एसईईमा सुर्खेतका १० सामुदायिक विद्यालयको नतिजा शून्य

अधिकांश विद्यालयले पास गराउन सकेनन् ५० प्रतिशत विद्यार्थी
सुर्खेत, २२ असार ।
यस वर्ष (२०८१) को माध्यमिक शिक्षा परीक्षा (एसईर्ई)मा सुर्खेतका १० सामुदायिक विद्यालय नतिजाविहिन बनेका छन् । यी विद्यालयबाट एसईई परीक्षामा सहभागी एक सय ४१ विद्यार्थीले न्यूनतम ३५ अंक प्राप्त गर्न नसकी कक्षा ११ मा पढ्न नपाउँने भएका हुन् । एसईई परीक्षाको नतिजा मूल्यांकन प्रणाली परिवर्तन भएसँगै यी विद्यालयले एक विद्यार्थी पनि पास गराउन सकेनन् ।
राष्ट्रिय परीक्षा बोर्डले २०८० बाट लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा प्रकाशन गर्दै आएको छ । जस अनुसार विद्यार्थीले सैद्धान्तिकतर्फ प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ ।
७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६ दशमलव २५ अंक ल्याउनुपर्छ । यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनु पर्ने नयाँ मूल्यांकन प्रणालीले सरकारी विद्यालयको स्तर यस वर्ष पनि मापन गरेको छ ।
ग्रेडिङ (अक्षरांकन) प्रणालीमा बानी परेका सामुदायिक विद्यालय र शिक्षकलाई दुई वर्ष यताको एसईई परीक्षाले निल्नु न ओकल्नु बनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७२ देखि २०७९ सम्म लेटर ग्रेडिङमा नतिजा प्रकाशन गर्दै आएको थियो ।
यस प्रकारको प्रणालीमा सैद्धान्तिकमा झिनो अंक ल्याएका विद्यार्थी पनि प्रयोगात्मकमा विद्यालयले दिने नम्बरका आधारमा पास हुने गरेका थिए । तर बोर्डले कक्षा–११ र १२ को नतिजा खस्किएको भन्दै गत वर्षदेखि सैद्धान्तिक र व्यावहारिक दुवैमा ३५–३५ प्रतिशत अंक ल्याउनुपर्ने नियम ल्याएपछि सामुदायिक विद्यालयको गुणस्तर मापन हुन थालेको छ । यही नियमका कारण सुर्खेतमा मात्रै होइन कर्णालीमै ठूलो संख्यामा सामुदायिक विद्यालयका विद्यार्थी फेल भएका छन् ।

जिल्ला शिक्षा समन्वय इकाई सुर्खेतले उपलब्ध गराएको तथ्यांक अनुसार एसईई परीक्षामा शून्य नतिजा प्राप्त गर्ने विद्यालयहरुमा चिङ्गाड गाउँपालिकाको इन्द्रेणी माध्यमिक विद्यालय गोगने, चौकुने गाउँपालिकाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय धनरास, पञ्चपुरी नगरपालिकाको सूर्यज्योति माध्यमिक विद्यालय लामाखाली, लेकवेशी नगरपालिकाको सरस्वती माध्यमिक विद्यालय सिमदमार, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कुइनेपानी छन् ।
त्यस्तै, बराहताल गाउँपालिकाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नयाँ वन, वीरेन्द्रनगर नगरपालिकाका आनन्द माध्यमिक विद्यालय कृष्णगंज, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पारेगाउँ, मदरसा मदिना र सिम्ता गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालय काँडा सिम्ताले एसईईमा नतिजा निकाल्न सकेनन् । यस वर्षको एसईईमा सुर्खेत जिल्लाभरबाट सात हजार ३८ विद्यार्थी सहभागी भएको अधिकांश सामुदायिक विद्यालयले ५० प्रतिशत विद्यार्थी पास गराउन सकेनन् ।
जसमा तीन हजार एक सय ६२ अर्थात ४५ प्रतिशत विद्यार्थी मात्रै माथिल्लो कक्षामा पढ्न पाउँने भएका छन् । बाँकी तीन हजार आठ सय ७६ अर्थात ५५ प्रतिशत विद्यार्थी न्यूनतम ३५ अंक प्राप्त गर्न नसकी फेल भएका छन् । सुर्खेतबाट चार जीपीए ल्याउने विद्यार्थीको संख्यासमेत न्यून छ । जिल्लाभर एक जनाले मात्रै चार जीपीए प्राप्त गरेका छन् ।
