कमलपोखरी भवनमा सर्याे लोकसेवा आयोग कार्यालय

काठमाडौं । लोक सेवा आयोग आज (शुक्रबार) बाट नवनिर्मित भवन कमलपोखरीमा सरेको छ।
यसअघि २०७२ सालमा आएको भूकम्पका कारण सिंहदरबार वैद्यखानासँगै रहेको लोकसेवाको क्षेत्रीय कार्यालयको भवनबाट कार्य सञ्चालन गर्दै आएको थियो।
वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापनासँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ गते आयोगको स्थापना भएको हो।
स्थापना कालदेखि यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनोट गर्ने कार्य गर्दै आइरहेको छ।
नेपालको संविधानमा निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र अन्य संघीय सरकारी सेवाको पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा लोक सेवा आयोगले सञ्चालन गर्ने गरी व्यवस्था गरिएको छ। नेपालको संविधानको भाग २३ मा लोक सेवा आयोग सम्बन्धी व्यवस्था गरिएको छ।






