६७ प्रतिशत पुग्यो खर्च, कर्णालीको १० अर्व बढी ‘बजेट फ्रिज’


सुर्खेत। कर्णालीमा ६७ दशमलव ५६ प्रतिशत बजेट खर्च भएको छ । चालु आर्थिक वर्ष २०७९/०८० मा कर्णाली प्रदेश सरकारले कुल बजेटबाट २२ अर्व २७ करोड ६६ लाख २८ हजार एक सय ४७ रुपैयाँ २३ पैसा बजेट खर्च गरेको हो ।

२०७९/०८० का लागि कर्णाली प्रदेश सरकारले कुल ३२ अर्व ९७ करोड १९ लाख ४२ हजार नौं सय ५५ रुपैयाँ बजेट विनियोजन गरेको थियो । बाँकी १० अर्व ६९ करोड ५३ लाख १४ हजार आठ सय सात रुपैयाँ ७७ पैसा बजेट असार २४ गतेसम्म पनि खर्च भएन । कर्णालीमा १० अर्व बढी विनियोजित रकम खर्च नभएर ‘बजेट फ्रिज’ हुने देखिन्छ ।

असार २४ गतेसम्म बजेट खर्चमा चालु तर्फ ७२ दशमलव ८४ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय, सुर्खेतका लेखा अधिकृत मिलनकुमार शर्माले जानकारी दिए । त्यसैगरी पुँजिगत तर्फ ६४ दशमलव शून्य आठ प्रतिशत बजेट खर्च भएको शर्माले बताए ।

शर्माका अनुसार हाल खर्च नभएको बजेटबाट समेत असार २६ गतेसम्ममा केहि रकम भने भुक्तानी हुनसक्छ । ‘भुक्तानी खाताका नाम तथा नम्वरमा समस्यामा आएका खर्चहरु भने असार २६ गतेसम्म भुक्तानी हुन सक्छ । तर यस्ता भुक्तानी खर्चहरु न्युन संख्यामा हुन्छन्’, उनले भने, ‘केहि लाख रुपैयाँ रकम मात्र अन्तिममा भुक्तानी जान्छ । तर समग्रमा अहिलेको खर्चलाई अन्तिम खर्चको रुपमा हेर्न सकिन्छ ।’

चालु तर्फ विनियोजित १३ अर्व १० करोड ८३ लाख १९ हजार सात सय ५५ रुपैयाँको बजेटमा नौं अर्व ५४ करोड ७६ लाख १९ हजार ६५ रुपैयाँ ५० पैसा बजेट खर्च भएको छ । पूँजिगत तर्फ चालु आर्थिक वर्ष २०७९/०८० मा १९ अर्व ८६ करोड ३६ लाख २३ हजार दुई सय रुपैयाँ बजेट विनियोजन भएको थियो । असार २४ गतेसम्ममा पूँजिगत तर्फ १२ अर्व ७२ करोड ९० लाख नौं हजार ८१ रुपैयाँ ७३ पैसा बजेट खर्च भएको लेखा अधिकृत शर्माले जानकारी दिए ।

पाँच प्रतिशतले बढ्यो खर्च

अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को भन्दा हाल २०७९÷०८० मा बजेट खर्च प्रतिशत बढेको छ । २०७८÷०७९ को असार २६ गतेसम्ममा कर्णाली प्रदेश सरकारले ६२ दशमलव ३७ प्रतिशत बजेट खर्च गरेको थियो । कुल बजेटमा पूँजिगत तर्फ ६० दशमलव शुन्य तीन प्रतिशत र चालु तर्फ ६६ दशमलव २३ प्रतिशत बजेट खर्च भएको थियो ।

हाल २०७९/०८० को असार २४ गतेसम्ममा मात्र ६७ दशमलव ५६ प्रतिशत बजेट खर्च हुँदा यो पाँच दशमलव १९ प्रतिशतले बढी हो । २०७९/०८० मा चालु तर्फ ७२ दशमलव ८४ र पूँजिगत तर्फ ६४ दशमलव शुन्य आठ प्रतिशत बजेट खर्च भएको छ ।

जलस्रोतले ८३ प्रतिशत बजेट खर्च गर्दा मुख्यमन्त्री कार्यालयको ४५ प्रतिशत

कर्णालीमा मन्त्रालयगत बजेट खर्च विवरण हेर्दा यहाँ जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले सबैभन्दा धेरै बजेट खर्च गरेको छ । ऊर्जा विकास मन्त्रालयमा कुल बजेटको ८३ दशमलव २७ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयले तीन अर्व ३७ करोड ६ लाख ७४ हजार पाँच सय ७० रुपैयाँ बजेट खर्च गरेको हो ।