त्यस्तै, तीन दशमलव ६१ देखि चार जीपीएसम्म प्राप्त गर्ने विद्यार्थीको संख्या चार सय ३१ छ । आठ सय ५४ जनाले तीन दशमलव ६१ देखि तीन दशमलव ६ जीपीए प्राप्त गरेका छन् । यस्तै, दुई दशमलव ८१ देखि तीन दशमलव दुई जीपीए प्राप्त गर्नेको संख्या एक हजार एक सय नौ, दुई दशमलव ४१ देखि दुई दशमलव आठ जीपीए प्राप्त गर्नेको संख्या सात सय ३२ र दुई दशमलव एकदेखि दुई दशमलव चार जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३५ छ ।
सुर्खेतका नौ स्थानीय तहका सामुदायिक विद्यालयको तथ्यांक हेर्ने हो भने सबैभन्दा धेरै ८८ प्रतिशत विद्यार्थी बराहताल गाउँपालिकामा फेल भएका छन् । कुल दुई सय ८४ विद्यार्थी एसईई परीक्षामा सहभागी भएकोमा जम्मा ३३ जना विद्यार्थी मात्रै पास भएका छन् । त्यस्तै, सिम्ता गाउँपालिकाबाट एक सय ६७ अर्थात ५९ प्रतिशत विद्यार्थी माथिल्लो कक्षामा पढ्न पाउने गरी पास भएका छन् ।
सिम्ताबाट दुई सय ८४ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । चिङ्गाड गाउँपालिकाबाट एक सय ६२ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदा ४४ जना पास भएका छन् । चिङ्गाडबाट परीक्षामा सहभागी भएका कुल विद्यार्थी मध्ये २७ प्रतिशत मात्रै पास भएका छन् ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा एसईई दिएका ७७ प्रतिशत विद्यार्थीले माथिल्लो कक्षामा पढ्न पाउने गरी नम्बर प्राप्त गर्न सकेनन् । जम्मा दुई सय ७३ विद्यार्थी मध्ये चौकुनेमा ६२ जना अर्थात २३ प्रतिशत विद्यार्थी मात्रै एसईई परीक्षामा पास भएका छन् ।
त्यस्तै, यस वर्षको एसईईमा गुर्भाकोट नगरपालिकाका सामुदायिक विद्यालयका ४५ प्रतिशत विद्यार्थी पास भएका छन् । गुर्भाकोटका सामुदायिक विद्यालयबाट एसईईमा सहभागी भएका कुल आठ सय २० विद्यार्थी मध्ये तीन सय ६६ विद्यार्थी पास भएका छन् । गुर्भाकोटमा सामुदायिक विद्यालयका ५५ प्रतिशत विद्यार्थी फेल भएको जिल्ला शिक्षा समन्वय इकाई सुर्खेतले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
गुर्भाकोटबाट निजी विद्यालयबाट ७२ जना सहभागी भएकोमा ५८ विद्यार्थी पास भएका छन् । त्यस्तै, पञ्चपुरी नगरपालिकाका सामुदायिक विद्यालयका ८३ प्रतिशत विद्यार्थी फेल भएका छन् । पञ्चपुरीबाट कुल ६ सय ४३ परीक्षार्थी एसईईमा सहभागी भएकोमा एक सय १२ अर्थात १७ प्रतिशत विद्यार्थी मात्रै पास भएका छन् । पुञ्चपुरीमा संस्थागत विद्यालयबाट ३४ विद्यार्थी परीक्षामा सहभागी भएकोमा २३ विद्यार्थी पास भएका छन् ।
त्यस्तै, भेरीगंगा नगरपालिकाका सामुदायिक विद्यालयबाट १८ प्रतिशत विद्यार्थी पास भएका छन् । कुल सात सय ४१ विद्यार्थी एसईईमा सहभागी भएकोमा एक सय ३२ जना पास हुँदा ८२ प्रतिशत विद्यार्थी फेल भएका छन् । भेरीगंगाबाट निजी विद्यालयबाट सहभागी भएका ९३ मध्ये ६९ विद्यार्थी पास भएका छन् ।
लेकवेशी नगरपालिकाका सामुदायिक विद्यालयबाट यस वर्षको एसईईमा ७२ प्रतिशत विद्यार्थी फेल भएका छन् । कुल चार सय २८ विद्यार्थी एसईईमा सहभागी हुँदा एक सय २१ अर्थात २८ प्रतिशत विद्यार्थी मात्रै पास भएका छन् । त्यस्तै, प्रदेश राजधनी मुकाम रहेको वीरेन्द्रनगर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयको एसईई नतिजासमेत सन्तोषजनक छैन ।
वीरेन्द्रनगरबाट एसईई परीक्षामा सहभागी भएका कुल विद्यार्थी मध्ये ५२ प्रतिशत फेल भएका छन् । कुल एक हजार सात सय ८१ परीक्षार्थी मध्ये पास भने आठ सय ५८ अर्थात ४८ प्रतिशत विद्यार्थी मात्रै पास भएका छन् । वीरेन्द्रनगरका निजी विद्यालयबाट एक हजार चार सय २३ विद्यार्थी सहभागी भएकोमा एक हजार एक सय २० विद्यार्थी पास भएका छन् ।






