हेलिकोप्टर चार्टर गरेर स्कुलको भवन उद्घाटन
जाजरकोट । दुर्गममा बनेको एक विद्यालयको भवन उद्घाटन गर्न हेलिकोप्टर चार्टर गरिएको छ । राउन्ड टेवल नेपाल नामको संस्थाका प्रतिनिधिहरु हेलिकोप्टर चार्टर गरेर भवन उद्घाटन गर्न जाजरकोट पुगेका हुन् ।
जिल्लाको नलगाड नगरपालिका वडा नम्बर २ डाँडागाँउ रिजामा रहेको जनक आधारभुत विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । राउन्ड टेवल नेपालले निर्माण गरेको उक्त भवनको उदुघाटन राउन्ड टेवल संस्थाका अन्तराष्ट्रिय अध्यक्ष डिके सिंहले गरेका हुन् ।
झण्डै डेढ करोड रुपैयाँको लागतमा निर्माण भएको उक्त भवन जाजरकोटकै नमुना भवनको रुपमा रहेको छ । नवनिर्मित विद्यालय भवन उद्घाटन गर्न दाताहरु डिके सिंहसहित पाँच जनाको टोली हेलिकोप्टेर चार्टर गरेर काठमाडौबाट सिधै नवनिर्मित विद्यालय भवन रहेको डाडाँगाउँ पुगेको थियो ।
भवन बनेसँगै पानी चुहिने र जीर्ण भवनमा पढ्नुपर्ने बाध्यता हट्ने भएको छ । आगामी दिनमा पनि अरु ठाउँका विद्यालय भवनलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता डिके सिंहले गरेका छन् । प्रतिकुल मौसम, समयको चाप आदि कारणले हेलिकोप्टर चार्टर गर्नु परेको अध्यक्ष सिंहले बताए ।





