दरबन्दी र बजेट अभावमा जिल्ला अस्पताल कालिकोटको सेवा प्रभावित

कालीकोट, १० भदौं ।
जिल्ला अस्पताल कालीकोटले पहिलोपटक दरबन्दी अनुसार कार्यालय प्रमुख पाए पनि अस्पतालमा आवश्यक चिकित्सक, विशेषज्ञ तथा स्वास्थ्य जनशक्तिको अभावका कारण प्रभावकारी सेवा प्रवाहमा चुनौती कायमै रहेको छ । अस्पतालमा मेडिकल अधिकृतको दरबन्दी चार जना रहेकोमा एक जना मात्र कार्यारत छन । । बाँकी सीमित मेडिकल अधिकृतबाट मात्रै सेवा सञ्चालन गर्नुपर्ने भएकाले बिरामीको चाप व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ ।
त्यस्तै, अस्पतालमा बालरोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ र जनरल फिजिसियनको दरबन्दीसमेत खाली रहेको छ । दुर्गम तथा भौगोलिक रूपमा विकट कालीकोटमा यस्ता विशेषज्ञ चिकित्सकको अभावले सामान्यदेखि जटिल प्रकृतिका बिरामीलाई समेत जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था आउने गरेको छ ।अस्पतालका प्रमुख डाक्टर रत्नबिर सुनारले अस्पतालका लागि हाडजोर्नी विशेषज्ञ र एम.डि.जिपी कन्सल्टेन्ट अति आवश्यक भए पनि हाल यी विषयका चिकित्सकको दरबन्दी नभएको बताए ।
उहाँले हाडजोर्नी तथा अन्य रोगका बिरामीको संख्या उल्लेख्य रहेकाले तत्काल हाडजोर्नी विशेषज्ञ र एम.डि जिपी कन्सल्टेन्टको दरबन्दी कायम गरी कम्तीमा करार सेवामार्फत भए पनि चिकित्सक उपलब्ध गराउनुपर्ने आवश्यकता देखिएको बताए । कार्यालयमा जनस्वास्थ्य अधिकृत, कोल्ड चेन सहायक लगाएतका धेरै दरबन्दी अझैपनि खाली रहेको जानकारी दिए ।
चिकित्सक संगै वजेटको समेत अभाव
प्रदेश सरकारबाट हरेक वर्ष अस्पतालका लागि छुट्याइने औषधि तथा प्रयोगशाला (ल्याब) बजेटसमेत पर्याप्त नभएको अस्पतालले जनाएको छ । बजेट अभावका कारण बिरामीलाई आवश्यक औषधि तथा प्रयोगशाला सेवा निःशुल्क उपलब्ध गराउन कठिनाइ हुने गरेको छ । अस्पतालको अर्को प्रमुख समस्या स्वास्थ्य बीमा कार्यक्रमको भुक्तानी पनि रहेको छ । अस्पतालले बीमामार्फत सेवा दिएबापत दाबी गरेको रकम समयमै सोधभर्ना नहुँदा अस्पतालको आर्थिक व्यवस्थापनमा समस्या पर्ने गरेको प्रमुख सुनारले बताए ।
स्वास्थ्य बीमा कार्यक्रमलाई वैज्ञानिक र व्यवस्थित ढंगबाट सञ्चालन गरी अस्पतालले दाबी गरेको रकम मासिक रूपमा नियमित सोधभर्ना हुने व्यवस्था गर्नुपर्ने माग उनको छ । हामीले यही बिषयमा केही सुधार होला भनेर केही महिना सेवा पनि रोकेका थियौँ तर भएन नागरिकले दुख पाउने भएपछि पुन सञ्चालनमा ल्याएका छौ प्रमुख सुनारले सुनाए ।
कालीकोट जस्तो दुर्गम जिल्लाका नागरिकलाई सामान्य उपचारका लागि समेत जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्न अस्पतालमा आवश्यक चिकित्सक तथा विशेषज्ञको दरबन्दी कायम गरी तत्काल पदपूर्ति गर्नुपर्ने देखिन्छ । स्थायी पदपूर्ति सम्भव नभए कम्तीमा करार सेवा मार्फत भए पनि बालरोग, स्त्रीरोग, जनरल फिजिसियन, हाडजोर्नी र एम.डि.जिपी लगायतका चिकित्सक तत्काल उपलब्ध गराउनुपर्ने स्थानीयको माग छ ।
अस्पताल बिकास समितिका पुर्व अध्यक्ष दयाराम सिम्खडाले सिमित स्रोतसाधनले पनि आफ्नो पालामा देशकै उत्कृष्ट पाँचौ नम्वरमा आएको अस्पतालमा रहेका चिकित्सक र स्वास्थ्यक्रर्मीको काम गर्ने उत्साह वढाउनु नै मुख्य उपलब्धी हुने बताए । धेरै अभावमा पनि चलिरहेको छ यसको समस्या समाधान तिनै तहका सरकारले मिलेर गर्नु पर्छ सिम्खाडाले भने ।
अस्पतालमा आवश्यक जनशक्ति, औषधि, ल्याब बजेट र स्वास्थ्य बीमाको नियमित भुक्तानी सुनिश्चित गर्न सके मात्रै जिल्ला अस्पताल कालीकोटले जिल्लावासीलाई गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा दिन सक्ने अवस्था बन्नेछ । अस्पतालमा अहिले नौ तहका कार्यालय प्रमुख भएपनि अन्य दरबन्दी नहुदा सेवामा समस्या उस्तै छ । अस्पताल ५० शैयामा सञ्चालनमा छन ।






