कञ्चनपुरमा आठ सय खेलाडी प्रतिस्पर्धामा
कञ्चनपुर, १९ कार्तिक ।
कर्णाली प्रदेशमा सञ्चालन हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुरमा खेलाडी छनौट सुरु भएकोे छ । आगामी मङ्सिर १६ देखि २७ गतेसम्म राष्ट्रिय खेलकूद प्रतियोगिता हुँदैछ । प्रतियोगिताको उद्घाटन आज सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र रावलले गर्नुभयो । महेन्द्रनगरस्थित कभर्डहलमा तीन दिनसम्म सञ्चालन हुने छनौट प्रतियोगिता ८४० खेलाडी प्रतिस्पर्धामा रहेको जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार २३ वटा खेल विधामा खेलाडी प्रतिस्पर्धामा छन् । तीमध्ये ११५ जना छनौट हुनेछन् ।
उद्घाटनपछि भएको छनौट खेलमा भारोत्तोलन र बक्सिङ्का खेलाडी छनौट भएका छन् । भारोत्तोलनमा महिला र पुरुषतर्फ छ खेलाडी छनौट भएका छन । महिलामा नामी लामिछाने (४९ किलो) र चम्फा ठकुल्ला (८५ किलो) तौल समूहमा छानिएका छन् ।
सुभास उपाध्याय ११० किलो तौल समूह, आर्यन भण्डारी ९५ र प्रदीप भण्डारी ८५ किलो तौल समूहमा छनौट भएका छन् । त्यसैगरी, बक्सिङ्गमा पुरुषतर्फ सन्दीप विष्ट, दीपेश जैरु, विपिन महरा, जीवन चन्द, नवीन जाग्री, उदीप भण्डारी, बालकृष्ण सुनार, अरबिन बम, विपिन पुजारा र ललित भट्ट छनौट भएका छन् ।
महिलामा ५१ किलो तौल समूहमा सोनिया सेट्टी छनौट भएको कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । उनले बजेट अभावका कारण जिल्लामा खेलकुद प्रतियोगिता सञ्चालनमा कठिनाइ भइरहेको बताए ।





