बाढीपहिरो र डुबानबाट ८८ को मृत्यु पुष्टि, ३० बेपत्ता

काठमाडौं । बेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट बिहीबार बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कुल ३० जना बेपत्ता भएका छन् । अधिकांशको पहिराका कारण ज्यान गएको हो। आज मात्रै ११ जनाको मृत्यु पुष्टि भएको छ । यसअघि बुधबार ६३ र मंगलबार १४ को मृत्यु पुष्टि भएको थियो। विपद्मा परेर पाँचथरमा मात्रै सबैभन्दा बढी २७ जनाको मृत्यु भएको छ।इलाम र डोटीमा १३(१३ जनाको मृत्यु भएको छ ।
यस्तै, कालीकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्युठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुरलगायत १५ जिल्लामा मानवीय क्षति भएको महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिए। विपद्बाट २० जिल्ला प्रभावित भएको छ। बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् ।
पाँचथरमा चारसहित विभिन्न जिल्लामा गरेर ३० बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ।आजबाट भने मौसममा सुधार आएको छ ।






