गोरुसिङ्गे जंगलमा मृत भेटिए कांग्रेस नेता एवं पुर्व मेयर किरण सिंह

कपिलवस्तु ,२४ साउन ।
नेपाली कांग्रेसका नेता एवं कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंह मृत भेटिएका छन् । शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन सिंह गोरुसिङ्गेको जंगलमा मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक दीपक कुँवरले जानकारी दिए ।
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। शुक्रबार दिउँसोबाट उनी सम्पर्कविहीन भएका थिए । तौलिहवा गोरुसिङ्गे सडक अन्तर्गत ढेकारी नजिकैबाट मोटरसाइकल शुक्रबार राति फेला परेको थियो ।
शुक्रबार साँझ ५:३० बजेतिर पूर्व मेयर सिंहले कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष जाहिद खानलाई फोन गरेको र सानो संवादसमेत भएको थियो। आफूसँग सिंहको साढे ५ बजेतिर सानो संवाद भएको र त्यसबारे प्रहरीलाई आफूले तत्कालै जानकारी गराएको वडाध्यक्ष खानले बताएका थिए ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोली र इलाका प्रहरी कार्यालय गोरुसिङ्गे टोलीले खोजी जारी राखेको थियो । शनिबार दिनभर पनि खोजी भएको थियो ।
८० जना सुरक्षाकर्मी परिचालन गरेर खोजी कार्य जारी राखिएको थियो । नेपाल प्रहरीको भैरहवाबाट ल्याएको कुकुरसमेत परिचालन गर्दा दिनभर अवस्था पत्ता लगाउन नसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको थियो ।
शुक्रबार दिउँसो ३:३० बजे तौलिहवाबाट जङ्गल क्षेत्रतर्फ एक्लै मोटरसाइकलमा गएको सीसीटीभी फुटेजले देखाएको थियो ।
यसैबीच नेपाली कांग्रेस कपिलवस्तुले कांग्रेस नेता सिंहको खोजी कार्य गर्नको लागि स्थानीय प्रशासन तथा अन्यलाई अपील गरी एक प्रेस विज्ञप्ति जारी गरेको थियो ।






