नेपाल अर्गानिक घरद्वारा प्रथम खुला फुटसल कप आयोजना हुँदै

हस्त चाैलागाँई
काठमाडौं,२९ असार ।
नेपाल अर्गानिक घरले पहिलो पटक प्रदेश ६ र ७ स्तरको खुला फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता भक्तपुरस्थित निकोसेरा फुटसल कोर्टमा २०८३ साउन ११ र १२ गते सञ्चालन हुने आयोजकले जनाएको छ।
नेपाल अर्गानिक घरका अध्यक्ष राज बहादुर शाहीका अनुसार प्रतियोगितामा प्रदेश ६ र ७ का उत्कृष्ट टोलीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। खेलकुदमार्फत युवामा स्वास्थ्य, अनुशासन, एकता र आपसी भाइचाराको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए ।
प्रतियोगिताको प्रथम विजेताले रु. ५५ हजार ५ सय ५५ नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय विजेताले रु. २५ हजार ५ सय ५५ नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक तथा सर्वाधिक गोलकर्ता (High Scorer) लाई पनि विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीहरूलाई समयमै दर्ता गर्न आयोजकले आग्रह गरेको छ। प्रतियोगिताले कर्णाली र सुदूरपश्चिमका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास आयोजकको छ।






