ज्वाला सङ्ग्रौलालाई थप पाँच दिन थुनामा राख्न अनुमति

काठमाडौं । प्रहरी हिरासतमा रहेकी सामाजिक अभियन्ता दाबी गर्ने ज्वाला संग्रौलासहित उनको समूहलाई थप पाँच दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ ।
अनुसन्धानको लागि पाँच दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले शुक्रबार अनुमति दिएको हो । अभद्र व्यवहारको कसुरमा पक्राउ परेकी संग्रौलासहितको समूहमाथि अनुसन्धान गर्न तीन दिनको समय कम भएपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट थप पाँच दिन थप्न लगाएको हो ।
युवा संघमा आवद्ध संग्रौलाकी पहिलेकै साथी खुश्बु नविता घिमिरेलाई कुटपिट गरेको जाहेरीका आधारमा उनको समूहलाई प्रहरीले पक्राउ गरेको हो । संग्रौलासहित उनको समूहका केहीले जेठ १४ गते खुश्बुलाई कुटपिट गरेको किटानी जाहेरीमा उल्लेख छ ।
असार ६ गते संग्रौलासहित हिमाल उपाध्याय र शर्मिला वाइबालाई प्रहरीले आइतबार पक्राउ गरेको थियो ।
संग्रौलासहित उनको समूहले अघिल्लो महिना महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मणिकान्त झामाथि रंगभेदी दूर्व्यवहार गरेका थिए। उक्त घटनाका विषयमा समेत छानबिन हुने प्रहरीले जनाएको छ ।






