रोजगारीको आसमा बेचिइन्छन् महिला

काठमाडौं । पारिवारिक अवस्था सामान्य भएकी सिन्धुपाल्चोककी २३ वर्षीया अनिता (नाम परिवर्तन) रोजगारीको खोजीमा थिइन् । फेसबुकमा एकदिन नचिनेका मानिसको फ्रेन्ड रिक्वेष्ट आयो। केही दिनमै कुराकानी पनि हुन थाल्यो ।

रोजगारीको खोजीमा रहेकी अनितालाई खान बस्न पैसा नलाग्ने भन्दै काठमाडौंको कोटेश्वरमा रहेको दिव्य लक्ष्मी गेस्टहाउसमा वेटरको काममा लगाइयो । हुँदाहुँदै उनलाई यौन धन्दातर्फ धकेलियो । अनिताले प्रहरीमा जाहेरी दिइन्। उनलाई यौन धन्दामा लगाउने प्रिया क्षेत्री र विमला विकलाई प्रहरीले पक्राउ गर्‍यो ।

सिन्धुपाल्चोक घर भएकी २५ वर्षीय मीरा (नाम परिवर्तन) पनि रोजगारीकै खोजीमा थिइन् । फेसबुकमार्फत चिनजान भएका एक व्यक्तिले महिलाका लागि रोजगारीको राम्रो अवसर भएको र मासिक १ लाख रुपैयाँभन्दा धेरै कमाइ हुने भन्दै विदेश जान प्रोत्साहन गरे। मीराको पासपोर्ट बनाउन पनि सहयोग गरे ।

ती व्यक्तिले मीरालाई काठमाडौंबाट नेपालगन्जसम्मको गाडीको टिकट आफैंले काटिदिए। विभिन्न प्रलोभनमा पारेर रुपैडिहा हुँदै मीरालाई भारतको नयाँदिल्ली पुर्‍याए । मीरालाई आफूसँगै दिल्ली पुगेको अर्को मानिस सामू सुम्पिएर ती व्यक्ति बेपत्ता भए। अर्को मानिसले मीरालाई नयाँ दिल्लीबाट चेन्नई र त्यहाँबाट मलेसिया हुँदै मीरालाई श्रीलङ्कासम्म पुर्‍याए ।

श्रीलङ्कामा रहेका सिकार खान र आलोक खानले रिसिभ गरी त्यहाँस्थित तालदुवामा बाहिर जानसमेत नदिई बन्धक बनाएर राखे। पछि श्रीलंका प्रहरीले जाँच गर्दा उनको प्रवेशाज्ञा (भिसा) नभएका कारण त्यहाँको जेलमा १० महिनासम्म थुनिदियो। त्यस अवधिमा उनलाई घरपरिवारसँग सम्पर्क गर्न पनि दिइएन ।

श्रीलङ्कास्थित नेपाली दूतावास र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय समेतको सहयोगमा मीरालाई २०७७ मंसिर ३० गते नेपाल फर्काइयो । वैदेशिक रोजगारीको सिलसिलामा कुवेत लैजाने भन्दै श्रीलंका लगेर अलपत्र पार्ने ‘सुवेदी कान्छो’ भनिने खेमबहादुर सुवेदीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरिसकेको छ ।

हाल बर्दियाको बढैयाताल गाउँपालिका–३ घर भएका सुवेदीलाई पुर्ख्यौली घर पर्वतको कुश्मा नगरपालिका–२, खुर्कोटको नयाँपुलबाट पक्राउ गरिएको थियो ।  दुबई लैजाने आश्वासन दिएर मीरालाई भारतमै ३ लाख ५० हजार रुपैयाँमा बेचिएको खुल्यो। ४५ दिनसम्म बन्धक बनाएर उनीमाथि चरम यौनशोषण गरियो ।

दार्जिलिङका व्यक्तिको सहयोगमा भाग्न सफल भएपछि मीराले प्रहरीमा उजुरी गरिन्। सोही जाहेरीका आधारमा बेचबिखन गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो । यी त प्रतिनिधि घटना मात्रै हुन्। यसरी विभिन्न वहानामा महिलाहरु बेचबिखनमा पर्ने गरेका छन्। पछिल्लाे तीन वर्षमा २ सयभन्दा बढी महिलाको उद्धार गरिएको छ ।

मानव बेचविखन अनुसन्धान ब्यूरोका अनुसार आ.व.२०७५/७६ मा बेचबिखनमा परेका १ सय १२ जना महिलाको उद्दार गरिएको छ । ०७६/७७ मा ६९ र ०७७/७८ मा ४७ महिलाको उद्धार गरिएको ब्यूरोले जनाएको छ । केही समय अघिसम्म बेचबिखनमा पर्नेमा महिला, ग्रामीण भेगका बढी हुने गर्थे। तर, अहिले यसको स्वरूप परिवर्तन भएको छ ।

सामाजिक सञ्जालबाट चिनजान भएकाको भर पर्दा शिक्षित र सम्पन्न परिवारका मानिस पनि बेचबिखनमा पर्ने गरेको ब्यूरोकी निर्देशक नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी दुर्गा सिंह चन्दले बताइन् । बेचबिखनमा पर्नेमा सामाजिक सञ्जालको सामान्य चिनजान तथा आफन्तबाट बेचिने गरेको उनी बताउँछिन् ।

ब्यूरोले प्रहरीमा परेको उजुरी तथा जानकारीको आधारमा अनुसन्धान गर्ने गरेको छ । समाजमा भइरहेका मानव बेचबिखन तथा ओसारपसार र मानव तस्करीका घटना र तिनका कारण, वैदेशिक रोजगारीका क्रममा हुने बेचबिखन, यौनशोषण, श्रम शोषण लगायतका क्षेत्रमा ब्यूरोले काम गर्दै आएको छ ।

रोजगारीको आसमा बेचिइन्छन् महिला

युरोकप : पोर्चुगलविरुद्ध जर्मनीलाई जित्नैपर्ने दबाब

रोजगारीको आसमा बेचिइन्छन् महिला

देउवाले भने- फेरि सभापतिमा लड्छु

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!