भाषा तथा लोकसाहित्यसम्बन्धी प्रस्तुति र युवा तथा विद्यार्थी अन्तरक्रियालगायत सत्र सञ्चालन गरिने आयोजकले जनाएको छ।





