घुम्ती प्रयोगशाला उपयोगमा ल्याऊ !

कृषि विकास निर्देशानालय, सुर्खेतको कार्यालय परिसरमा थन्किएको घुम्ती प्रयोगशालाको गाडी देख्दा कर्णालीले कृषि गतिविधिलाई कत्तिको प्रभावकारी प्राथमिकतामा राखेको छ ?, भन्ने प्रश्न उब्जिएको छ । कृषकका घरदैलोमै पुगेर माटो परिक्षण जस्ता सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याइएको घुम्ती प्रयोगशाला अहिले उपभोग विहिन भएको छ । कर्णालीमा माटो परिक्षण गरेरै खेती शुरु गर्ने किसानहरुको कमी नै छ ।

माटो परिक्षण, समुन्द्री सतहबाटको उचाईं, हावापानी लगायतका विषयमा किसानहरुले प्राविधिक ज्ञान नै पाएका छैनन् । पुरानो रैथाने ज्ञानका आधारमा नै यहाँ कृषि बालीको छनौट तथा त्यसका गतिविधि अधिकांश स्थानमा देखिन्छन् । जग्गामा के लगाउँदा धेरै उत्पादन लिन सकिन्छ तथा समयानुकुल रुपमा बाली परिवर्तन कसरी गर्ने, के गर्ने यी लगायतका विषयमा किसानमा पूर्ण ज्ञान छैन ।
यस परिस्थितीमा घुम्ती प्रयोगशाला पूर्ण सहयोगी सावित हुनेथियो । तर किसानको घरदैलोमा पुगेर सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याइएको माटो परीक्षण घुम्ती प्रयोगशाला अहिले आफै प्रयोगविहिन भईदियो । कर्णालीको भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय अन्तर्गत एकिकृत कृषि प्रयोगशाला मातहत रहेको घुम्ती प्रयोगशाला (परिक्षण किट) सहितको गाडी सवारी चालक जनशक्ति नहुँदा पाँच वर्षदेखि प्रयोगविहिन बनेको छ । माटोको उर्वराशक्तिमा आईरहेको ह्रासलाई सुधार एवम् उर्वराशक्ति व्यवस्थापनका साथै माटो र मलखाद सम्बन्धि समस्याहरू पहिचान र समाधान गर्न घुम्ती प्रयोगशालाको उद्देश्य थियो । आवश्यक प्राविधिक सेवाहरू सम्बन्धित जनशक्ति एवम् कृषकहरूसम्म पु¥याई कर्णालीका घर आँगनम माटो परीक्षण सेवा दिने लक्ष्यका साथ सञ्चालनमा ल्याइएको घुम्ती प्रयोगशाला सवारी चालक नहुँदा प्रयोगविहिन बनेको हो । बीउ बालीको निरीक्षणदेखि बीउ भण्डारणसम्मका विभिन्न प्राविधिक पक्षलाई ध्यान दिने उद्देश्यले प्रयोगशालाको स्थापना भएको हो । प्रदेश अन्तरगतका कार्यालय र कर्मचारीहरुको संगठन तथा व्यवस्थापन गाडी सञ्चालनका लागि हेभी सवारी चालक हुनुपर्ने व्यवस्था छ । सोही अनुसार मन्त्रालयसँग हेभी सवारी चालकको माग गरेको तर, दरवन्दी स्वीकृत नभएको एकिकृत कृषि प्रयोगशालाले बताएको छ ।
एकातिर उक्त गाडी प्रयोगको अवस्थामा छैन । अर्को तर्फ यो गाडी कर्णालीको भूगोल सुँहाउदो पनि देखिदैन । कर्णालीको भुगोल अनुसार उपयुक्त नभएपनि अहिले प्रयोगशालाको काम सोहि गाडीमै पनि भईरहेको छ । तर कर्णालीका किसानको पहुँचमा नपुगेको मात्र हो । प्रयोगशाला खोज्दै कर्णालीका सबै किसानमा माटो परिक्षण गर्न आउँन सक्ने चेतनाको विस्तार पनि भएको छैन । यस अवस्थामा घुम्ती सेवा निकै प्रभावकारी हुन्थ्यो । तर स्रोत पाएको पाँच वर्ष हुँदासम्म पनि यसको प्रयोग गर्न नसक्दा सरकारी तहको आलोचना हुनु स्वभाविकै हो । सम्बन्धित कर्मचारी तथा मन्त्रालयले यस विषयमा चाँडै सोच्नुपर्छ । स्रोतको प्रयोग पनि गर्न नसक्ने र उद्देश्य अनुसारको सेवा प्रवाह बढाउन नसक्दा कर्णालीमा कृषि गतिविधि बढ्ला भन्नेमा शंका उब्जन्छ । यी लगायतका गतिविधिले कर्णालीमा उत्पादन बढाउने भन्ने सरकारको लक्ष्यलाई कमजोर बनाउन तर्फ धकेल्छ । सम्वन्धित निकाय तथा पदाधिकारीले यस विषयमा समयमा नै सोच्नुपर्ने बेला भएको छ ।






