प्रविधिमैत्री शिक्षण सिकाइका लागि बर्दियाका ३६ शिक्षकलाई तालिम
बर्दिया ,१८ कार्तिक ।
विद्यालयको शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री, अन्तरक्रियात्मक तथा प्रभावकारी बनाउने उद्देश्यले बर्दियाको ठाकुरबाबामा शिक्षकहरूका लागि दुईदिने सूचना तथा सञ्चार प्रविधि (आईसीटी) र डिजिटल शिक्षण सिकाइ एकीकरणसम्बन्धी तालिम सम्पन्न भएको छ।
सुरक्षित भविष्य परियोजनाअन्तर्गत कात्तिक १७ र १८ गते (नोभेम्बर ३ र ४) सञ्चालन गरिएको तालिममा बर्दियाका सातवटा स्थानीय तहका विभिन्न विद्यालयबाट ३६ जना शिक्षकको सहभागिता रहेको थियो। तालिममा बढैयाताल, गुलरिया, मधुवन, बारबर्दिया, ठाकुरबाबा, राजापुर र गेरुवा गाउँपालिकाका शिक्षकहरू सहभागी भएका थिए।

बालबालिका, किशोरकिशोरी तथा युवाका लागि सञ्चालित सुरक्षित भविष्य परियोजनाअन्तर्गत आयोजित तालिमको मुख्य उद्देश्य शिक्षकहरूको सूचना तथा सञ्चार प्रविधिसम्बन्धी ज्ञान, सीप र व्यावहारिक क्षमता अभिवृद्धि गर्नुका साथै डिजिटल स्रोत, सामग्री तथा प्रविधिको प्रभावकारी उपयोगमार्फत कक्षाकोठाको शिक्षण सिकाइलाई गुणस्तरीय बनाउनु रहेको थियो।
तालिमका क्रममा शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको आवश्यकता र महत्व, प्रविधिमा आधारित शिक्षण पद्धति, डिजिटल सिकाइका विभिन्न प्लेटफर्म, शैक्षिक सामग्रीको पहिचान तथा प्रयोग र कक्षाकोठामा उपयोग गर्न सकिने डिजिटल उपकरण तथा स्रोतका विषयमा सहजीकरण गरिएको थियो।
त्यसैगरी शिक्षकहरूलाई डिजिटल शैक्षिक सामग्रीको प्रयोग, प्रविधिमैत्री पाठयोजना निर्माण तथा विद्यार्थीकेन्द्रित र अन्तरक्रियात्मक सिकाइ गतिविधि सञ्चालनसम्बन्धी व्यावहारिक अभ्याससमेत गराइएको थियो। तालिममा सैद्धान्तिक प्रस्तुतिसँगै छलफल, प्रदर्शन, समूहकार्य, अनुभव आदानप्रदान, व्यावहारिक अभ्यास तथा समूहगत प्रस्तुतीकरणलाई प्राथमिकता दिइएको थियो।
विशेषगरी शिक्षकहरूले आफूले अध्यापन गर्ने विषय र तहअनुसार आईसीटीमा आधारित पाठयोजना निर्माण गर्नुका साथै डिजिटल सामग्रीलाई नियमित कक्षाकोठाको शिक्षण सिकाइमा कसरी प्रभावकारी रूपमा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा अभ्यास गरेका थिए।
बदलिँदो शैक्षिक परिवेशमा प्रविधिको उचित प्रयोगले शिक्षण सिकाइलाई सहज, रोचक, सिर्जनात्मक र विद्यार्थीको आवश्यकताअनुकूल बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। तालिमबाट प्राप्त ज्ञान र सीपलाई विद्यालय तथा कक्षाकोठामा व्यवहारमा उतार्न सके शिक्षण सिकाइ प्रक्रियामा नवीनता ल्याउनुका साथै विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ।

राधाकृष्ण थारु जनसेवा केन्द्र, बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षित भविष्य परियोजनाले बालबालिका, किशोरकिशोरी तथा युवाको गुणस्तरीय शिक्षा, संरक्षण, सहभागिता र समग्र विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
शिक्षकहरूको क्षमता विकास, शिक्षण सिकाइमा नवीनतम प्रविधिको प्रयोग तथा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नु पनि परियोजनाका महत्वपूर्ण प्राथमिकताका रूपमा रहेका छन्।





