स्वास्थ्य बिमाबाट भेरी अस्पतालमा उपचार लिने बिरामी ४० प्रतिशतले बढे

बाँके ,२३ भदौ।
पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालका रूपमा रहेको भेरी अस्पताल नेपालगन्जमा स्वास्थ्य बिमामार्फत उपचार सेवा लिने बिरामीको संख्या पछिल्ला वर्षमा निरन्तर बढ्दै गएको छ।
अस्पताल प्रशासनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत ८५ हजार ६८ जनाले भेरी अस्पतालबाट उपचार सेवा लिएका छन्। आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्य बिमामार्फत उपचार सेवा लिनेको संख्या ६० हजार ७ सय ४५ थियो।
यस्तै, आर्थिक वर्ष २०८१/८२ मा यो संख्या बढेर ६७ हजार ५ सय ८ पुगेको थियो। एक वर्षमै स्वास्थ्य बिमामार्फत सेवा लिने बिरामीको संख्या १७ हजार ५ सय ६० ले वृद्धि भएको अस्पतालले जनाएको छ।
भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले पछिल्ला तीन आर्थिक वर्षको तथ्यांकले स्वास्थ्य बिमा कार्यक्रममार्फत अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीको संख्या निरन्तर बढिरहेको देखाएको बताउनुभयो। उहाँका अनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०८२/८३ मा स्वास्थ्य बिमामार्फत सेवा लिनेको संख्या २४ हजार ३ सय २३ अर्थात् करिब ४० प्रतिशतले बढेको हो।
तीन आर्थिक वर्षमा मात्रै स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत भेरी अस्पतालबाट उपचार सेवा लिनेको कुल संख्या २ लाख १३ हजार ३ सय २१ पुगेको छ।
अस्पताल विकास समितिका कार्यवाहक अध्यक्ष डा. डक्ट धितालले भेरी अस्पताल पश्चिम नेपालका नागरिकको प्रमुख सरकारी उपचार केन्द्रका रूपमा स्थापित भएको बताउनुभयो। अस्पतालप्रति यस क्षेत्रका हजारौँ बिरामीको विश्वास रहेको उहाँको भनाइ छ।
निःशुल्क तथा सहुलियतपूर्ण स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार हुँदै जाँदा अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या पनि बढिरहेको उहाँले बताउनुभयो। “स्वास्थ्य बिमाका कारण विपन्न तथा सामान्य आय भएका नागरिकले पनि सहज रूपमा उपचार पाउने अवस्था बनेको छ,” उहाँले भन्नुभयो, “यससँगै अस्पतालमा बिरामीको चाप बढिरहेको छ।”
स्वास्थ्य बिमामार्फत उपचार सेवा लिने बिरामीको संख्या बढ्दै गएपछि अस्पतालको जनशक्ति, स्वास्थ्य उपकरण तथा भौतिक पूर्वाधार विस्तारमा सरकारले प्राथमिकता दिनुपर्ने स्थानीय नागरिक अगुवाहरूको भनाइ छ।
अस्पताल विकास समितिका पूर्वसदस्य कृष्णप्रसाद श्रेष्ठले विपन्न तथा गरिब नागरिकको प्रमुख उपचार केन्द्रका रूपमा रहेको भेरी अस्पताललाई सरकारले थप सुविधासम्पन्न बनाउनुपर्ने बताउनुभयो। बिरामीको बढ्दो चापअनुसार सेवा विस्तार गर्न नसके उपचार सेवाको गुणस्तरमा समेत असर पर्न सक्ने भएकाले अस्पतालको क्षमता विस्तार आवश्यक रहेको उहाँको भनाइ छ।






