सडक स्तरोन्नतिमा छैन चासो पहिरो पन्छाउँदै, गाडी गुडाउँदै

सुर्खेत । देशमा शान्ति प्रक्रियासँगै साविक कर्णालीमा सडक पुग्यो । सुर्खेतदेखि जुम्ला जोड्ने कर्णाली राजमार्ग संचालनमा आयो । सडकसँगै मोटर पुगेपछि नागरिकले विकासले कर्णालीको मुहार .नै बदलिने अपेक्षा गरे । तर कर्णालीमा मोटर पुग्दा पाएको खुशी पछिल्ला दिनमा पनि हैरानीमा परिणत भएको छ ।
कारण कर्णाली राजमार्गमा गाडी दुर्घटना हुन थाले । गन्तव्यमा नपुग्दै सयौं यात्रुको बाटोमै मृत्यु हुन थाल्यो । हजारौं घाइते र अंगभग भए । ट्याक खुलेको वर्षदिन नबित्दै कर्णाली राजमार्गले मृत्यु मार्गको उपनाम पायो । कर्णालीको आर्थिक समृद्धिसँग जोडिएको यो राजमार्ग अन्ततः कर्णालीवासीका लागि मृत्युमार्ग जस्तै बन्यो । साविक कर्णालीमा गाडी पुगेको अहिले डेढ दशक पुगि सकेको छ । दुर्भाग्य नेपाली सेनाले ट्याक खोलेको कर्णाली राजमार्गको सोचे अनुसार स्तरोन्नति भने हुन सकेको छैन ।
कर्णाली राजमार्ग राजनीतिक दल र तिनका नेताहरूका गतिलो चुनावी नारा पनि बन्दै आएको छ । राजमार्गको स्तरोन्नतिलाई नेताहरूले चुनावमा प्रमुख एजेन्डा बनाउँदै आएका छन् । तर, चुनाव सकिएपछि राजमार्गको स्तरोन्नति र बजेट प्राथमिकतामा कहिल्यै पर्दैन । बेलाबेलामा स्तरोन्नतीका टुक्रे योजनाहरु आइरहन्छ । तर दीर्घकालीन समस्या समाधानको लागि सडकको स्तरोन्नति भएको छैन । डेढ दशकसम्म पनि राजमार्गको अवस्था दयनीय छ । बर्खामा त झन् हरेक बर्ष निकै सास्ती भोग्नुपर्छ । असार लागेदेखि राजमार्ग बन्द हुने र खुल्न कुनै टुङ्गो हुँदैन । पहिरो पन्छाउन हरेक बर्ष स्काभेटर र लोडर जस्ता मेसिनहरु तयारी अवस्थामा राख्नु परेको छ ।
सर्वसाधारणले बर्खामा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । डेढ दशकसम्म पनि राजमार्गका तीन वटा खोलाहरुमा पुल बनेका छैनन् । अघिपछि सुर्खेतदेखि जुम्लासम्म एकदिन लाग्छ । तर वर्षायाममा सुर्खेतदेखि जुम्ला पुग्न हप्तादिन लाग्ने गरेको छ । राजमार्गको स्तरोन्नति नहुँदा यात्रा भगवान भरोसामा यात्रा गर्नुपर्ने बाध्यता छ । वर्षामा दैनिक खस्ने पहिरो र ढुंगाका कारण जहाँसुकै दुर्घटनामापर्ने जोखिम हुन्छ । विकट भूगोल र बजेट अभाव यो राजमार्गका मुख्य समस्या रहेको सरोकारवालाहरूको बताउँछन् ।
‘राजमार्गको भूबनोट नै पहिरो आउने खालको छ’ सडक डिभिजन कार्यालयका सूचनाअधिकारी इन्जिनियर सजना पोखरेल भन्छिन्, ‘कमजोर चट्टान र भिरालो जमिनकै कारण बर्खामा सधैं पहिरो खस्छ ।’ भिरालो र कमजोर भूभागमा धेरै पहिरो खस्ने गरेको उनको तर्क छ । अर्बाै बजेट खर्च गरेर स्तरोन्नति भएमात्रै बर्षायाममा कर्णाली राजमार्गमा हुने अवरोध हट्ने पोखरेलको भनाइ छ ।
पहिरो पन्छाउन डोजर तयारी अवस्थामा
कर्णाली राजमार्गमा बर्षेनी पहिरो खस्छ । पहिरो पन्छाउन सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लाले जनशक्ति र पूर्वाधार खटाउनुपर्छ । हरेक बर्षजस्तै यो बर्ष पनि पहिरो पन्छाउन राजमार्गको दुई वटा लोडर राजमार्गमा खटाइएका छन् ।
एउटा राकम कर्णाली र अर्काे तल्लो डुङ्गेश्वरमा राखिन्छन् । तर हप्तादिन यता ति मेसिनहरुलाई भ्याइनभ्याई छ । ‘पहिरो पन्छाउन मेसिन र प्राविधिकहरु २४ घण्टा नै डिउटीमा छन्’ सडक डिभिजन कार्यालय कार्यालय सुर्खेतका सूचना अधिकारी पोखरलले भनिन्, ‘हप्ता दिनदेखि पहिरो निरन्तर आइरहेको छ, २४ सै घण्टा खटिए पनि पन्छाउन सकिएको छैन ।’
स्थानीय सरकारको मनपरीले समस्या
कर्णाली राजमार्गमा बर्षेनी पहिरोका कारण अवरुद्ध हुनुमा स्थानीय सरकारसमेत जिम्मेवार भएको सडक डिभिजन कार्यालय सुर्खेतको दाबी छ । ‘स्थानीय सरकारले मनपरी रुपमा राजमार्गमा सहायक सडक जोड्दा पहिरोको जोखिम बढेको छ,’ डिभिजन सडक कार्यालय सुर्खेतका सूचना अधिकारी पोखरेल भन्छिन्, ‘सडक जोड्दा अनुमति त टाढाको कुरा समन्वय गर्नाेस्भन्दा पनि वास्ता गर्दैनन्, पहिरो आउनुको मुख्य दोषी स्थानीय सरकार पनि हुन् ।’
दैलेख र कालिकोटका स्थानीय सरकारहरूले खनेको सहायक सडककै कारण राजमार्गका दर्जनभन्दा बढी ठाउँमै पहिरो खस्ने गरेको उनको तर्क छ । राजमार्गको कालेखोला, सेरीघाट, सुनारखोला, मान्म ताडीको डाँडा, सिम्लेगाड, पिली, खल्लागाड, राँचुलीलगायत दर्जनभन्दा बढी ठाउँमा पहिरोले सास्ती दिँदै आएको छ ।
दुई दिनदेखि राजमार्ग अवरुद्ध
यसैबीच कर्णाली राजमार्ग दुई दिनदेखि अवरुद्ध भएको छ । कालिकोटका खाँडाचक्र नगरपालिका–२ सेरीघाटमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको हो । पहिरोका कारण यात्रुहरु अलपत्र परेका छन् । मालवाहक सामान बोकेका ट्रकहरु बीच बाटोमै रोकिएको छन् । अवरुद्ध राजमार्ग खुलाउन जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मीको टोली परिचालन गरिएको कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । त्यस्तै अविरल वर्षाकै कारण कर्णाली करिडोर पनि अबरुद्ध भएको छ । सान्नी त्रिवेणी गाउँपालिका–१ को रेगिलमा पहिरो जाँदा करिडोर खण्ड अवरुद्ध भएको हो ।
पहिरो पन्छाउन बर्सेनी ५० लाख खर्च
कर्णाली राजमार्गमा खस्ने पहिरो पन्छाउन र सडक खोल्न बर्सेनी ५० लाख बजेट खर्च हुने गरेको छ । राजमार्गमा बर्सेनी ठूलो पहिरो खस्ने र त्यसलाई पन्छाउन यो बजेट खर्च हुने गरेको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ । कर्णाली राजमार्ग संचालनमा आएको १५ बर्ष बित्तिसक्यो । तर यो सडक संचालन हुँदा जुन अवस्थामा थियो ।
अहिले पनि जस्ताको त्यस्तै छ । एक लेनको हतार हतारमा तत्कालिन राजा ज्ञानेन्द्र शाहको हुकुम पुरा गर्न कर्णाली राजमार्गको दैलेखको जाक्सीभन्दा तल सडक विभाग र माथि नेपाली सेनाद्धारा खनिएको सडक दुई लेनको बनाउने भनेर चर्चा सुनिन्छ । तर सडक बन्दैन । डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख लिलाबहादुर भण्डारीले आफुहरुको मागको कुनै सुनुवाइ नहुँदा राजमार्गको स्तरोन्नतिका लागि बजेट अभाव भएको बताए । गतबर्ष मात्र कर्णाली राजमार्गको खिड्कीज्युलादेखी जुम्लासम्मको सडकको दुईलाइनको बनाउन अध्ययन भएको छ । तर बजेट उपलब्ध नहुँदा समस्या भएको उनले बताए ।






