नेपालगञ्जमा सुनिल सिंह ठकुरीको ‘ओ मेरा छोर्याट्टि’ सार्वजनिक

नेपालगञ्ज,२० कार्तिक ।
चर्चित गायक सुनिल सिंह ठकुरीको नयाँ गीत ‘ओ मेरा छोर्याट्टि’ नेपालगञ्जमा सार्वजनिक गरिएको छ। पश्चिम नेपालको मौलिक भाषामा तयार पारिएको गीतको म्युजिक भिडियो सार्वजनिक भएसँगै कार्यक्रममा सहभागी दर्शक गीतको सङ्गीत, शब्द र प्रस्तुतिमा रमाएका थिए।

बास नेपालको समन्वयमा आयोजित गीत सार्वजनिक तथा तिहार शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ सङ्गीतकार एवं कार्यक्रमका प्रमुख अतिथि ओमप्रकाश शर्माले म्युजिक भिडियोको औपचारिक रूपमा सार्वजनिक गर्नुभएको हो।

गीत सार्वजनिक भएपछि गायक ठकुरीले मञ्चमा गीतको प्रत्यक्ष प्रस्तुति दिनुभएको थियो। उहाँको प्रस्तुतिमा म्युजिक भिडियोकी मोडल करिष्मा शाही ठकुरीसमेत मञ्चमा पुगेर नृत्य गर्न थालेपछि कार्यक्रमस्थल थप सङ्गीतमय बनेको थियो। गायकको लाइभ प्रस्तुति र मोडलको नृत्यले दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै कार्यक्रममा उत्साह थपेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले नयाँ पुस्तामा गीतसङ्गीतप्रतिको बढ्दो आकर्षण र लगाव सुखद पक्ष भएको बताउनुभयो। उहाँले मौलिक भाषा, कला र संस्कृतिलाई गीतसङ्गीतमार्फत उजागर गर्ने प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै सार्वजनिक गीतले श्रोता तथा दर्शकको मन जित्न सफल हुने विश्वास व्यक्त गर्नुभयो।

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो। शुभकामना मन्तव्यका क्रममा प्राज्ञ तथा बास नेपालका सल्लाहकार किरण आचार्यले गीत तथा म्युजिक भिडियोले पश्चिम नेपालको मौलिक पहिचान र सांस्कृतिक विशेषतालाई झल्काएको बताउनुभयो।

त्यसैगरी, बास नेपालका सल्लाहकार रुद्रप्रसाद तिमिल्सिनाले सुशासन र पारदर्शिताका क्षेत्रमा क्रियाशील संस्थाले स्थानीय कला, संस्कृति र प्रतिभाको संरक्षण तथा प्रवर्द्धनमा समेत भूमिका निर्वाह गर्नु सकारात्मक भएको बताउनुभयो।

अछामी सेवा समाजका अध्यक्ष पुष्कर खड्काले सुदूरपश्चिमको भाषा, कला र संस्कृतिलाई समेटेर तयार पारिएको गीतले क्षेत्रको सांस्कृतिक पहिचान प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै गीतको सफलताको शुभकामना दिनुभयो।

पश्चिम नेपालको मौलिक भाषामा तयार गरिएको ‘ओ मेरा छोर्याट्टि’ गीतले स्थानीय भाषा, संस्कृति र सङ्गीतलाई नयाँ पुस्तामाझ पुर्‍याउने अपेक्षा गरिएको छ। यस्ता सिर्जनाले क्षेत्रीय कला र सांस्कृतिक पहिचानलाई राष्ट्रियस्तरमा चिनाउनसमेत योगदान पुर्‍याउने विश्वास गरिएको छ।

बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका एक सयभन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो। कार्यक्रमको अन्त्यमा गायक ठकुरीले गीत सार्वजनिक कार्यक्रममा उपस्थित भई हौसला प्रदान गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएको थियो।

नेपालगञ्जमा सुनिल सिंह ठकुरीको ‘ओ मेरा छोर्याट्टि’ सार्वजनिक

धान खरिदको कोटा बढाउन बाँकेका किसानको माग

नेपालगञ्जमा सुनिल सिंह ठकुरीको ‘ओ मेरा छोर्याट्टि’ सार्वजनिक

नेपालगञ्जमा सुनिल सिंह ठकुरीको ‘ओ मेरा छोर्याट्टि’

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!