चाडपर्व लक्षित ट्राफिक प्रहरीको कडाइ, २५ चालकको परीक्षण गर्दा ११ जनामा लागुऔषध सेवन पुष्टि
बाँके ,२१ कार्तिक ।
बाँकेमा तिहार तथा छठलगायतका चाडपर्वलाई लक्षित गर्दै प्रहरीले सवारी साधनको चेकजाँच र ट्राफिक नियमको पालनामा कडाइ गरेको छ । चाडपर्वका समयमा सडकमा सवारी साधनको चाप बढ्ने र मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने जोखिम रहने भएकाले प्रहरीले सुरक्षा निगरानी बढाएको हो ।
सडक दुर्घटना न्यूनीकरण, यात्रुको सुरक्षा सुनिश्चितता तथा सुरक्षित सडक यात्रालाई प्रवर्द्धन गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय बाँकेको समन्वयमा सवारी साधनको नियमित जाँचसँगै विशेष अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले चाडपर्वका समयमा सवारी साधनको आवागमन बढ्ने भएकाले यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर चेकजाँचमा कडाइ गरिएको बताउनुभयो । उहाँका अनुसार तिहारका बेला मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने सम्भावना रहने भएकाले चालकको अवस्थाबारे समेत निगरानी बढाइएको छ ।
यसैक्रममा प्रहरीले सार्वजनिक सवारी साधनका चालक तथा सहचालकको लागुऔषध सेवन परीक्षण अभियान सञ्चालन गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२० स्थित राँझा चोकमा नेपालगञ्ज–कोहलपुर सडकखण्ड भएर सञ्चालन हुने सार्वजनिक सवारी साधनका चालक तथा सहचालकको परीक्षण गरिएको हो ।
लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्ज र लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्जको सहकार्यमा सञ्चालन गरिएको परीक्षणका क्रममा २५ वटा सार्वजनिक सवारी साधनका चालक तथा सहचालकको ड्रग टेस्ट किटमार्फत प्राविधिक टोलीले परीक्षण गरेको थियो । परीक्षणका क्रममा ११ जनामा लागुऔषध सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
परीक्षणमा नतिजा पोजेटिभ देखिएका ११ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरको जिम्मा लगाइएको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो ।
२५ जना चालक तथा सहचालकको परीक्षण गर्दा ११ जनामा लागुऔषध सेवन पुष्टि हुनु चिन्ताजनक विषय भएको उहाँले बताउनुभयो । सार्वजनिक सवारी साधनका चालकले लागुऔषध सेवन गरी सवारी चलाउँदा यात्रु मात्र नभई सडकमा आवागमन गर्ने अन्य नागरिकको ज्यानसमेत जोखिममा पर्ने भएकाले यस्ता गतिविधि नियन्त्रण गर्न प्रहरी सक्रिय रहेको उहाँको भनाइ छ ।
प्रहरीका अनुसार लागुऔषध तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्तिले सडक दुर्घटनाको जोखिम बढाउने भएकाले चाडपर्व अवधिभर विशेष चेकजाँचलाई निरन्तरता दिइनेछ । सवारी चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, लागुऔषध तथा मादक पदार्थ सेवन गरेर सवारी नचलाउन र यात्रुलाई पनि सुरक्षित यात्राका लागि सचेत रहन प्रहरीले आग्रह गरेको छ ।
चाडपर्वमा यात्रुको चाप बढ्ने समयमा सार्वजनिक सवारी साधनका चालकको जिम्मेवारी अझ बढी हुने भएकाले नियमित अनुगमन, परीक्षण र सचेतनामूलक अभियानलाई प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।





