अब कोहलपुर नगरपालिकाबाटै प्यान दर्ता सेवा, व्यवसायीलाई सहज

बाँके,२१ कार्तिक ।
बाँकेको कोहलपुर क्षेत्रका व्यवसायीले अब स्थायी लेखा नम्बर (प्यान) दर्ताका लागि नेपालगञ्जस्थित आन्तरिक राजस्व कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ। कोहलपुर नगरपालिकाबाटै प्यान दर्तासम्बन्धी सेवा उपलब्ध हुने व्यवस्था सुरु गरिएसँगै स्थानीय व्यवसायीलाई ठूलो राहत मिल्ने भएको छ।

यसअघि प्यान दर्ताका लागि नेपालगञ्जस्थित आन्तरिक राजस्व कार्यालय पुग्नुपर्ने बाध्यता रहेकोमा अब स्थानीय तहमै सेवा उपलब्ध गराउने उद्देश्यले कोहलपुर नगरपालिका, कोहलपुर उद्योग वाणिज्य सङ्घ र आन्तरिक राजस्व कार्यालय नेपालगञ्जबीच त्रिपक्षीय सम्झौता भएको हो।

कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यका अनुसार तीनवटै संस्थाबीच भएको सहमतिअनुसार नगरपालिकाबाटै प्यान दर्ता सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको हो। तीनवटै संस्थाका प्रतिनिधिको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर तथा हस्तान्तरण कार्यक्रमसमेत सम्पन्न भएको उहाँले जानकारी दिनुभयो।

नगरप्रमुख आचार्यले स्थानीयस्तरमै सरकारी सेवा उपलब्ध गराउने र नागरिकलाई सहज रूपमा सेवा प्रवाह गर्ने नगरपालिकाको नीतिअनुसार यो व्यवस्था कार्यान्वयनमा ल्याइएको बताउनुभयो। उहाँका अनुसार नयाँ व्यवस्थाले प्यान दर्ताका लागि नेपालगञ्जसम्म पुग्नुपर्ने समय, यातायात खर्च र अन्य झन्झट कम गर्नेछ।

विशेषगरी कोहलपुर बजार तथा आसपासका क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएका साना तथा ठूला व्यवसायीलाई यसबाट प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। प्यान दर्ताका लागि टाढा जानुपर्ने अवस्था अन्त्य हुँदा नयाँ व्यवसाय दर्ता तथा सञ्चालन प्रक्रियासमेत सहज हुने विश्वास गरिएको छ।

कोहलपुर उद्योग वाणिज्य सङ्घले पनि स्थानीयस्तरमै प्यान दर्ता सेवा उपलब्ध हुनु व्यवसायीका लागि महत्वपूर्ण उपलब्धि भएको जनाएको छ। व्यवसायीले लामो समयदेखि भोग्दै आएको प्रशासनिक झन्झट कम गर्न र सेवा प्रवाहलाई विकेन्द्रित बनाउन यो व्यवस्था प्रभावकारी हुने सङ्घको अपेक्षा छ।

पछिल्लो समय कोहलपुरमा व्यापार, व्यवसाय तथा उद्यमशील गतिविधि विस्तार हुँदै गइरहेको अवस्थामा स्थानीय तहमै प्यान दर्ता सेवा उपलब्ध हुनुलाई व्यवसायमैत्री वातावरण निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

सरकारी सेवा नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यअनुरूप सुरु गरिएको यो व्यवस्थाले व्यवसायीको समय र लागत बचत गर्नुका साथै स्थानीय आर्थिक गतिविधिलाई थप व्यवस्थित र सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अब कोहलपुर नगरपालिकाबाटै प्यान दर्ता सेवा, व्यवसायीलाई सहज

चाडपर्व लक्षित ट्राफिक प्रहरीको कडाइ, २५ चालकको

अब कोहलपुर नगरपालिकाबाटै प्यान दर्ता सेवा, व्यवसायीलाई सहज

कर्णाली सरकारका सय दिन : पाँच विधेयकदेखि

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!