वास्तुशास्त्रले वैज्ञानिक, सांस्कृतिक र व्यवस्थित निर्माण संस्कृतिलाई बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

दाङ ,२८ असार ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वास्तुशास्त्रलाई वैज्ञानिक सोच, सांस्कृतिक परम्परा र व्यवस्थित निर्माण संस्कृतिसँग जोडिएको ज्ञानका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ मणिग्राममा दक्षिण एसियाली ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिद्वारा आयोजित ‘लुम्बिनी वास्तु सम्मेलन–२०८३’ को उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले परम्परागत ज्ञानलाई आधुनिक प्रविधिसँग समन्वय गरी सुरक्षित, वातावरणमैत्री र दीगो संरचना निर्माणमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले वास्तुशास्त्रले मानव जीवन, प्रकृति र निर्माणबीच सन्तुलन कायम गर्ने अवधारणालाई अघि सारेको उल्लेख गर्दै यसको अध्ययन, अनुसन्धान र व्यवहारिक प्रयोगलाई समयानुकूल बनाउँदै लैजानुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले नेपालको मौलिक ज्ञान, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धनमा यस्ता सम्मेलनले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले वास्तु, ज्योतिष तथा अन्य परम्परागत ज्ञानलाई अन्धविश्वासका रूपमा नभई अनुसन्धान र प्रमाणका आधारमा व्याख्या तथा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले समाजमा सकारात्मक चेतना अभिवृद्धि गर्न, सांस्कृतिक सम्पदाको संरक्षण गर्न तथा नयाँ पुस्तालाई मौलिक ज्ञानसँग जोड्न यस्ता कार्यक्रम उपयोगी हुने बताउनुभयो । साथै, प्रदेश सरकारले ज्ञान, संस्कृति र पर्यटन प्रवर्द्धनसँग सम्बन्धित कार्यलाई प्राथमिकता दिएको बताउनु भएको हाे ।
सम्मेलनमा वास्तुशास्त्रका विज्ञ, ज्योतिषविद्, अनुसन्धानकर्ता तथा विभिन्न जिल्लाबाट सहभागी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वास्तुशास्त्रको वर्तमान अवस्था, यसको वैज्ञानिक पक्ष तथा व्यवहारिक प्रयोगका विषयमा छलफल गरिने आयोजकले जनाएको छ ।






