जाजरकोट–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

जाजरकोट, ९ कार्तिक । 

जाजरकोटको सदरमुकाम खलंगाबाट काठमाडौंसम्म पहिलोपटक अत्याधुनिक सुविधासहितको रात्रिबस सेवा सञ्चालनमा आएको छ । लामो दूरीको यात्रालाई सहज, सुरक्षित र आरामदायी बनाउने उद्देश्यले सुरु गरिएको सेवाले राजधानी आवतजावत गर्ने यात्रुलाई नयाँ विकल्प दिएको छ ।

जाजरकोट डोल्पा यातायात सेवा प्रालि, मध्यपश्चिम यातायात सेवा प्रालि र सुर्खेत काँक्रेविहार यातायात सेवा प्रालिको संयुक्त पहलमा रात्रिबस सेवा सुरु गरिएको हो । सेवाको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी नवराज बरालले लामो दूरीमा सञ्चालन हुने अत्याधुनिक सुविधासम्पन्न बसले यात्रुलाई सहजता प्रदान गर्नुका साथै यात्रा सुरक्षित र भरपर्दो बनाउन सहयोग पुग्ने बताए । यात्रुको सुविधालाई प्राथमिकता दिँदै गुणस्तरीय यातायात सेवा सञ्चालन गर्नु सकारात्मक भएको उनको भनाइ थियो ।

जाजरकोट डोल्पा यातायात सेवा प्रालिका कार्यालय प्रमुख लोकेन्द्र चन्दका अनुसार हाल ४१ सिट क्षमताका छ वटा बसमार्फत सेवा सञ्चालन भइरहेको छ । प्रतिगाडी एक करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने बसमा यात्रुको सुविधालाई ध्यानमा राखेर विभिन्न आधुनिक प्रविधि र सुविधा जडान गरिएको छ ।

बसमा भीआईपी सिट, स्लिपर सिट, खानेपानी, सीसीटीभी क्यामेरा, एलईडी डिस्प्ले र निःशुल्क इन्टरनेटको सुविधा उपलब्ध छ । सरकारले तोकेको जाजरकोट–काठमाडौं भाडादर चार हजार ६६ रुपैयाँ भए पनि हाल यात्रुलाई तीन हजार पाँच सय रुपैयाँमै सेवा उपलब्ध गराइएको चन्दले बताए ।

हवाई यातायातको भाडा बढ्दै गएको अवस्थामा सुविधासम्पन्न बसमा तुलनात्मक रूपमा कम खर्चमा काठमाडौं जान पाउँदा खुसी लागेको स्थानीय नगेन्द्र शाहले बताए । ॅतीन हजार पाँच सय रुपैयाँमै सुविधासम्पन्न बसमा काठमाडौं जान पाउनु यात्रुका लागि खुसीको कुरा हो,’ शाहले भने । हाल सदरमुकाम खलंगाबाट मात्रै सञ्चालन भइरहेको सेवा आगामी दिनमा नलगाड नगरपालिकाको तल्लुबगर र कालीमाटीसम्म विस्तार गर्ने योजना रहेको चन्दले जानकारी दिए ।

जाजरकोट–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

मार्सी भित्र्याउन चटारो : जुम्लामा मार्सी उत्पादन

जाजरकोट–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

कर्णालीका ८ पालिका अझै सडक सञ्जालबाहिर, दुर्गमको

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!