जेनजी आन्दोलनको एक वर्षपछि पनि बाँकेका १६९ बालबन्दी र कैदी सम्पर्कविहीन

बाँके, २३ भदौ ।
जेनजी आन्दोलनका क्रममा बाँकेका दुई बालसुधारगृह र एउटा कारागारबाट भागेका १६९ जना बालबन्दी तथा कैदी एक वर्ष बितिसक्दा पनि सम्पर्कमा आउन सकेका छैनन्।
गत वर्ष भदौ २३ गते राति र २४ गते आन्दोलनका क्रममा बाँकेका नौबस्ता बालसुधारगृह, जयन्दु बालसुधारगृह र नौबस्ता क्षेत्रीय कारागारबाट ३४० जना बालबन्दी तथा कैदी भागेका थिए। तीमध्ये एक वर्षको अवधिमा १७१ जना पक्राउ परिसकेका छन् भने १६९ जना अझै सम्पर्कविहीन रहेको सम्बन्धित निकायले जनाएको छ।
बैजनाथ गाउँपालिकास्थित नौबस्ता बालसुधारगृहबाट भागेका ७८ जनामध्ये ४७ जना पक्राउ परेका छन् भने ३१ जना अझै सम्पर्कमा आएका छैनन्। डुडुवा गाउँपालिकास्थित जयन्दु बालसुधारगृहबाट भागेका ११५ जनामध्ये ६८ जना पक्राउ परिसकेका छन् भने ४७ जना सम्पर्कविहीन छन्।
त्यसैगरी, नौबस्ता क्षेत्रीय कारागारबाट फरार भएका १४७ कैदीमध्ये ५६ जना पक्राउ परेका छन् भने ९१ जना अझै सम्पर्कविहीन छन्। कारागार प्रमुख दलबहादुर बस्नेतका अनुसार सम्पर्कविहीनमध्ये १८ जना विदेशी नागरिक छन्।
सुधारगृहबाटै भागे १९३ बालबन्दी
जेनजी आन्दोलनका बेला जयन्दु बालसुधारगृहमा २२८ जना बालबन्दी थिए। तीमध्ये ११५ जना सुधारगृहबाट भागेका थिए।
जयन्दु बालसुधारगृहका प्रमुख किशोर शर्माका अनुसार फरारमध्ये ६८ जना पक्राउ परिसकेका छन्। केहीलाई विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको र केही आफैँ सुधारगृहमा फर्किएको उहाँले बताउनुभयो। अझै ४७ जना बालबन्दी सम्पर्कविहीन रहेको उहाँको भनाइ छ।
बैजनाथ गाउँपालिकास्थित नौबस्ता बालसुधारगृहमा आन्दोलनका बेला १७६ जना बालबन्दी थिए। तीमध्ये ७८ जना भागेका थिए। सुधारगृहका प्रमुख श्यामबहादुर रानाका अनुसार फरारमध्ये ४७ जना पक्राउ परिसकेका छन् भने ३१ जनाको खोजी भइरहेको छ।
आन्दोलनका क्रममा प्रहरीसँग भएको झडपमा नौबस्ता बालसुधारगृहका पाँच जना बालबन्दीको मृत्यु भएको रानाले जानकारी दिनुभयो।
कारागारबाट भागेका ९१ जना अझै भेटिएनन्
नौबस्ता क्षेत्रीय कारागारमा आन्दोलनका बेला ५८५ जना कैदी थिए। तीमध्ये १४७ जना कारागारबाट भागेका थिए। एक वर्षको अवधिमा ५६ जना पक्राउ परे पनि ९१ जना अझै सम्पर्कविहीन रहेको कारागार प्रमुख बस्नेतले बताउनुभयो।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार फरार भएकामध्ये कतिपयलाई विभिन्न स्थानबाट पक्राउ गरिएको छ भने बाँकीको खोजी जारी छ। सम्पर्कविहीनमध्ये केही भारततर्फ गएको हुन सक्ने प्रहरीको अनुमान छ।
जेनजी आन्दोलनका क्रममा बाँकेसहित देशका विभिन्न स्थानमा रहेका कारागार तथा बालसुधारगृहबाट कैदीबन्दी भागेका थिए। आन्दोलनका क्रममा नेपालगन्जस्थित जिल्ला कारागारबाट भने कैदीबन्दी भाग्न सकेका थिएनन्।
जिल्ला कारागारका कैदीबन्दीले भाग्ने प्रयास गरे पनि नेपाली सेनाले कारागारलाई घेराबन्दी गरेको थियो। त्यस क्रममा सेनाले गोली चलाउँदा कैलाली घर भएका एक कैदीको खुट्टामा गोली लागेको थियो।
एक वर्ष बितिसक्दा पनि ठूलो संख्यामा बालबन्दी तथा कैदी सम्पर्कविहीन रहँदा उनीहरूको खोजी, पुनःस्थापना तथा घटनाको दीर्घकालीन व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।

जेनजी आन्दोलनको एक वर्षपछि पनि बाँकेका १६९ बालबन्दी र कैदी सम्पर्कविहीन

स्वास्थ्य बिमाबाट भेरी अस्पतालमा उपचार लिने बिरामी

जेनजी आन्दोलनको एक वर्षपछि पनि बाँकेका १६९ बालबन्दी र कैदी सम्पर्कविहीन

जेनजी आन्दोलनको एक वर्षपछि पनि बाँकेका १६९

Leave a comment

Your email address will not be published. Required fields are marked *