प्रस्तावित स्मार्ट सिटीमा सडकको बेहालले सास्ती

दैलेख । संघीय सरकारले दुल्लुलाई ‘स्मार्ट सिटी’ बनाउने निर्णय गरिसकेको छ । गत चैत्र २५ गते बसेको मन्त्रिपरिषद् बैठकले दैलेखको दुल्लुसहित नेपालका १२ स्थानलाई स्मार्ट सिटी बनाउने निणर्य गरेको थियो । तर सामान्य विकाससमेत नहुँदा स्मार्ट सिटी बन्ने सपना बोकेका दुल्लु क्षेत्रका स्थानीयले भने अहिले सडककै कारण सास्ती भोग्नु परेको छ ।
कतै सडक निर्माणको काम अलपत्र परेको छ । कतै सडक स्तरोन्नतिमा नगरपालिकाले चासो दिएको छैन । सबैभन्दा बढी सास्ती अहिले दुल्लु बजार क्षेत्र, किर्तिखम्ब चोकदेखि पटांगिनी दुल्लु संग्राहालय हुँदै घियातिदुस्थित मध्यपहाडी राजमार्गसम्म जोड्ने सडकमा छ । सडकमा ठूल्ठुला खाल्डा बनेका छन् । पानी पर्दा हिलो र घाम लाग्दा धुलोले स्थानीयले सास्ती खेप्नु परेको हो ।
यो सास्ती खेप्न थालेको बर्षौं बितिसकेको स्थानीयको गुनासो छ । दुल्लुका स्थानीय कृष्णप्रसाद आचार्य भन्छन्,‘नगरपालिकाले सडक स्तरोन्नतिमा चासो नदिँदा नागरिकहरुले सास्ती बेहोर्नु परेको छ ।’ सडक सुधार नहुनुमा नगरपालिकाको चरम लापरबाही रहेको आचार्यको भनाइ छ । हिलाम्य सडकका कारण पैदल यात्रुले सास्ती बेहोर्नु परेको र सवारी साधन सञ्चालनमा कठिनाई भएको स्थानीय जीतेन्द्र थापाले बताए ।
‘नगरपालिका, प्रदेश सरकार र संघीय सरकारको चरम लापरबाहीका कारण दुल्लु क्षेत्रको परिचय नै हिलाम्य र खाल्डे सडक बनेको छ’ थापाले भने,‘सडक सुधार नुहँदा दुल्लु क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले सास्ती खेप्नु परेको छ ।’ त्यसबाहेक दैलेख सदरमुकामबाट गमौडी हुँदै दुल्लु जोड्ने, माथिल्लो डुङ्गेश्वदेखि बैक बजार हुँदै दुल्लु जोड्ने, तल्लो डुङ्गेश्वरबाट रातामाटे हुँदै दुल्लु बजार जोड्ने सडकमा खाल्डाखुल्डी र हिलाम्य छ । दुल्लुका विभिन्न वडा जोड्ने कच्ची सडकहरुमा समेत सवारी साधन सञ्चालनमा कठिनाइ भईरहेको थापाको गुनासो छ ।
प्रदेश र संघीय सरकारबाट सडक स्तरोन्नतिको काम थालनी भएपछि नगरपालिकाले बजेट नछ्ट्याएको दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बताए । अहिले सबैभन्दा बढी सास्ती भएको घियातिदुदेखि दुल्लु संग्राहालय, पटांगिनी हुँदै दुल्लु बजार क्षेत्र, किर्तिखम्ब चोकसम्मको सडक स्तरोन्नतिको पक्रिया आर्थिक बर्ष ०७६/०७७ बाटै थालनी गरिएपछि पुरा हुन सकेको छैन । पूर्वाधार विकास कार्यालय दैलेखबाट आर्थिक बर्ष ०७६÷०७७ मा उक्त सडक स्तरोन्नतिका लागि १० करोडको ठेक्का खोली सबै प्रक्रिया पुरा गरेपछि पछि रद्द गरिदिएको नगर प्रमुख भण्डारीले बताए ।
‘पूर्वाधार विकास कार्यालयबाटै गत आर्थिक बर्षमा नौ करोड बराबरको ठेक्का पक्रिया पुरा भएको छ, तर अहिलेसम्म काम सुरु हुन सकेको छैन’ नगर प्रमुख भण्डारीले भने । दुल्लुलाई स्मार्ट सिटी बनाउने घोषणा गरेको संघीय सरकारले चालु आर्थिक बर्षमा बजेट व्यवस्था नगरेको नगर प्रमुख भण्डारीको गुनासो छ । दुल्लु बजारस्थित पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुने किर्तिखम्ब चोक क्षेत्रको सडक स्तरोन्नतिको लागि ठेक्का भई कर्मठ किसान कन्ट्रक्सनले जिम्मा लिएर अलपत्र पारेको नगरप्रमुख भण्डारी बताए ।
शहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन ईकाइ सुर्खेतका ईन्जिनियर गोकर्ण थापाका अनुसार उक्त स्थानको सडक स्तरोन्नतिका लागि ३६ लाख रुपैयाँमा कर्मठ किसान कन्ट्रक्सनसँग सम्झौता गरिएको थियो ।






