इरान : राष्ट्रपतिका पूर्वउम्मेदवार तेहरानका मेयर निर्वाचित

एजेन्सी । इरानको राष्ट्रपति पदका लागि उम्मेदवारी दिएका एक नेता इरानकै एउटा शहरको मेयरमा निर्वाचित भएका छन्। इरानको प्रतिनिधिसभाको सांसदसमेत भइसक्नु भएका एलिरेज जाकिनी इरानको राजधानी तेहरान शहरको मेयरमा निर्वाचित भएका हुन्।
उनी मेयरमा निर्वाचित भएको आइतबार घोषणा गरिएको छ। उनले आफ्नो नगरमा रहेका लागुऔषध दुर्व्यसन, बाल मजदुरी, मगन्तेलगायत समस्या समाधान गर्ने अठोट व्यक्त गरेका छन्।
लामो समयदेखि राजनीतिमा सक्रिय जाकानीले सन् २०१३, २०१७ र २०२१ मा राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेका थिए।
सन् २०१३ र २०१७ मा उनको उम्मेदवारीलाई आधिकारिक निकायले अयोग्य घोषणा गरेको थियो भने हालै सन् २०२१ मा भने उहाँले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका थिए।
हालै निर्वाचित इब्राहिम रायसीलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिनुभएको हो। रायसीलाई निर्वाचित गराउन उनले प्रमुख प्रचारकको रूपमा भूमिका खेलेका थिए। त्यसको बदलामा रायसीले पनि जाकानीलाई निर्वाचित गराउन भूमिका खेलेका थिए।
अहिले झण्डै ५५ वर्ष पुगेका जाकानीका श्रीमती र तीन सन्तान छन्। तेहरान चिकित्सा शिक्षा विश्वविद्यालयमा अध्ययन गरेका जाकानी इरानी अनलाइन पत्रिका र साप्ताहिक पत्रिकाको सञ्चालकसमेत हुन्।






