किन भयो मेयर घर्तीमाथी हातपात

जाजरकोट, १३ बैशाख ।

जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीलाई हातपात गरिएको छ । नेकपाका नेता एवम नगर प्रमुख घर्ती माथी शनिवार विहान सत्तारुढ नेकपाकै युवा दस्ता युवा संघ नेपालका जिल्ला संयोजक दिपेन्द्र शाहीसहितको एक समुहले मुक्का प्रहार गरेको हो । जिल्लाको भेरी नगरपालिका वडा नम्वर १० को फेराखोला स्थित भेरी किनारमा उक्त समूहले हातपात गरेको नेकपा जाजरकोटले जनाएको छ । सत्तारुढ नेकपाका कार्यकर्ता एवंम साविकको पुन्मा गाविसका अध्यक्ष मधु चन्दको मृत्युपछि उनको मलामी गएका नगर प्रमुख घर्तीलाई हातपात गरिएको नेकपा जाजरकोटका अध्यक्ष ढकवीर रानाले बताए ।


शाहीको समूहले गरेको मुक्का प्रहारबाट मेयर घर्तीको आँखा र मुखमा चोट लागेको अध्यक्ष रानाले बताए । नगर प्रमुख घर्ती पुर्व एमाले जाजरकोटका सचिव र अहिले नेकपाको कर्णाली प्रदेश समिति सदस्य हुन् । युवा संघका संयोजक शाही पुर्व एमाले निकट युवा संघ नेपाल जाजरकोटका पूर्व अध्यक्ष हुन् । शाहीले गाउँमा योजना पार्दा नगर प्रमुख घर्तीले पक्षपात गरेको भन्दै गुनासो गर्ने क्रममा भएको विवादमा मेयर घर्ती माथी हातपात भएको एक प्रत्यक्षदर्शीले बताए ।

योजना दिँदा आफुहरुले नपाएको र आफुहरु माथी अन्याय भएको गुनासो गर्ने क्रममा विवाद भएको उनले वताए । मेयर घर्तीलाई आक्रमण गर्नेहरुको खोजी भइरहेको जाजरकोट प्रहरी प्रमुख डिएसपी किशोरकुमार श्रेष्ठले बताए । उनले घटना बारे यथार्थ बुझ्न नगर प्रमुख घर्तीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको बताए । ‘मेयर सावले फोन उठाउनु भएन । घटना बारे यथार्थ जानकारी अझै आईसकेको छैन ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार