जुनिचाँदे, पचालझरना र सर्केगाडका वडाध्यक्ष किन कुटिए ?

दीपक बुढा/सुर्खेत, १८ बैशाख ।
जाजरकोट जुनिचाँदे गाउँपालिकाका वडा अध्यक्ष माथी कुटपिट भएको घटना सेलाउन नपाउँदै कालीकोट र हुम्लामा अरु दुई जना वडा अध्यक्षमाथी कुटपिट भएको छ । विकास निर्माण, कोभिड–१९ को राहत वितरण, उपभोक्ता समिति गठन लगायतका विषयमा विवाद हुँदा जनप्रतिनिधीमाथी कुटपिटका घटना भैरहेका छन् । जुनिचाँदे वडा नं. २ मजकोटका वडा अध्यक्ष राम बहादुर नेपाली २०७७ बैशाख ९ गते कार्यकक्षमै कुटिए । राजनीतिक प्रतिशोधले उनी कुटिएको भनाई छ ।

यो पनि पढ्नुहोस :

किन कुटिए वडा अध्यक्ष

कालिकोट पचालझरना गाउँपालिका वडा नं. १ का वडा रत्नलाल न्यौपानेमाथी २०७७ बैशाख १७ गते बुधबार दिउँसो र हुम्ला सर्केगार्ड गाउँपालिका वडा नं. ५ वडा अध्यक्ष कर्णजंग शाहीमाथी २०७७ बैशाख १६ गते मंगलबार कुटपिट भएको छ । पचालझरना वडा नं. ५ का वडा अध्यक्ष न्यौपानेमाथी स्थानीय युवाहरुबाट र सर्केगार्ड वडा नं. ५ का वडा अध्यक्ष शाहीमाथी गाउँपालिकाकै प्रमुख प्रशासकीय अधिकृतबाट कुटपिट भएको हो ।

कालीकोट पचालझरनाका वडा अध्यक्ष न्यौपाने वडापालिकाको बैठक सम्पन्न गरी घर फर्किनेक्रममा वडा अध्यक्ष न्यौपानेमाथी आक्रमण भएको थियो । स्थानीय युवा उमेश न्यौपाने नेतृत्वमा आएको समूहले आक्रमण गरेको जनाइएको छ । पहिले नै सम्पन्न भएको विकास निर्माणमा उपभोक्ता समितिको विषयमा विवाद गरी कार्यालय सहयोगी प्रकाश न्यौपानेमाथी हातपात गरेको जनाइएको छ ।

विवाद नगर्न भन्दै सम्झाउन खोजेका वडा अध्यक्ष न्यौपानेको टाउकोमा धान कुटने मुसलले आक्रमण भएको गाउँपालिकाले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।  विज्ञप्तिमा लेखिएको छ ‘गुण्डागर्दीको शैलीमा राजनितिक प्रतिसोध साटने हिसाबले गरिएको कुटपिट निन्दनीय छ । यसको जति भत्र्सना गरेपनि कमै हुन्छ । गाउँपालिकाका पाका, इमान्दार ब्यक्तित्व माथिको आक्रमणले गम्भिर बनाएको छ ।’

अध्यक्ष सेजुवालले अपराधिक मानसिकता भएका अराजक समूहले न्यौपानेमाथि गरिएको आक्रमण निन्दनिय भएको बताएका छन् । उनले हातपात गर्नेलाई कानुनी दायरामा ल्याउने दोषीमाथि कारबाहि हुने समेत जानकारी दिएका छन् । घटनाका दोषिलाई पक्राउ गरी हदैसम्मको कारवाहीको माग गरिएको छ ।

सर्केगार्ड वडाध्यक्षमाथि हातपात
सर्केगार्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले सर्केगार्ड गाउँपालिका–५ का वडाध्यक्ष कर्णजंग शाहीमाथि हातपात गरेका छन् । मंगलबार गाउँपालिकाको कार्यपालिकाको बैठकमा प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले वडाध्यक्ष कर्णजंग शाहीमाथि हातपात गरेका हुन् ।

वडा नम्बर ५ का वडाध्यक्ष कर्णजंग शाहीले वैशाख ६ गते फेसबुकबाट सर्केगार्ड गाउँपालिकामा केही कर्मचारीहरू हिटलरको स्वरूपमा राजनीति गरिरहेका छन, त्यसैले हाम्रो वडामा सबै कामहरू हुँदाहुँदै पनि बजेट फ्रिज हाल्ने प्रयास गर्दै छन् भन्ने स्टाटस लेखेका थिए । मंगलबार सर्केगार्ड गाउँपालिकाको कार्यपालिकाको बैठकमा वडाध्यक्ष शाहीसहित पाँचवटा वडाका अध्यक्षले उद्धार राहत कोष, विपत् व्यवस्थापन कोष, विपन्नलक्षित कोष, भैपरी आउने खर्च पदाधिकारी बैठक भत्ता भम्रण खर्चलगायतका अन्य जानकारी दिनुपर्ने भन्दै माग पत्र पेस गरे ।

मागपत्र पेस गर्न क्रममा भनाभन भएपछि प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले आफूमाथि हातपात गरेको बताए । प्रमुख प्रशासकीय अधिकृत शाही पनि आफूलाई अध्यक्ष कर्णजंग शाहीले पहिला हातपात गरेको दाबी गर्छन् । यता सर्केगार्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीका अनुसार गत वर्ष वडा नम्बर ५ को वडा भवन निर्माणमा २४ लाखको स्टिमेट भएको थियो ।

आठ लाख श्रमदानमा निर्माण भएको बताए । वडाध्यक्षले मर्मत भन्दै रकम कमाउन खोजेको प्रमुख प्रशासकीय अधिकृतको आरोप छ । प्रमुख प्रशासकीय अधिकृत शाहीका अनुसार अध्यक्षसँग वडाका विषयमा कुरा हुँदै थियो त्यही बेलुका गएर फेसबुकमा स्टाटस लेखेको आक्रोश व्यक्त गरे । गाउँपालिका अध्यक्ष कृष्ण रोकायाका अनुसार एक हप्ता पहिलो वडाको भवनको विषयमा विवाद थियो ।

तपाईको प्रतिक्रिया