लेखपोखरामा सामुदायिक भवन निर्माण

सल्यान ।
छत्रेश्वरी गाउँपालिका–५, लेखपोखरामा सामुदायिक भवनको उद्घाटन गरिएको छ । दुई सय जना भन्दा बढी अट्न सक्ने वडास्तरिय भवनको सोमवार छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले उद्घाटन गरेका हुन् ।
गाउँपालिका अध्यक्ष बुढाथोकीले छत्रेश्वरीको चौतर्फी विकासको लागि हरेक पालिकाबासीको योगदान आवश्यक रहेको बताए । उनले लेखपोखरामा खानेपानी समस्या समाधानका लागि आफुहरुले यहि वर्ष नै योजना सम्पन्न गर्नेगरी काम अगाडि बढाएको जानकारी दिए ।

विद्युतीकरण, सडक निर्माण, स्वास्थ्य, शिक्षा, कृषि, सेवा प्रवाह, सुशासन प्रर्वद्धन लगायतका क्षेत्रमा आफुहरु सकृयताका साथ लागेको उनको भनाई थियो ।
त्यैगरी गाउँपालिका उपाध्यक्ष बुद्धकुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरुप्रसाद योगीले सामुदायिक सम्पत्ति संरक्षणका लागि आफ्ना भनाई राखेका थिए ।


गाउँपालिकाको १४ लाख रुपैयाँ अनुदान तथा स्थानीयको समेत लागत सहभागीतामा भवन निर्माण गरिएको वडा अध्यक्ष फौदबहादुर बस्नेतले जानकारी दिए ।
सामाजिक कार्यक्रम, बैठक तथा तालिम, प्रशिक्षण लगायतका कार्यक्रमका लागि भवन अभावको समस्यामा यो भवन आवश्यक हुने उनले जानकारी दिए ।
भवनमा लेखपोखराका हालसम्मका जनप्रतिनिधी, शहिद तथा सम्मानित व्यक्तिहरुको तस्विर समेत राखिएको छ । सामुदायिक भवनका लागि वडाभित्र रहेका सामुदायिक वन समुहहरुले कुर्सीको सहयोग गरेको वडा अध्यक्ष बस्नेतले जानकारी दिए ।





