परराष्ट्रमन्त्री खड्का नियुक्त, १ बजे शपथ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डाक्टर नारायण खड्कालाई नियुक्त गरेका छन्। खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपतिसमक्ष पठाइसकिएको देउवाको सचिवालयले जनाएको छ।

‘परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गरिएको जानकारी राष्ट्रपतिलाई गराइसकिएको छ’, प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘दिउँसो १ बजे शपथ गरेसँगै आजै कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जाने कार्यक्रम छ।’
सत्ता गठबन्धनका नेताहरूको मंगलबार बसेको बैठकमा डाक्टर खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो। थप मन्त्रीको टुंगो लगाउन कांग्रेसले ३ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। यस्तै माओवादी केन्द्रले मन्त्रीको टुंगो लगाउन ३ बजे नै स्थायी कमिटी बैठक बोलाएको छ।






