राष्ट्रसंघीय सुरक्षा परिषद्को अध्यक्षता नरेन्द्र मोदीले गर्दै

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को खुला छलफलमा अध्यक्षता गर्दैछन्। भिडियोमार्फत मोदीले सुरक्षा परिषद् छलफलको अध्यक्षता गर्न लागेका हुन्। आज समुद्री सुरक्षा र सहयोगबारे राष्ट्रसंघीय फोरममा छलफल हुँदैछ।
मोदी सुरक्षा परिषदमा छलफलको अध्यक्षता गर्ने पहिलो भारतीय प्रधानमन्त्री भएको त्यहाँको विदेश मन्त्रालयले जानकारी दिएको छ। आफूले राष्ट्रसंघीय बैठकको अध्यक्षता गर्न लागेको जानकारी मोदी स्वयम्ले ट्वीटरमार्फत पनि जानकारी दिएका छन्।
ट्वीटरमा उनले लेखेका छन्, ‘यो खुला बहसमा समुद्री अपराधसँग जुध्ने प्रभावकारी उपाय खोज्ने तथा विश्व शान्तिका लागि समुद्री सहयोग बलियो बनाउनतर्फ ध्यान केन्द्रित गरिनेछ।’
यो बैठकमा सुरक्षा परिषद्का सदस्य राष्ट्रका राष्ट्राध्यक्ष र सरकारी अधिकारीहरू सामेल हुने अपेक्षा भारतको प्रधानमन्त्री कार्यालयले राखेको छ। बैठकमा राष्ट्रसंघका प्रमुख अधिकारीहरू पनि सहभागी हुनेछन्। भारतले यो महिनाभर सुरक्षा परिषदको अध्यक्षता गरिरहेको छ।






