पूरा भयो मोहन बानियाँको मन्त्री बन्ने चाहना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद विस्तार गर्दा मुगुका एमाले नेता तथा निवर्तमान सांसद मोहन बानियाँ मन्त्रीमा समेटिए । दिउँसो ४ बजे शपथ ग्रहणको समय तोकिए पनि मन्त्री हुनेहरुको नाम सार्वजनिक भएपछि उनीहरु शुभेच्छुक र कार्यकर्ताको बधाई थापिरहेका छन् ।

बानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने गरी मन्त्री बनाइएको छ । बानियाँले आफू चौथो पटकको प्रयासमा बल्ल मन्त्री बनेको सुनाए । भन्छन्, ‘म त पुरानै सिनियरै मान्छे हो, बल्ल अहिले (पालो) आयो ।’

२०७२ सालमा संविधान निर्माण भएपछि केपी शर्मा ओली नेतृत्वको सरकारमा जान उनले पहल गरेका थिए । तर त्यतिबेला अवसर पाएनन् । २०७४ सालमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन पद्धतिबाट सांसद निर्वाचित भएपछि पनि उनले मन्त्रीका लागि लबिङ गरेका थिए । ‘राज्यमन्त्री दिने कुरा भयो, म हुन्न भनें,’ उनले भने ।

प्रधानमन्त्रीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन नेकपाको प्रचण्ड–माधव पक्षका नेताहरु सरकारबाट बाहिरिएपछि बानियाँले मन्त्री बन्न पहल गरे । प्रधानमन्त्री ओलीले ८ जना मन्त्री र एक राज्यमन्त्री बनाउँदा पनि बानियाँ परेनन् । ‘माओवादीबाट आएका साथीहरुलाई सेटल गर्नुपर्ने भएपछि बाहिर परें,’ उनले भने ।

त्यतिबेला शपथ ग्रहणका लागि तयार भएर बसेका थिए । तर अन्तिम समयमा उनलाई टेलिफोन आएन । आफैंले तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई टेलिफोन गरेर बुझ्दा सरी भनेको उनले बताएका थिए । ‘दौरा सुरुवालै लगाएर बसेको त होइन, तर त्यस्तै त्यस्तै हो,’ बानियाँले भने ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन पद्धतितर्फ पिछडिएको क्षेत्रबाट निर्वाचित भएका उनी एमालेमा अध्यक्ष ओली पक्षका पुरानै नेता हुन् । बानियाँले कर्णाली पछाडि परेको ठाउँको प्रतिनिधि हुनाले आफू क्याबिनेट स्तरको मन्त्री हुनुपर्ने माग गर्दै आएका थिए । ‘क्याबिनेट स्तरको मन्त्री कर्णालीले पाउनुपर्छ भन्ने माग हो, समग्र कर्णालीबासीले यो माग गरेका हुन्,’ उनले भने ।

बानियाँले सरकारमा जानका लागि कुनै मन्त्रालय रोजेका थिएनन्, खाली कर्णालीको प्रतिनिधिको हैसियतमा सरकारमा जान पाउनुपर्छ भन्ने उनको माग थियो ।

अहिले सरकारमा जाने चाहना त पूरा भयो, तर समय उपयुक्त नभएको उनलाई अनुभूति भएको छ । ‘अलिकति काम गर्ने मौका भएको भए हुन्थ्यो । तर चुनावमा जानुपर्ने भयो । आफ्नो भिजन मिसन अनुसार काम गर्ने वातावरण सिर्जना हुँदैन,’ बानियाँले भने, ‘खाली मन्त्री बन्ने धोको त पूरा होला तर देशलाई राम्रो निकास दिने, आफूले सोचेको मिसन पूरा गर्ने सम्भावना कमै हुन्छ ।’

अनलाइनखबर

पूरा भयो मोहन बानियाँको मन्त्री बन्ने चाहना

कार्टुन

पूरा भयो मोहन बानियाँको मन्त्री बन्ने चाहना

अस्पतालबाट डिस्चार्ज भए कलाकार मदनकृष्ण श्रेष्ठ

Leave a comment

Your email address will not be published. Required fields are marked *