जलवायु परिवर्तनबाट विश्वभर एक अर्ब बालबालिका जोखिममा : यूनिसेफ

एजेन्सी । विश्वमा हरेक दुईमध्ये एक बालबालिका जलवायु परिवर्तनको गम्भीर नकारात्मक प्रभावको शिकार हुने अवस्थामा रहेका यूनिसेफले शुक्रबार जानकारी दिएको छ।

मध्य अफ्रिकी गणतन्त्र, चाड, नाइजेरिया, गिनी र गिनी–बिसामा रहेका बालबालिकाहरू जलवायु परिवर्तनको सबैभन्दा बढी खतरामा छन्‌। जलवायु परिवर्तनले बाल अधिकारलाई पनि संकटमा पारेको छ।

जलवायु परिवर्तनका कारण बालबालिकामा जोखिम सूचकांकको परिचय’ शीर्षकमा गरिएको अध्ययनमा यूनिसेफले आफ्नो युवा जनसंख्याको जलवायु र वातावरणीय प्रभावको आधारमा देशहरूलाई स्थान दिंदै बालबालिकाको दृष्टिकोणबाट जलवायु जोखिमको पहिलो व्यापक विश्लेषण गरेको जनाएको छ।

विश्वका दुई अर्ब २० करोड बालबालिकामध्ये झन्डै एक अरब केटाकेटी ’अत्यन्तै जोखिमपूर्ण’ वर्गीकृत ३३ देशहरूमा बसोबास गरिरहेका यूनिसेफको अध्ययन प्रतिवेदनमा उल्लेख छ। सो अध्ययनमा विचार गरिएका खतराहरूमा बाढी, चक्रवात, ताप लहर, पानीको अभाव, वायु प्रदूषण, सीसा प्रदूषण र संक्रामक रोगहरू समावेश छन्।

‘जलवायु र वातावरणीय प्रभावले स्वच्छ हावा, भोजन र सुरक्षित पानीको पहुँचदेखि लिएर शिक्षा, आवास, शोषणबाट स्वतन्त्रता र बाँच्न पाउने तिनीहरूको अधिकारलाई समेत बालबालिकाको अधिकारको पूर्ण क्षेत्रलाई कमजोर बनाइरहेको छ,’ प्रतिवेदनमा लेखिएको छ।​

यूनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भने, ‘वास्तवमा कुनै पनि बच्चाको जीवनमा असर नपर्ने सम्भावना छैन। संयुक्त राष्ट्र संघीय यस निकायले सरकार तथा अन्य सम्बन्धित निकायहरूलाई बालबालिकाका लागि जलवायु अनुकूलन र लचीलापनमा बढी लगानी गर्न, सन् २०३० सम्ममा हरितगृह ग्यास उत्सर्जनलाई कम्तीमा ४५ प्रतिशतले कम गर्न, जागरूकता बढाउन, युवाहरूलाई जलवायु परिवर्तन नीति निर्माणमा संलग्न गर्न र कोभिड–१९ को प्रभाव कम भएको सुनिश्चित गर्न आह्वान गरेको छ।’

Leave a comment

Your email address will not be published. Required fields are marked *