क्यान्सर उपचारका अत्यावश्यक औषधी अभाव खजुरामा बिरामीलाई उपचार नै प्रभावित हुने चिन्ता

बाँके, २४ साउन ।

 देशभर क्यान्सर उपचारमा अत्यावश्यक मानिने कार्बोप्लाटिन र सिस प्लाटिन औषधीको अभाव देखिन थालेपछि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत बिरामी प्रभावित हुने चिन्ता बढेको छ । किमोथेरापीमा नियमित प्रयोग हुने यी औषधी पर्याप्त मात्रामा उपलब्ध नहुँदा उपचारको निरन्तरतामै असर पर्ने जोखिम बढेपछि बिरामी र उनीहरूका आफन्त चिन्तित बनेका हुन् ।

अस्पतालमा दैनिक करिब तीन सय बिरामी उपचारका लागि पुग्ने गरेका छन् । बाँकेसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट रेफर भएर आउने क्यान्सर बिरामीको संख्या पनि बढ्दो छ । 

विशेषगरी पाठेघर, स्तन, फोक्सो, मिर्गौला, मूत्राशय तथा पुरुष प्रजनन अङ्गसम्बन्धी क्यान्सरका बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । तर पछिल्लो समय क्यान्सर उपचारका लागि अत्यावश्यक कार्बोप्लाटिन र सिस प्लाटिनको आपूर्ति नियमित नहुँदा बिरामी थप समस्यामा परेका छन् । आवश्यक औषधी अस्पतालबाट सहज रूपमा उपलब्ध हुन नसकेपछि कतिपय बिरामीका आफन्तले बाहिरबाट, विशेषगरी भारतबाट समेत औषधी ल्याउनुपर्ने बाध्यता रहेको बताएका छन् ।

औषधी बाहिरबाट खरिद गर्नुपर्दा उपचार खर्च थपिने मात्र होइन, औषधी समयमा नपाउँदा निर्धारित समयमा किमोथेरापी गर्न नसकिने चिन्ता पनि बिरामीमा बढेको छ । उपचारका लागि अस्पताल पुगेका बाजुराका बिरामीका आफन्त मनोज थापा भन्छन्, “किमोथेरापीका लागि आवश्यक औषधी अस्पतालमै पाइन्छ भन्ने आशा थियो । तर औषधी अभाव भएपछि बाहिर खोज्नुपर्ने अवस्था आयो । भारतबाट समेत औषधी ल्याउनुपर्ने भएपछि खर्च र झन्झट दुवै बढेको छ । समयमा औषधी नपाउँदा उपचार नै रोकिने हो कि भन्ने चिन्ता लागेको छ ।”

अस्पतालका अनुसार कार्बोप्लाटिन र सिस प्लाटिन क्यान्सर उपचारमा नियमित रूपमा प्रयोग हुने अत्यावश्यक औषधि हुन् । करिब तिन महिनादेखि यी औषधिको आपूर्तिमा समस्या देखिएको अस्पतालले जनाएको छ । बीचमा केही मात्रामा औषधि प्राप्त भए पनि बिरामीको मागअनुसार पर्याप्त हुन नसकेको अस्पतालको भनाइ छ ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेका सूचना अधिकारी डा. प्रविनकुमार गुप्ताका अनुसार औषधी आपूर्तिमा देखिएको समस्याका कारण अस्पतालमा मौज्दात पर्याप्त हुन सकेको छैन ।

डा. गुप्ता भन्छन्, “कार्बोप्लाटिन र सिस प्लाटिन क्यान्सर उपचारमा अत्यावश्यक औषधी हुन् । पछिल्लो करिब दुई महिनादेखि यसको आपूर्तिमा समस्या देखिएको छ । बीचमा केही परिमाणमा औषधी आए पनि बिरामीको मागअनुसार पर्याप्त हुन सकेको छैन । आपूर्ति सहज बनाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको छ ।”

क्यान्सरजस्तो जटिल रोगको उपचार लामो र खर्चिलो हुने भएकाले औषधी अभावले बिरामीलाई थप आर्थिक तथा मानसिक भार थपिने गरेको छ । नियमित किमोथेरापीको तालिका प्रभावित हुँदा उपचारको प्रभावकारितामै असर पर्न सक्ने भन्दै बिरामीका आफन्तले सरकार र सम्बन्धित निकायले औषधिको आपूर्ति तत्काल सहज बनाउनुपर्ने माग गरेका छन् ।

अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामी आर्थिक रूपमा कमजोर परिवारका समेत छन् । सरकारले विपन्न नागरिकका लागि उपचारमा सहायता उपलब्ध गराउँदै आए पनि अस्पतालमा आवश्यक औषधि नै उपलब्ध नहुँदा उपचार प्रक्रियामा समस्या देखिनु थप चुनौती बनेको छ ।

लुम्बिनी प्रदेश सरकारले क्यान्सर बिरामीका लागि स्वास्थ्य बीमा, विपन्न नागरिक सहायता कार्यक्रम तथा प्रदेश सरकारमार्फत गरी कुल चार लाख रुपैयाँसम्मको उपचार सुविधा उपलब्ध गराउँदै आएको छ । उपचार खर्चमा सरकारी सहायता भए पनि आवश्यक औषधी समयमै उपलब्ध नहुँदा बिरामीले थप रकम खर्च गरेर बाहिरबाट औषधी किन्नुपर्ने अवस्था आएमा सरकारी सहयोगको प्रभावकारितामै प्रश्न उठ्ने अवस्था देखिएको छ ।

क्यान्सर उपचारमा औषधिको नियमितता अत्यन्त महत्वपूर्ण हुने भएकाले कार्बोप्लाटिन र सिस प्लाटिनको आपूर्ति तत्काल सहज बनाउनुपर्ने माग बढेको छ । बिरामीलाई उपचारका लागि अस्पतालसम्म ल्याएर औषधि अभावकै कारण उपचार प्रभावित हुने अवस्था आउन नदिन संघ, प्रदेश र अस्पताल प्रशासनबीच प्रभावकारी समन्वय आवश्यक देखिएको छ ।

सम्बन्धित निकायले औषधीको अभाव, आपूर्ति प्रणालीमा देखिएको समस्या र समाधानका लागि भइरहेको पहल सार्वजनिक गर्दै बिरामीले निर्धारित समयमा आवश्यक औषधी पाउने सुनिश्चितता गर्नुपर्ने देखिन्छ । क्यान्सरजस्तो संवेदनशील रोगको उपचारमा औषधी अभाव केवल व्यवस्थापकीय समस्या नभई बिरामीको उपचार र जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसको दीर्घकालिन समाधानतर्फ समेत ध्यान दिनुपर्ने आवश्यकता छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *