बाल संरक्षण प्रणाली सुदृढ बनाउन बारबर्दियामा सरोकारवालाको क्षमता अभिवृद्धि
बर्दिया,१९ कार्तिक ।
बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार, शोषण तथा बालविवाहजस्ता हानिकारक अभ्यासको रोकथाम गर्दै जोखिममा रहेका बालबालिकाको समयमै पहिचान, संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले बर्दियाको बारबर्दिया नगरपालिकामा बाल संरक्षणसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।
बाँके युनेस्को क्लब (बीयूसी), राधाकृष्ण थारू जनसेवा केन्द्र (आरकेजेएस) तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाल संरक्षण सूचना व्यवस्थापन प्रणाली (सीपीआईएमएस) तथा केस रिपोर्टिङ प्रणालीको सुदृढीकरण र घटना प्रतिवेदनसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको हो।

नगर उपप्रमुख एवं नगरस्तरीय बाल अधिकार समितिका अध्यक्ष रत्नकुमारी पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख छविलाल थारूको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विवेक भट्टराई, विभिन्न वडाका वडाध्यक्ष, विषयगत शाखा प्रमुख, नगरस्तरीय बाल अधिकार समितिका सदस्य, बाल क्लब तथा एल्मुनी क्लबका प्रतिनिधिसहित ३५ जना सरोकारवालाको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख पाण्डेले बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार, शोषण तथा बालविवाहजस्ता सामाजिक विकृति अन्त्य गर्न स्थानीय सरकार, सुरक्षा निकाय, विद्यालय, समुदाय र सबै सरोकारवाला जिम्मेवार तथा सक्रिय हुनुपर्ने बताउनुभयो।

उहाँले जोखिममा रहेका बालबालिकाको समयमै पहिचान गरी आवश्यक संरक्षण, सहयोग र न्यायमा पहुँच सुनिश्चित गर्न बाल संरक्षण सूचना व्यवस्थापन प्रणाली तथा घटना रिपोर्टिङ प्रणालीको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्नुभयो। बाल संरक्षणका सवालमा सबै निकायबीच समन्वय र सहकार्य हुन सके मात्रै बालबालिकालाई सुरक्षित वातावरण प्रदान गर्न सकिने उहाँको भनाइ थियो।

कार्यक्रममा बाल संरक्षण सूचना व्यवस्थापन प्रणालीको वर्तमान अवस्था र प्रयोग, बाल संरक्षणसम्बन्धी घटनाको पहिचान, अभिलेखीकरण तथा रिपोर्टिङ, केस व्यवस्थापन प्रक्रिया, आवश्यक सेवाका लागि सम्बन्धित निकायमा प्रेषण र नियमित अनुगमनका विषयमा छलफल तथा अभ्यास गरिएको थियो।
त्यसैगरी, बालबालिकासम्बन्धी संवेदनशील सूचना र तथ्याङ्कको गुणस्तर कायम गर्ने, सूचनाको गोपनीयता सुनिश्चित गर्ने तथा तथ्याङ्कलाई सुरक्षित रूपमा व्यवस्थापन गर्ने विषयमा समेत सहभागीहरूको क्षमता अभिवृद्धि गरिएको थियो।
कार्यक्रमको मुख्य उद्देश्य स्थानीय तहमा बाल संरक्षणसम्बन्धी सूचना व्यवस्थापन तथा घटना रिपोर्टिङ प्रणालीलाई व्यवस्थित र संस्थागत बनाउनुका साथै जोखिममा रहेका बालबालिकालाई समयमै आवश्यक सेवा तथा सहयोग उपलब्ध गराउने संयन्त्रलाई प्रभावकारी बनाउनु रहेको आयोजकले जनाएको छ।
कार्यक्रमले बाल संरक्षणसम्बन्धी घटना पहिचान, रिपोर्टिङ र व्यवस्थापन प्रक्रियाबारे सहभागीहरूबीच साझा बुझाइ विकास गर्न सहयोग पुगेको विश्वास गरिएको छ। साथै, स्थानीय सरकार, प्रहरी, विद्यालय, बाल क्लब तथा अन्य सरोकारवाला निकायबीचको समन्वय र सहकार्यलाई थप मजबुत बनाउँदै बाल संरक्षण संयन्त्रलाई जवाफदेही र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रमको सहजीकरण युवराज पोख्रेलले गर्नुभएको थियो भने सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख उषा पुनले गर्नुभएको थियो। कार्यक्रममा बाँके युनेस्को क्लबका संरक्षण अधिकृत विजय शर्मा तथा फिल्ड सुपरभाइजर डम्मर परियारको समेत उपस्थिति रहेको थियो।

बालबालिकामाथि हुने हिंसा र दुर्व्यवहारका घटना लुकाउने वा बेवास्ता गर्ने प्रवृत्तिको अन्त्य गर्दै प्रत्येक घटनाको समयमै पहिचान, अभिलेखीकरण र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायसम्म पुर्याउनु बाल संरक्षणको महत्वपूर्ण पक्ष हो। त्यसका लागि स्थानीय तहमा प्रभावकारी सूचना व्यवस्थापन प्रणाली, संवेदनशील केस व्यवस्थापन र सरोकारवाला निकायबीचको बलियो समन्वय आवश्यक देखिन्छ।
बालबालिकाको सुरक्षा कुनै एक निकायको मात्रै जिम्मेवारी नभई राज्य, परिवार, समुदाय र सम्पूर्ण सरोकारवालाको साझा दायित्व भएकाले यस्ता कार्यक्रमले बालमैत्री, हिंसामुक्त र सुरक्षित समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।






