घरेलु हिंसा सहँदै गयो गीताको ज्यान
सुर्खेत । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–१, लुसा माइती घर भएकी २६ वर्षिय गीताकुमारी जैशी विगत केहि समय यता घरेलु हिंसाबाट पीडित थिइन् । उनका श्रीमान्ले उनीसहित छोरालाई समेत पटक पटक ज्यान मार्ने धम्की दिदै आएका थिए ।
दैलेखको भगवतीमाई गाउँपालिका–५ कट्टी घर भएका दानबहादुर शाही र गीताविचको अवैध सम्बन्धबाट एक सन्तानको जन्म भएको थियो ।
दैलेख स्थायी ठेगाना रहेपनि दानबहादुर कालीकोट सदरमुकाम मान्म बस्दै आएका थिए । दानबहादुरसँगको सम्वन्धबाट गीता गर्भवती भएपछि उनका माइती पक्षले छोरीको जिम्मा लगाएका थिए । यसअघि नै विवाहित रहेका दानबहादुरले गीतालाई कान्छी श्रीमतीका रुपमा स्विकारेका थिए । तर गीता र दानबहादुरको सम्बन्धबाट छोराको जन्म भएसँगै उनले गीतामाथि मानसिक हिंसा शुरु गरेका थिए । शारिरिक तथा मानसिक हिंसामा उत्रिएका दानबहादुरले गीतालाई आफुबाट पन्छाउन खोजेका थिए । नवशिशुको जिम्मेवारी उनले लिन खोजेका थिएनन् । आफ्नो सम्पत्ति समेत दोस्रो श्रीमतिबाट जन्मेको सन्तानलाई नदिने उनको योजना थियो । तर गीताले त्यो विषय स्विकार गरिनन् ।
यो विषय माइती पक्षलाई समेत जानकारी थियो । उनीहरुले पीडक दानबहादुरलाई हिंसा नगर्न समेत अनुरोध गरेका थिए । तर उनले माननेन् । अन्तमा गीताले कानूनी सहायताको लागि प्रहरीकोमा उजुरी गरिन् ।
प्रहरीकोमा उजुरी परेपछि दानबहादुर थप आक्रोशित् भए । उनले गीतालाई थप पीडा दिन थाले । सामाजिक सञ्जाल मार्फत पनि उनले ‘ससुरालाई आफुले मारेको र छोरा सहित तलाई पनि केटाहरु लगाएर मार्छु’ जस्ता धम्की दिईरहेका थिए ।
२०७७ भदौ २८ गते मृत्यु भएका गीताको बुवा ५५ वर्षीय धनीराम जैसीको समेत आफैले ज्यान लिएको दानबहादुरले दावि समेत गरे । गत भदौ ९ गते दानबहादुरले ससुराको हत्या आफैले घटाएको बताएका थिए । गीतालाई सामाजिक सञ्जाल मार्फत ससुरालाई आफूले मारेको बताएपछि गीताका दाजु गौरी जैशीले गत भदौ ९ गते नै कर्तव्य ज्यान सम्बन्धिमा प्रहरीकोमा मुद्दा दर्ता गरेका थिए । प्रहरीले आरोपित शाहीलाई भदौ १० गते नै पक्राउ गरेको थियो ।
हिंसामा परेको भन्दै गीताले अदालतमा अंशवण्डाको मुद्दा दर्ता गराएकी थिइन् । प्रहरीदेखि अदालतमा मुद्दा पुगेपछि दानबहादुरले गीतामाथि थप हिंसा गर्न थालेका थिए । जिल्ला अदालत, कालीकोटमा अहिले गीता र दानबहादुरविचको सम्बन्धविच्छेद र अंशबन्डाको मुद्दा चलिरहेको छ ।
यता हिंसाका कारण विचलित भएकी गीता समेत भदौ २० गते कालिकोटबाट हराइन् । उनका माइती पक्षले शाहीलाई दोषि बताउँदै आन्दोलन समेत चर्काए ।
हराएको तीन दिनपछि गीता नेपालगञ्जमा छोरासँगै भेटिइन् । सोपछि कालिकोट लगिएको गीतालाई सुरक्षित आवासमा राखिएको थियो । प्रहरीले गीतालाई गैरसरकारी संस्थासँगको समन्वयमा महिला तथा बालबालिका केन्द्रको संरक्षणमा राखेको थियो ।
‘सेल्टर’मै शव फेला पर्यो
आइतवार गीताको शव झुण्डिएको अवस्थामा शव फेला परेको छ । गीताका परिवारले सुरक्षाका कारण लिन नमानेपछि उनको संरक्षण र मनोसामाजिक परामर्शका लागि सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल नामक गैरसरकारी संस्थाद्वारा सञ्चालित महिला र बालबालिका केन्द्र (सेल्टर) मा राखिएको थियो । आइतवार विहान केन्द्रको शौचालयको ढोकामा झुण्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, कालीकोटका प्रहरी नायव उपरीक्षक अर्जुन केसीले जानकारी दिए ।

सेल्टरमै गीताको शव फेलापरेपछि अहिले यस घटनालाई शंकास्पद रुपमा समेत हेरिएको छ । ‘उहाँ गत भदौं २२ गते वेपत्ता हुनुभयो भनेर आफन्त आन्दोलित हुनु भएको थियो, पछि सम्पर्कमा आएपछि सुरक्षाको कारण देखाउँदै आफन्तले उहाँलाई लिन नमानेपछि हामीले संरक्षण र मनोपरामर्शका लागि सोसेक नामक संस्थामा राखेका थियौं,’ प्रहरी नायव उपरीक्षक केसीले भने, ‘त्यहीक्रममा आइतवार विहान करिव ९ बजेको समयमा झुण्डिएको अवस्थामा शव भेटिएको खबर हामीलाई आएको थियो ।’
हत्या वा आत्महत्या के हो भन्ने विषय अनुसन्धानपछि मात्रै खुल्ने प्रहरी नायव उपरीक्षक केसीले बताए ।





