किन कुटिए वडा अध्यक्ष

जाजरकोट, १० बैशाख ।
जुनिचाँदे गाउँपालिका वडा नं. २ मजकोटका वडा अध्यक्ष राम बहादुर नेपाली कुटिएका छन् । मंगलबार दिउँसो ४ः०० बजे कार्यालय समयमा, कार्यकक्षमै कुटिएका हुन । कार्यालयमा राहत वितरणको फाईल, विवरण मिलाउँदै गर्दा एक समूहले कार्यकक्षमै सांघातिक आक्रमण गरेको थियो । स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट वडा अध्यक्षका प्रत्यासी जय बहादुर नाथको नेतृत्वमा बोलेरो जीप रिजर्भ गरी आएको एक समूहले आक्रमण गरेको थियो ।

आक्रमणमा वडा अध्यक्षका प्रत्यासी नाथ, उनका बुवा, चार भाई, दुई अंकल र अन्य सहयोगी सहितको ८/१० जनाको समूहले निर्घाट कुटपिट गरेका थिए ।  ग २ च ७६७२ नम्बरकाे बाेलेराे डबल क्याप जीप भाडामा प्रयाेग गरी वडा कार्यालयमा अाएर अाक्रमण गरिएकाे थियाे । निर्वाचनमा पराजय भोगेपछि दलितको छोरो भन्दै पटक पटक कुटपिटको प्रयास भएको स्थानीयको भाई छ । ‘दलित को छोरो हामीसंग जुनाव लडने तँलाई मारिदिँन्छौं । काटिदिन्छौं भन्दै पटक पटक धम्काउने गरेका थिए । केही दिन अघि मात्रै बाटो कुरेर लुकेर ढुङगाले हान्न खोजिएको थियो’ प्रत्यक्षदर्शी एक स्थानीयले बताए । निर्वाचनको मतपरिणम आफनो अनुकुल नआएपछि निर्वाचित वडाअध्यक्षलाई पटक पटक धम्काउने, गाली गलौज गर्ने, कुटपिटको प्रयास गर्ने गरिएको स्थानीयको भनाई छ ।

स्थानीय निर्वाचनमा ३५९ मत ल्याएर पूर्व नेकपा एमालेका उम्मेदवार राम बहादुर नेपाली विजयी भएका थिए भने २४६ मत ल्याएर नेपाली काँग्रेसका जय बहादुर नाथ पराजित भएका थिए । मंगलबार दिउँसो कार्यालय सहयोगी कर्ण बहादुर सिंह र भैरव माविका शिक्षक पदम बहादुर नाथसहित कार्यालयमा राहत वितरणको नामावली अपडेट गराउँदै गरेको अवस्थामा, एक्कासी बाहिरबाट हुलहुज्जत सहित आएको समूहले आक्रमण गरेको थियो । आक्रमणमा परी वडाअध्यक्ष राम बहादुर नेपालीको टाउको, छाति, मुटु, ढाडमा गम्भिर चोट लागेको छ । बेहोस अवस्थामा रहेका वडा अध्यक्ष नेपालीलाई उपचारका लागि मंगलबार गाडी खोज्दा लकडाउनले नपाएपछि बाहिरबाट गाडी झिकाएर बुधबार (आज) उपचारका लागि सुर्खेततर्फ ल्याइदैछ ।

ज्यान मार्ने उद्देश्यले आक्रमण गरिएको हुँदा आक्रमणका दोषिलाई पक्राउ गरी कानून बमोजिम कारवाही गर्नुपर्ने माग गरिएको छ । कर्णाली प्रदेश सभा सदस्य तथा नेकपा जाजरकोटका सचिव करविर शाहीले घटना नियोजित, सामूहिक, एक जनप्रतिनीधिलाई हत्या गर्ने उद्देश्यले भएको दोषिमाथी हदैसम्मको कारवाही गर्न प्रशासनसंग आग्रह गरेका छन् । त्यसैगरी नेकपा कर्णाली प्रदेश अध्यक्ष गोरख बोगटीले समेत विरोध जनाएका छन् । घटनामा संलग्नहरुलाई हदै सम्मको कारवाहीको माग गरिएको छ । स्थानीय निर्वाचनमा हारव्यहोरेका जय बहादुर नाथले आफुलाई मत नदिएको भन्दै स्थानीय खड्ग बहादुर नाथ, परे दमाई सहितलाई समेत कुटपिट, हातपात गरेको स्थानीयको भनाईछ । आक्रमणको घटनामा संलग्न केहीलाई प्रहरीले पक्राउ गरेको छ भने केहीको खोजि कार्य जारी रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया