मध्यपश्चिम विश्वविद्यालयका दुई आङ्गिक क्याम्पसमा उपकुलपति सुवालद्वारा अनुगमन
सुर्खेत ,१० कार्तिक ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति इन्जिनियर डा. राजन सुवालले विश्वविद्यालयअन्तर्गतका दुई आङ्गिक क्याम्पसको अनुगमन तथा निरीक्षण गर्नुभएको छ। उहाँले कात्तिक ६ देखि ८ गतेसम्म कालीकोटस्थित तिला कर्णाली बहुमुखी क्याम्पस र मुगुस्थित रारा बहुमुखी क्याम्पसको भ्रमण गरी त्यहाँको शैक्षिक अवस्था, भौतिक पूर्वाधार र प्रशासनिक गतिविधिबारे जानकारी लिनुभएको हो।
अनुगमन भ्रमणका क्रममा उपकुलपति सुवालले दुवै क्याम्पसका कक्षाकोठा, पुस्तकालयलगायत उपलब्ध भौतिक संरचनाको अवलोकन तथा निरीक्षण गर्नुभएको थियो। उहाँले क्याम्पसमा उपलब्ध शैक्षिक तथा भौतिक सुविधाको अवस्था, तिनको उपयोग र शैक्षिक गतिविधि सञ्चालनमा देखिएका अवस्थाबारे जानकारी लिनुभएको थियो।

भ्रमणका क्रममा उपकुलपति सुवालले क्याम्पसका पदाधिकारी, प्राध्यापक तथा कर्मचारीहरूसँग छलफल तथा अन्तरक्रियासमेत गर्नुभएको थियो। उहाँले क्याम्पसको वर्तमान अवस्था, पठनपाठनको स्थिति, प्रशासनिक कार्यसम्पादन र शैक्षिक गतिविधिका विषयमा जानकारी लिँदै समग्र सुधारका सम्भावनाबारे छलफल गर्नुभएको थियो।
उहाँले दुवै क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधारको प्रभावकारी उपयोग तथा प्रशासनिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउन आवश्यक दिशानिर्देशसमेत गर्नुभएको थियो। विश्वविद्यालयअन्तर्गतका आङ्गिक क्याम्पसको अवस्था प्रत्यक्ष रूपमा बुझेर तिनको शैक्षिक तथा प्रशासनिक उन्नयनका लागि आवश्यक पहल गर्नु भ्रमणको उद्देश्य रहेको जनाइएको छ।अनुगमन भ्रमणमा उपकुलपति सचिवालयका सदस्यलगायतको सहभागिता रहेको थियो।
मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतका आङ्गिक क्याम्पसको नियमित अनुगमन, प्राध्यापक तथा कर्मचारीसँगको प्रत्यक्ष संवाद र उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोगले दुर्गम क्षेत्रका विद्यार्थीलाई गुणस्तरीय उच्च शिक्षाको अवसर विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, क्याम्पसका आवश्यकता र चुनौती पहिचान गरी सुधारका कार्यक्रम अघि बढाउन यस्ता अनुगमनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।





