ओलीलाई कारबाही गर्नुपर्छः पार्वती विशुंखे

काठमाडौं । नेकपा एमालेकी नेतृ प्रतिनिधिसभा सदस्य पार्वती विशुंखेले एमाले अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीलाई नै कारबाही गर्नुपर्ने बताएकी छन् ।
अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विशुंखेसहित २२ सांसदलाई स्पष्टीकरण पत्र पठाएका थिए ।
उक्त पत्र बुझेकी विशुंखेले ओलीलाई नै कारबाही गर्नुपर्ने बताएकी हुन् । ‘स्पष्टीकरण सोध्नुको ठोस कारण नखुलेको, अध्यक्ष ओली नै कारबाही गर्न योग्य रहेका उनले भनिन् ।
‘पार्टी दलको बैठक नराखी संसद विघटनको निर्णय गर्ने, संविधानले नदिएको अधिकार प्रयोग गरी मुलुकमा संवैधानिक संकट निम्त्याउने काम केपी ओलीबाट भएको छ,’ उनले भनिन्, ‘कारबाही त केपी ओलीलाई पो गर्नुपर्छ अब ।’
अध्यक्ष ओलीले पार्टी विधान समेत पालना नगरी अवैधानिक गतिविधि गरेको उनको भनाइ छ । संविधानको धारा ७६ (५) ले दिएको अधिकार प्रयोग गरी स्वविवेकीय अधिकार प्रयोग गरी आफूले संविधान र संसद बचाएको विशुंखेले बताइन् । स्पष्टीकरण पत्रबारे पनि नेताहरु बीच छलफल भइरहेको उनले बताइन् ।






