कर्णाली सरकारका सय दिन : पाँच विधेयकदेखि पूर्वाधार विकाससम्मका काम अघि बढाएको मुख्यमन्त्री शाहीको दाबी

सुर्खेत ,२१ कार्तिक ।

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आफ्नो नेतृत्वमा सरकार गठन भएको सय दिनको उपलब्धि सार्वजनिक गर्नुभएको छ । उहाँले सरकारको सय दिनको अवधिमा विकास निर्माण, कानुन निर्माण, शासकीय सुधार र सुशासनका क्षेत्रमा महत्वपूर्ण आधार तयार पारिएको दाबी गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत उहाँले सरकारका सय दिनका उपलब्धि सार्वजनिक गर्नुभएको हो । २०८३ साउन १३ गते मुख्यमन्त्रीको शपथ लिनुभएका शाहीले पदभार ग्रहण गरेयता प्रदेशको समग्र विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न काम अघि बढाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारको सय दिनको अवधिमा पाँच वटा विधेयक प्रदेशसभामा पेस गर्न मन्त्रिपरिषद्बाट स्वीकृति प्रदान गरिएको छ । यातायात सेवा व्यवस्थित र प्रभावकारी बनाउन दुई वटा नियमावली स्वीकृत गरिएको छ भने शिक्षा क्षेत्र योजना (२०८३–२०९२) समेत स्वीकृत गरी कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छ । यस अवधिमा विभिन्न विषयका छ वटा कार्यविधि र दुई वटा निर्देशिका पनि स्वीकृत भएका छन् ।

शासकीय सुधार र सुशासनलाई प्राथमिकतामा राख्दै एकीकृत सरकारी कार्यालय व्यवस्थापन प्रणाली लागू गरिएको मुख्यमन्त्री शाहीले बताउनुभयो । सरकारी निकायको कामलाई थप जिम्मेवार, जवाफदेही र परिणाममुखी बनाउन मुख्यमन्त्री, मन्त्री, प्रमुख सचिव, प्रदेश सचिव तथा कार्यालय प्रमुखबीच कार्यसम्पादन सम्झौता गरिएको उहाँले जानकारी दिनुभयो ।

पूर्वाधार विकासतर्फ पनि उल्लेख्य काम अघि बढेको सरकारको दाबी छ । यातायात व्यवस्था कार्यालय सुर्खेतबाट एकद्वार सेवा प्रवाह सुरु गरिएको छ । यस अवधिमा दुई वटा सडक पुल र १७ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । जाजरकोट भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत तीन वटा विद्यालय भवन निर्माण गरिएको छ भने प्रदेशको एकीकृत प्रशासनिक भवन निर्माण कार्यसमेत सुरु गरिएको मुख्यमन्त्री शाहीले बताउनुभयो ।

विपद् व्यवस्थापन र राहतका क्षेत्रमा पनि सरकारले आवश्यक पहल गरेको उहाँको भनाइ छ । रसुवामा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ उपलब्ध गराइएको छ । त्यसैगरी कर्णाली प्रदेशका १० वटै जिल्लाका विपद् व्यवस्थापन कोषमा राहत तथा उद्धारका लागि आवश्यक रकम पठाइएको उहाँले जानकारी दिनुभयो ।

शिक्षा, स्वास्थ्य तथा खेलकुद क्षेत्रलाई पनि सरकारले प्राथमिकतामा राखेको मुख्यमन्त्री शाहीले बताउनुभयो । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई अघि बढाइएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्न सफल एक सय ४६ जना खेलाडीलाई पुरस्कार प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

मुख्यमन्त्री शाहीले सरकारको सय दिनलाई उपलब्धि हासिल गर्ने आधार तयार पार्ने अवधिका रूपमा व्याख्या गर्दै आगामी दिनमा विकास निर्माणका कामलाई तीव्रता दिने, सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने र सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरकारले सार्वजनिक गरेका यी उपलब्धिले प्रदेशमा विकास र प्रशासनिक सुधारका काम अघि बढेको देखाए पनि तिनको प्रभावकारिता भने आगामी दिनमा योजनाको कार्यान्वयन, नागरिकले पाउने सेवा र विकास निर्माणको प्रत्यक्ष परिणामबाट मापन हुने देखिन्छ । कर्णालीको भौगोलिक विकटता, पूर्वाधार अभाव र सेवा प्रवाहमा देखिएका चुनौती समाधान गर्न सरकारले थालेका कामलाई निरन्तरता दिनु अहिलेको प्रमुख आवश्यकता हो ।

कर्णाली सरकारका सय दिन : पाँच विधेयकदेखि पूर्वाधार विकाससम्मका काम अघि बढाएको मुख्यमन्त्री शाहीको दाबी

अब कोहलपुर नगरपालिकाबाटै प्यान दर्ता सेवा, व्यवसायीलाई

कर्णाली सरकारका सय दिन : पाँच विधेयकदेखि पूर्वाधार विकाससम्मका काम अघि बढाएको मुख्यमन्त्री शाहीको दाबी

कर्णाली सरकारका सय दिन : पाँच विधेयकदेखि

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!