असहाय सृजनाको पढ्ने रहर

रोल्पा, २ कात्तिक ।
रोल्पाको त्रिवेणी गाउँपालिका ७ नाङ्गाकी सात वर्षीया सृजना डाँगीका बाबु एक वर्ष पहिले बिते । बाबुको मृत्युपछि शोकमा डुबेकी सृजनाकी आमाले मानसिक सन्तुलन गुमाउनु भयो । बाबु आमा दुबैको सहारा गुमाएपछि सृजना एक्ली भइन । उनी अहिले सहाराको खोजीमा छिन् ।

उनको दयनीय अवस्था देखेर काका पर्ने डिल्ली डाँगी र काकी बबिता डाँगीले उनलाई घर नजिकको विद्यामन्दिर प्रावि रानागाउँमा कक्षा १ मा भर्ना गरिदिएका छन् । आफ्नै आर्थिक अवस्था कमजोर भएकाले सृजनालाई आवश्यक शैक्षिक सामग्री, विद्यालय पोशाक, खाजाको व्यवस्था गर्न नसकिएको उनीहरुले बताएका छन् ।
विद्यालयमा भर्ना भए पनि उनको पढाइले निरन्तता पाउने कुनै सुनिश्चिता छैन् । उनको पढाइका लागि अहिलेसम्म पालिकाले पनि कुनै चासो देखाएका छैनन्।
सहयोगी हातहरु जुट्दै
त्यही विद्यालयका शिक्षक गंगा चिन्तित बिएमले सृजनाको बारेमा फेसबुकमा स्टाटस लेखेपछि अहिले सहयोगी हातहरु जुट्न थालेका छन् । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी सहयोग रकम र शैक्षिक सामग्री, विद्यालय पोशाक असहाय सृजनालाई हस्तान्तरण गरिएको छ ।
उनको संरक्षण गरिरहनुभएकी बबिता डाँगीको संरक्षणमा रहने गरी विद्यालयको कोषबाट विद्यालय पोशाक, बालकल्याण प्रावि मुलटाकुराका शिक्षक भिमाकुमारी वली, सुबोधमा सुगम फोटो स्टुडियोका सञ्चालक कल्पना डाँगी बुढा र अभिभावक उन्नति बुढाबाट १र१ दर्जन कपी र पेन्सिल सहयोग जुटेको छ।
यस्तै लिबाङमा रहेको बालकल्याण माविका शिक्षक कृष्ण डिसी, युवा संघ रोल्पाका संयोजक कृष्ण नेपाली र त्रिपुरेस्वरी मावि खुङ्ग्रीका शिक्षक घनश्याम डाँगीले जनही २र२ हजार सहयोग गरेरेका छन् । सृजनाको लागि सहयोग जुट्ने क्रम जारी रहेकाले फेरि अर्को कुनै कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिने बाल सहयोग कोषका संयोजक गीताकुमारी नेपालीले जानकारी दिए ।
असहाय बालिकालाई सहयोगका लागि वडा हुँदै गाउँपालिकामा सिफारिस गर्ने विद्यालयका प्रधानाध्यापक तथा बाल सहयोग कोषका सदस्य शेरबहादुर पुनले जानकारी दिए ।
उज्यालो अनलाइनबाट साभार
माधवकुमार ओली ।






