उपचारमा अब्बल बन्दै कर्णाली प्रतिष्ठान, घाँटीको जटिल शल्यक्रिया सफल
सुर्खेत । पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्लाले एकपछि अर्को सफलता प्राप्त गर्दै गएको छ । सबै खालका जटिल शल्यक्रिया सफल गरेर बिरामीको विश्वास जित्दै गएको प्रतिष्ठानले पहिलोपटक जुम्लामै घाँटीको मेरुदण्डको जटिल शल्यक्रियामा समेत सफलता प्राप्त गरेको छ ।
कोरोना महामारीमा उत्कृष्ठ काम तथा सेवा प्रवाह गर्दै गएको प्रतिष्ठानले स्थानीय एक युवकको घाँटीको मेरुदण्डको जटिल शल्यक्रिया गरेको हो । जुम्ला तिला गाउँपालिका ७ का २० वर्षीय लोकबहादुर रोकाया कामको सिलसिलामा २ तले घरको भ¥याङ्गबाट खस्दा घाँटीमा गम्भीर चोट लागेको थियो ।
गम्भीर चोटबाट सिकिस्त बिरामीपछि उपचारार्थ भर्ना भएका रोकायालाई प्रतिष्ठानको हाडजोर्नी तथा नशा रोग विभागले आवश्यक तयारी गरी जटिल शल्यक्रिया सुरु गरेको थियो । पहिलोपटक प्रतिष्ठानका डाक्टरहरुबाट यस्तो जटिल शल्यक्रिया सफल भएपछि बिरामी लोकबहादुरको परिवार तथा कर्णालीवासीमा खुसी छाएको छ ।
उक्त शल्यक्रिया प्रतिष्ठानका सहप्राध्यापक तथा हाडजोर्नी विभाग प्रमुख डा. पुजनकुमार रोकाया नेतृत्वमा डा. तुलाकृष्ण गुप्ता, डा. रमेश भट्टराई, डा. अर्जुनप्रसाद तिवारी, डा. निराजन महासेठलयायतको टिमले गरेको हो ।
यसअघि कर्णालीवासी घाँटीको समस्याको उपचारका लागि लाखौं खर्च गरेर काठमाडौं तथा भारतसम्म धाउनु पर्ने बाध्यता थियो । अब प्रतिष्ठानमै शल्यक्रिया हुने भएपछि स्थानीयलाई आर्थिक भारसमेत घट्ने भएको छ ।
सफल शल्यक्रियापछि डा. पुजनकुमार भन्नुहुन्छ, ‘कोरोना महामारीबीच चुनौतीका साथ हामी उपचारमा लाग्यौं र सफलता पनि प्राप्त गर्यौं ।’ उहाँले जटिल शल्यक्रियामासहयोग गर्ने ओ.टी विभागको सम्पूर्ण टिम, एनेस्थेसिया तथा आई.सी.यू विभागको सम्पूर्ण टिम, रेडियोलोजी विभागको टिम तथा हाडजोर्नी विभागका ससबै टिमलाई धन्यवाद पनि दिनुभएको छ ।
बिरामीमा गम्भीर चोर लागेर समयमै अप्रेशन नगर्दा भविष्यमा हातखुट्टा बाङ्गो भई काम गर्न गाह्रो हुने तथा अपांगसमेत हुने हुँदा कोरोना महामारीबीच पनि प्रतिष्ठानको हाडजोर्नी विभागले शल्यक्रिया सुचारु गरेको उहाँले बताउनुभयो ।
कोरोनाको दोस्रो लहरका कारण निषेधाज्ञाबीच गएको वैशाख २२ पछि प्रष्ठिानमा ३८ जना बिरामीको हाडजोर्नीको सफल शल्यक्रिया गरिएको छ । जसमध्ये ११ जना कालिकोट र २७ जना जुम्लाका हुनुहुन्छ ।