यता मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भने ४५ दशमलव ७२ प्रतिशत मात्र बजेट खर्च गरेको छ । यस कार्यालयले ३० करोड ८० लाख उक हजार चार सय २८ रुपैयाँ शुन्य एक पैसा बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

यता सामाजिक विकास मन्त्रालयले ७१ दशमलव ४५ प्रतिशत अर्थात चार अर्व ३८ करोड २९ लाख ९७ हजार दुई सय ९१ रुपैयाँ शुन्य ६ पैसा बजेट खर्च गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ७० दशमलव २७ प्रतिशत, एक अर्व ६९ करोड ६४ लाख ६९ हजार एक सय ६ रुपैयाँ ६२ पैसा बजेट खर्च गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले ६५ दशमलव ८३ प्रतिशत अर्थात १४ करोड ३५ लाख ५९ हजार एक सय ४९ रुपैयाँ बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयमा लेखा अधिकृत शर्माले जानकारी दिए ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ६५ दशमलव १५ प्रतिशत अर्थात एक अर्व ४२ करोड ५३ लाख ६४ हजार एक सय ८८ रुपैयाँ ८७ प्रतिशत बजेट खर्च गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले ६० दशमलव १० प्रतिशत बजेट खर्च गरेको छ । कानून मन्त्रालयका लागि विनियोजित कुल बजेट मध्ये १८ करोड १४ लाख ३१ हजार सात सय ६२ रुपैयाँ ४० पैसा बजेट खर्च गरेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले ५४ दशमलव ९० प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयले ६ अर्व १० करोड ९२ लाख १० हजार दुई सय ८२ रुपैयाँ शुन्य एक पैसा बजेट खर्च गरेको हो । त्यसैगरी प्रदेश व्यवस्थापिकाले ५९ दशमलव ३६ प्रतिशत, प्रदेश लोक सेवा आयोगले ७२ दशमलव ७६ प्रतिशत, मुख्य न्यायधिवक्ताको कार्यालयले ८४ दशमलव ९० प्रतिशत बजेट खर्च गरेका छन् ।

कर्णाली प्रदेश योजना आयोगले ५४ दशमलव ७३ प्रतिशत, अर्थ–वित्तीय व्यवस्था तर्फ २४ दशमलव १४ र स्थानीय तह तर्फ ८८ दशमलव ७५ प्रतिशत बजेट खर्च गरिएको प्रदेश लेखा नियन्त्रक कार्यालयको भनाई छ ।

चार दिनमा मात्र पाँच अर्व बढी भुक्तानी

असार २१ गतेदेखि २४ गतेसम्ममा मात्र कर्णाली प्रदेश सरकारले पाँच अर्व बढी भुक्तानी दिएको छ । यि चार दिनमा मात्र प्रदेश सरकारले पाँच अर्व चार करोड ३८ लाख ८२ हजार ९२ रुपैयाँ ५० पैसा भुक्तानी दिएको प्रदेश लेखा नियन्त्रकको कार्यालय, सुर्खेतको तथ्यांक छ ।

चार दिनको समयमा चालु तर्फ एक अर्व ४६ करोड ३१ लाख ४८ हजार आठ सय ९५ रुपैयाँ ९६ पैसा र पूँजिगत तर्फ तीन अर्व ५८ करोड सात लाख ३३ हजार एक सय ९६ रुपैयाँ ५४ पैसा भुक्तानी भएको हो ।

यस अघि असार २० गतेसम्ममा कर्णाली प्रदेश सरकारले कुल १७ अर्व २३ करोड २७ लाख ४६ हजार ५४ रुपैयाँ ७३ पैसा बजेट खर्च गरेको थियो ।

६७ प्रतिशत पुग्यो खर्च, कर्णालीको १० अर्व बढी ‘बजेट फ्रिज’

YUGAAWHAN NATIONAL DAILY (2080-03-26)

६७ प्रतिशत पुग्यो खर्च, कर्णालीको १० अर्व बढी ‘बजेट फ्रिज’

लम्पी स्किन संक्रमितको उपचारमा ध्यान देऊ !

Leave a comment

Your email address will not be published. Required fields are marked *