लैंगिक हिंसापीडितलाई एकद्वार सेवा

सुर्खेत : कुनै पनि हिंसाबाट पीडित भएकाहरुलाई जिल्लास्थित स्वास्थ्य संस्थाहरुले एकद्वार प्रणालीबाट सेवा दिने व्यवस्था मिलाइएको छ । नेपालका ६६ जिल्लाका ६८ वटा अस्पतालहरुले एकद्वार प्रणालीबाट सेवा हिंसापीडितहरुलाई सेवा दिने गरिएको हो । सुर्खेतमा प्रदेशस्थित अस्पतालबाट सेवा दिने गरिएको छ ।

विहीवार किर्डाकले आयोजना गरेको जिल्लास्तरीय अभिमुखीकरणमा हिंसापीडितलाई एकैठाउँबाट सवै सेवा दिन यो प्रणाली अपनाइएको जानकारी दिइएको थियो । प्रदेश अस्पतालका एकद्वार संकट व्यवस्थापन समितिका फोकलपर्सन कल्पना थापाले विभिन्न हिंसाबाट पीडि भएर उपचारमा आउने सेवाग्राहीका लागि यो प्रणाली निकै सहज भएको बताइन् ।

उनले कर्णाली प्रदेशमा प्रदेश अस्पतालसँगै जुम्ला, मुगु, कालीकोट, दैलेख र डोल्पा जिल्लामा पनि यो प्रणाली लागू गरिएको छ । ती जिल्लाबाट थप सेवाका लागि प्रदेश अस्पताललाई रेफर गर्ने गरिएको छ ।

एकद्वार सेवाका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा सल्लाहकार समिति, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला समन्वय समिति र मेडिकल अधिकृतको संयोजकत्वमा लैंगिक हिंसा पीडित मामला व्यवस्थापन समिति रहेको छ । यही समितिबाट निर्णय गरी हिंसापीडितलाई एकद्वार प्रणालीबाट सेवा दिने गरिएको थापाले बताइन् ।

लैंगिक हिंसापीडितहरु उपचारमा आएपछि यही प्रणालीबाट सेवा दिने गरिएको उनको भनाइ छ । प्रदेश अस्पतालमा धेरैजसो शारीरिक हिंसा, मानसिक हिंसा, बैबाहिक बलात्कार, घरेलु हिंसा, सामूहिक बलात्कार, जबर्जस्ती विवाह, अधिकारबाट बञ्चितजस्ता हिंसाबाट प्रभावित भएकाहरु सेवा लिन आउने गरेको जानकारी थापाले दिइन् ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीले लैंगिक हिंसाबाट पीडित भएकाहरु उपचार सेवा लिनबाट पनि बञ्चित हुने गरेको बताइन् । उनले २२ प्रतिशत महिला १५ वर्षको उमेर समूहमै शारीरिक हिंसा भोग्नुपरेको, २६ प्रतिशत विवाहित महिला श्रीमानबाट हिंसा भोग्नुपरेको, २२ प्रतिशत महिलालले मात्रै हिंसाविरुद्ध आवाज उठाउने गरेको तथ्यांक प्रस्तुत गरिन् ।

नेशनल हेल्थ डेमोग्राफिक सर्वे २०१६ को तथ्यांक अनुसार ६६ प्रतिशत महिलाले भोगेको हिंसा कसैलाई नभन्ने र सहयोग नमाग्ने, ६७ प्रतिशत महिला हिंसाबाट प्रभावित हुने गरेको, ९१ प्रतिशत महिलालाई बैवाहिक बलात्कारवारे थाहै नभएको, २५ प्रतिशतलाई हिंसाप्रभावितलाई उपचार हुन्छ भन्ने जानकारी भएको पाइएको जानकारी उनले दिइन् ।

किर्डाक प्रदेश व्यवस्थापक नवीन शाहीले किर्डाकले विशेषगरी महिला, बालबालिकाहरुको हक अधिकार, सशक्तिकरणका पक्षमा काम गर्ने जानकारी दिए । किर्डाकका अधिकृत किरण पौडेलपनि सहजीकरण गरेका थिए । अभिमुखीकरणमा जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीलगायत विभिन्न पालिकाका स्वास्थ्य शाखाका प्रमुख, मनोविमर्शकर्ता तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो ।

लैंगिक हिंसापीडितलाई एकद्वार सेवा

किशोर र रेश्मा ‘हर्के हवल्दार’ मा फर्किए 

लैंगिक हिंसापीडितलाई एकद्वार सेवा

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *