स्वास्थ्य पूर्वाधार र विशेषज्ञ सेवामा अब्बल बन्दै कर्णाली

देवबहादुर राना

सुर्खेत । कुनैदिन सुर्खेतस्थित प्रदेश अस्पताल आफै विरामी थियो । पूर्वाधार र जनशक्तिको चरम अभाव थियो । यो अस्पतालले नेपालगञ्जको भेरी अस्पतालमा विरामीहरु रिफर गर्नुपथ्र्याे । एनआईसीयू, आईसीयू र भेन्टिलेटर जस्ता अत्यावश्यक उपकरण नै थिएनन् ।
गम्भीर विरामीले उपचार नै नपाएर ज्यान गुमाउनुपर्ने अवस्था थियो । उपचार गर्नसक्नेहरु नेपालगञ्ज र काठमाडौँ कुद्थे । चार बर्षअघिसम्म यो अस्पतालको हालत यस्तै थियो ।तरस्थापनाको ४८ बर्षपछि यो अस्पतालको स्वरुप नै फेरिएको छ । जनशक्ति र पूर्वाधारको पहिले जस्तो अभाव छैन । ठूलाभवनबाट विशेषज्ञ डाक्टरहरुले सेवा दिने वातावरण बनेको छ ।
अहिले अस्पतालमा चिकित्सकसहित तीनसय ६८ जना जनशक्ति कार्यरत छन् । तिमध्ये चिकित्सक मात्रै ४० जना छन् । एकसय १६ जना नर्सिङ स्टाफहरु र २९ जना प्राविधिक र एकसय ८३ जना स्वास्थ्यकर्मी तथा प्रशासनका कर्मचारीहरु कार्यरत छन् । गम्भीर विरामीको उपचारका लागि अत्याधुनिकसेवा मानिने ३५ बेड आईसीयू र आठ बेड भेन्टिलेटर छन् । यो अस्पतालमा जनशक्ति र पूर्वाधारमा कायापलट हुनुको एउटै कारण कर्णाली प्रदेश सरकारको लगानी हो ।
अस्पताल प्रदेश सरकार मातहत आउनुपूर्व अस्पतालको वेहाल नै थियो । २०७५ कात्र्तिक १३ गतेदेखि अस्पताल प्रदेश सरकार मातहतमा आयो । अहिले अस्पतालमा कार्यरत तीनसय ६८ जनामध्ये दुईसय ९४ जना जनशक्ति प्रदेश सरकार र अस्पताल विकास समितिले करारमा भर्ना लिएका कर्मचारीहरु छन् । सरकारले अस्पताललाई सुविधा सम्पन्न बनाउन कुनै कसर बाँकी राखेको छैन ।

उपचार सेवालाई प्रभावकारी बनाउन सरकारले विशेषज्ञ सेवा सञ्चालनका लागि मात्रै बार्षिक साढे दुई करोड रकम उपलब्ध गराउँदै आएको छ । सोही बजेटबाट अस्पतालले विशेषज्ञ चिकित्सदेखि सुरक्षागार्डसम्मका कर्मचारीहरु व्यवस्थापन गरेको छ ।केन्द्र सरकार मातहतमा हुँदा मुश्कीलले बार्षिक १२/१३ करोड बजेट प्राप्त गर्ने अस्पतालमा प्रदेश सकारले बजेटको ओइरो नै लगाएको छ ।
०७५/०७६ मा ५७ करोड बजेट विनियोजना गरेको प्रदेश सरकारले ०७६/७७ मा त्यसलाई बढाएर ७५ करोड पु¥याएको थियो । चालु आर्थिक बर्षमा मात्रै प्रदेश सरकारले अस्प्तालका लागि पौने एक अर्ब अर्थात ८७ करोड बजेट विनियोजना गरेको छ । सबै प्रकारका विरामीलाई प्रदेशमै सेवा दिनेगरी सरकारले अस्पतालको स्तरोन्नति गरेको छ । एकसय शैयाबाट बढाएर अस्पताललाई तीनसय शैयामा सञ्चालन गरिएको छ ।
पूर्वाधार र जनशक्तिमा अब्बल भएपछि अस्पतालमा हाल जटिल प्रकृतिका उपचार सुरु भएको छ ।नाक, कान, घाँटीको अप्रेशन, टाउकोमा रगत जमेको, मासु पलाएको, मेरुदण्ड, ठूलठूला घाउको अप्रेशन, टेलिमेडिसियन, फिस्टुला, दुरुविनबाट पित्तथैलीको अप्रेशन,डाईलाशिस, पथ्थरीको उपचार, अत्याधुनिक एक्सरे जस्ता सेवाहरु अस्पतालबाटै सम्भव भएका छन् ।
दुर्गमका विरामीलाई ध्यानमा राखी प्रदेश अस्पतालबाटै टेलिमेडिसियन सेवा सुरु गरिएको छ । हाल दैनिक ६÷७ जना विरामीलाई टेलिमेडिसियनबाट उपचार गर्दै आएको प्रदेश अस्पताल सुर्खेतका सूचना अधिकारी डाक्टर विकास केसीले जानकारी दिए ।
दुर्गममा आईसीयू र भेन्टिलेटर

विशेषज्ञ सेवाहरु थपिएपछि कर्णालीका विरामीहरुलाई नेपालगञ्ज, काठमाडौँ र भारतको लखनउसम्म जानुपर्ने बाध्यता हटेको छ ।प्रदेश अस्पताल मात्रै होइन,कर्णाली प्रदेश सरकारले सिंगो प्रदेशकै स्वास्थ्य पूर्वाधारमा लगानी बढाएको छ ।
कुनैबेला दुर्गममा सिटामोल पनि नपाउने अवस्था रहेको कर्णालीका सबै जिल्लामा हाल आईसीयू र भेन्टिलेटर व्यवस्थापन गरिएको छ । त्यतिमात्र होइन, जिल्ला अस्पतालहरुमा अत्यावश्यक अक्सिजन पनि उपलब्ध हुन थालेको छ । प्रदेशभर हाल ९४ बेड आईसीयू र ३५ बेड भेन्टिलेटर उपलब्ध छन् ।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा शाखा अधिकृत नवराज कँडेलका अनुसार हाल डोल्पामा दुई, हुम्लामा तीन, कालिकोटमा आठ, दैलेखमा २४, जाजरकोटमा पाँच, रुकुपश्चिममा चार, सल्यानमा पाँच बेड आईसीयू बेडहरु छन् ।
त्यस्तै डोल्पा, हुम्ला, रुकुमपश्चिम, जाजरकोटमा एक/एक, कालिकोटमा चार, दैलेखमा र सल्यानमा दुई÷दुई बेड भेन्टिलेटर बेड छन् । यसरी प्रदेश सरकारको लगावका कारण कुनै समय सिटामोलसमेत नपाइने मुगु, हुम्ला, डोल्पा र जाजरकोट जिल्लाहरुमा अहिले भेन्टिलेटर र आईसीयू सेवा पुगेको छ । प्रदेश सरकारले स्वास्थ्य पूर्वाधारमा लगानी गरेकै कारण स्वास्थ्य क्षेत्रले काँचुली फेर्न थालेको हो ।
प्रदेश सरकारको लगानीले फेरियो अस्पतालको मुहार

प्रदेश अस्पताल सुर्खेतले पनि प्रदेश सरकारले लगानी बढाएकै कारण अस्पतातलाई अब्बल बनाउन सफल भएको बताएको छ । ‘प्रदेश सरकार मातहतमा आएपछि अस्पतालको समग्र स्वरुप नै फेरिएको छ’ अस्पतालका निर्देशक डाक्टर डम्बर खड्का भन्छन्, ‘हामीले कर्णालीका कुनै पनि विरामीलाई रिफर गर्नु नपर्नेगरी सेवा दिने प्रयास गरिरहेका छौं ।’
प्रदेश सरकारले लगानी अभाव हुन नदिएपछि भौतिक संरचनाको उचित व्यवस्थापन, अत्याधुनिक उपकरण र आवश्यक जनशक्तिको व्यवस्थापन सम्भव भएको खड्काको भनाइ छ । ‘प्रदेश सरकारले विशेषज्ञ सेवाको लागि बजेट नदिएको भए कर्मचारी व्यवस्थापन गर्न सम्भव थिएन’ उनले भने, ‘विशेषज्ञसेवाका लागि बार्षिक साढे दुई करोड बजेट दिएकै कारणडाक्टरदेखि सुरक्षागार्डसम्मका जनशक्ति व्यवस्थापनमा सहज भएको हो ।’
प्रदेश सरकारले लगानी बढाएकै कारण भिडियो एक्सरे/सिटिस्क्यान, मेमोग्राफी, एक्सरे, फिजियोथेरापी लगायतका सेवा विस्तार गर्न सफल भएको उनले बताए । प्रदेश सरकारको लक्ष्य अनुसार नै अस्पताललाई शिक्षण अस्पतालका रुपमा विकास गर्ने योजना रहेको छ ।
हालको नयाँ भवनको तला थप गरेर शिक्षण अस्पतालका लागि पूर्वाधार तयारी गर्ने अस्पतालले जनाएको छ । तीनसय शैयाको रुपमा सञ्चालित अस्पताललाई आगामी दिनमै पाँचसय शैयामा विस्तार गर्ने लक्ष्य राखिएको छ ।
आधारभूत स्वास्थ्य सेवा दैलोमै पु¥याइँदै

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले आधारभूत स्वास्थ्य सेवा नागरिककोदैलोमै पु¥याउने बताएका छन् । जसका लागि तत्कालीन रुपमा कोरोना नियन्त्रणका लागि परीक्षणको दायरा बढाउने र दीर्घकालका लागि अस्पताहरुको स्तरोन्नति र जनशक्तिको व्यवस्थापन गर्ने सरकारी लक्ष्य छ ।
‘स्वास्थ्य सेवालाई सर्वसुलभ र सबैको पहुँचमा पु¥याउने गरी बजेट ल्याएका छौं’ मन्त्री बुढाले भने, ‘कुनै पनि विरामीले अब उपचारको अभावमा ज्यान गुमाउनुपर्दैन, अब नागरिकको दैलोमै स्वास्थ्य सेवा पु¥याउँछौँ ।’ नागरिकको घरदैलोमै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले टेलिमेडिसियन सेवा र हेलिकोप्टरबाट उद्दार गर्दै आएको उनको भनाइ छ । टेलिमेडिसियन सेवा दुर्गमका विरामीको उपचारका लागि प्रभावकारी देखिएपछि यसको थप विस्तार गर्ने लक्ष्य राखिएको हो ।
त्यस्तै प्रभावकारी उपचारका लागि पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापन गर्ने सरकारको रणनीति छ । यही उद्देश्यले आगामी आर्थिक बर्षमा हिमाली जिल्लाका अस्पतालहरुलाई ५० शैया र पहाडि जिल्लाका अस्पताललाई एकसय शैयाका रुपमा विस्तार गर्ने मन्त्री बुढाक्षेत्रीले बताए ।
आगामी आर्थिक बर्षभित्रमै प्रदेश अस्पताल सुर्खेतलाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने, हरेक जिल्लाहरुमा सरुवा रोग अस्पताल, अक्सिजन प्लान्टको स्थापना, आइसीयू र भेन्टिलेटरको सञ्चालनका लागि जनशक्ति गर्ने उनको दाबी छ ।
कर्णालीको समग्र स्वास्थ्य क्षेत्रको सुधार र कोरोना महामारीबाट नागरिकको जीवन रक्षा गर्ने उद्देश्यले बजेट ल्याएको छ ।वीरेन्द्रनगरमा उच्च क्षमताको अक्सिजना प्लान्ट, सबै जिल्ला अस्पतालहरुमा मिनी अक्सिजन प्लान्ट सञ्चालन गर्ने, जिल्ला अस्पतालहरुमा कम्तिमा एउटा मेन्टिलेटरसहित पाँच बेडको आईसीयुकक्षको सञ्चालन गर्ने लक्ष्य राखेको छ ।
स्वास्थ्य क्षेत्र सुधार्न साढे दुई अर्ब बजेट
कर्णालीको स्वास्थ्य क्षेत्रमा सुधार गर्न प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि साढे दुई अर्ब बजेट छुट्याएको छ । अत्यावश्यक जनशक्ति, सुरक्षा सामग्री, औजार, औषिध, प्रयोगशाला र अक्सिजनको सहज आपूर्ति जस्ता स्वास्थ्य सेवा सुदृढिकरणका लागि दुई अर्ब ६१ करोड बजेट छुट्याएको छ ।
जसमध्ये सुर्खेतको प्रदेश अस्पताल लागि मात्रै झण्डै १४ करोड बजेट छुट्याएको छ । अस्पतालमा एमआरआई उपकरण खरिद र अन्य मेडिकल औजार तथा उपकरण खरिदको लागि १३ करोड ९५ करोड बजेट छुटएको हो ।
प्रदेशले आफ्नै जनस्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन लागि तीन करोड ३५ लाख बजेट विनियोजना गरेको छ । कोरोना नियन्त्रणका लागि मात्रै ५३ करोड ९३ लाख बजेट विनियोजन गरिएको छ । कर्णालीका स्वास्थ्यकर्मी आकर्षित गर्नका लागि भत्ता कार्यक्रमलाई निरन्तरता दिने र कोराना महामारी नियन्त्रणमा खटिने सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई तलवको शतप्रतिशत जोखिमभत्ता दिने घोषणा सरकारले गरेको छ ।







