लम्पी स्किन संक्रमितको उपचारमा ध्यान देऊ !

लम्पी स्किन रोग झिंगा, लामखुट्टे, किर्नाजस्ता परजीवी, कृत्रिम गर्भाधान, संक्रमित जन्तुको ओसारपसार, संक्रमित औजारको प्रयोगबाट स्वस्थ्य गाई, भैंसीमा सर्छ । गाईभैँसीलाई हुने यो एकदमै संक्रामक रोग हो । संक्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र दाना एवं पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाईभैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्छ ।

संक्रमित गाईभैँसीको दूध उत्पादनमा तीव्र गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र कहिलेकाहीँ मृत्यु पनि हुन सक्छ ।
कर्णालीमा २०७९ चैत्र २५ गते यता हालसम्मका दुई लाख सात हजार दुई सय ७३ वटा पशुवस्तुमा लम्पी स्किन संक्रमण पुष्टी भईसकेको छ । दैलेखमा मात्र ७४ हजार तीन सय १५ वटा पशुवस्तुमा संक्रमण पुष्टी भएको देखिन्छ । कर्णालीका सबै जिल्लाहरुमा कुल ८१ हजार आठ सय १९ वटा संक्रमित पशुवस्तु अहिलेपनि उपचारको पहुँचमा भने छैनन् । ज्वरो नियन्त्रण गर्न सकिएन भने त्यस्तो अवस्थामा संक्रमित गाईबस्तु मर्ने गर्छन् । यो रोग लागेका गाईभैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रा र गोला गाँठा हुन्छन् ।
संक्रमण भएमा ज्वरो आउने, तौल घट्ने, दूध कम आउने र शरीरमा गिर्खाको लक्षण देखिएका पशुको मृत्युदर एक प्रतिशतसम्म हुन्छ । गत जेठदेखि नै रोगले जटिल रूप लिए पनि पशु स्वास्थ्य प्राविधिकले समयमै प्रभावकारी परामर्श दिएको देखिएन ? प्रदेश तथा स्थानीय तहहरुको समेत समन्वयमा पशु प्राविधिक मार्फत स्थानीय स्तरमै पुगेर रोगबारे किसानलाई परामर्श गरेको बताएपनि त्यति प्रभावकारी समेत भएको देखिएको छैन । यस समयमा समुदायमा पुगेर परीक्षण, निदान र रोकथाममा खटेरै लाग्नुपर्छ । किसानको पशुधन बिरामी परेर खेती नै गर्न नपाएपछि उत्पादन कसरी हुन्छ ? लम्पी स्किनको रोकथाम र नियन्त्रण गर्न समयमै खोप लगाउन ढिलो भइसकेको छ । प्रदेशसँग भएको खोप समेत अहिले प्रयोग अवस्थामा छैन । संक्रमित पशुहरुको संख्या धेरै भएपछि खोप लगाउने अवस्था नभएको हो ।
असार लागेसँगै धान रोप्ने चटारो हुने पहाडी क्षेत्रमा बस्तुभाउमा लाग्ने लम्पी स्किन रोगले प्रभावित पारेको खबर अहिले दिनहुँजसो आउन थालेको छ ।
कर्णालीका जिल्लाहरुका अधिकांश खेतबारीमा गोरुले जोतेर खेती गर्ने प्रचलन कायम छ । तर गोरुनै लम्पी स्किन रोगका कारणले मर्न थालेपछि किसानलाई धेरै मर्का परेको छ । खेती गर्न सबैतिर यान्त्रिक साधनको प्रयोग गर्न सकिएको छैन । एक मात्र साधनको रूपमा रहेको गोरु बिरामी हुने र मर्ने भएपछि किसान अन्योलमा हुनु स्वाभाविक भएको छ । हलका दुईमध्ये एउटा मात्र बिरामी वा मृत्यु भएमा किसान दोहोरो घाटा बेहोर्न बाध्य हुनुपर्छ । एकातिर पशुधनको नोक्सानी भएको छ भने अर्कातर्फ खेतीपातीमा समस्या भएको छ । किसानका रोग संक्रमित पशुवस्तुको समयमै उपचारका लागि स्थानीय तहलगायत तीनै तहका सरकारले ध्यान दिनुपर्छ ।






