घरभित्रै सुरक्षित छैनन् महिला ,,महिलामाथि घरेलुहिंसाको अवस्था कहालीलाग्दो,,, कर्णालीमा चार वर्षमा तीन हजार जना महिला पीडित
सुर्खेत, ४ चैत ।
गत फागुन २३ गते दैलेखको आठबीस नगरपालिका–३, निमायलकी ३५ वर्षीया सुकी बडुवालले तीन छोरी र एक छोरासहित कर्णाली नदीमा हाम फालिन् । कर्णाली नदीमा हामफालेका मध्ये सुकीसहित १५ वर्षीया कल्पना, १२ वर्षीया सरिता र ८ वर्षे छोरा ललितको पोष्टमार्टमपछि दाहासंस्कार गरिसकिएको छ । मंगलवार मात्र ७ वर्षीया रजनीको शव भेटिएको छ । घटनाको वास्तविक कारण प्रहरीको अनुसन्धानले 
देखाउला । तर घरेलुहिंसाका कारण नै सुकीले चार सन्तानसहति आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनु्सन्धानले देखाएको छ । घटनाको प्रकृति र सुकीका श्रीमान् मानसिंह बडुवालले दैनिक मदिरा सेवन गर्ने र यातना दिएका कारण यो घटना भएको पाइएको छ । सुकीले सन्तानसहित रोजेको आत्महत्याको घटनाले सिंगो समाजलाई नै त्रसित बनाएको छ । त्यस्तै गत असोज १६ गते हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाका २३ बर्षिया महिलामाथि भएको निर्मम व्यवहारले पनि महिलाहरु घरलेहिंसाबाट पीडित छन् भन्ने प्रमाणित गर्दछ । परपुरुषसँग लागेको आरोपमा दिसा खुवाउने, जुत्ताको माला र कालोमोसो दलेको घटनाले महिलामाथि भइरहेको बर्बरतालाई दर्शाएको छ । सिंगो समुदायले नै ति महिलामाथि गरेको व्यवहारले कर्णालीका महिलाहरु घरेलुहिंसाबाट कतिसम्म पीडित छन्भने पुष्टि गरेको छ । दैलेख
र हुम्लामा भएका यी घटना त केवल प्रतिनिधिमुलक मात्र हुन् । अज्ञानता र पुरुषवादी सोचकै कारण २१ औंँ शताब्दीमा पनि कर्णालीका अधिकांश महिलाहरु घरेलुहिंसाबाट पीडित छन् । घरेलुहिंसाबाट पीडितहरुको तथ्याङ्कलाई आधार मान्ने हो भने अहिले पनि कर्णालीमा घरेलुहिंसाको अवस्था कहालीलाग्दो छ । नारामा महिला र पुरुष समान भनिए पनि अधिकांश महिलाहरु पुरुषबाटै पीडित छन् । श्रीमान्बाट पीडित भएर कानुनी उपचारको लागि प्रहरीसँग गुहार माग्ने महिलाहरु दिनप्रतिदिन बढ्दै गएका छन् । पछिल्लो चार वर्षमा कर्णालीका झण्डै
तीन हजार महिलाहरु घरेलुहिंसाबाट पीडित बनेका छन् । तथ्याङ्क अनुसार प्रदेशभर २०७४ सालमा आठसय ५५ जना, २०७५ मा आठसय ५८ जना, २०७६मा ६ सय २७ जना र चालु आर्थिक वर्षको सात महिनामा चारसय ८१ वटा महिलामाथि हिंसाका घटनाहरु भएका छन् । पछिल्लो ४३ महिनामा कुल दुई हजार आठसय २१ जना महिलाहरु घरेलु हिंसाबाट पीडित भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता अर्जुन चन्दले आर्थिक अभाव, अज्ञानता, पुरुषवादी सोच र सामाजिक कुसस्कारका कारण महिलाहरुमाथि घरेलुहिंसा बढिरहेको बताए ।
चार सयले रोजे आत्महत्या !
पछिल्लो ४३ महिनामा चारसय भन्दा बढी महिलाहरुले आत्महत्या रोजेका छन् । घरेलुहिंसाका कारण ४३ महिनामा कर्णाली प्रदेशभर कुल चारसय २६ जना महिलाले आत्महत्या रोजेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४ मा ९८ जना, ०७५ मा ९६ जना, २०७६ मा एकसय २२ जना र चालु आर्थिक वर्षको सात महिनामा एकसय १० जना महिलाहरुले आत्महत्या गर्न बाध्य
भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवत्ता (वरिष्ठ प्रहरी उपरीक्षक) अर्जुन चन्दले जानकारी दिए । प्रहरीको तथ्याङ्क अनुसार घरेलु आत्महत्या गर्ने महिलाहरुको संख्या बर्षेनी बढ्दो क्रममा छ । जसमध्ये पनि शहरी क्षेत्रमै आत्महत्याका घटना बढी हुने गरेका छन् । कर्णाली प्रदेशभर सुर्खेत, दैलेख र सल्यानमा आत्महत्याका घटना बढी छन् । तथ्याङ्क अनुसार २०७४ मा सुर्खेतमा ३० जना, दैलेखमा ११ जना र सल्यामा ३३ जनाले आत्महत्या गरेका छन् । त्यस्तै २०७५ मा सुर्खेतमा २७ जना, दैलेखमा २४ जना र सल्यानमा २० जना, २०७६ मा सुर्खेतमा ५५, दैलेखमा १९ र सल्यानमा २३ जना र चालु आर्थिक वर्षमा सुर्खेतमा ३४, दैलेखमा १६ र सल्यानमा २१ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
सुर्खेतमा हिंसाका घटना धेरै
कर्णाली प्रदेशका दश जिल्ला मध्ये सुर्खेतमा सबैभन्दा बढी घरेलुहिंसाका घटनाहरु हुने गरेका छन् । घरेलु हिंसाबाट पीडित महिलाहरुले प्रहरीसँग दिएको घटनालाई आधार मान्ने हो भने पछिल्लो ४३ महिनामा सुर्खेतमा एक हजार पाँचसय ९८ वटा घरेलुहिंसाका घटना भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार प्रदेशभर सुर्खेतर दैलेख घरेलुहिंसा बढी हुने जिल्लामा पर्दछन् । दैलेखमा ४३ महिनाको अवधिमा तीनसय ४५ वटा घरेलुहिंसाका घटना भएका छन् । त्यस्तै जाजरकोटमा दुईसय ११, रुकुमपश्चिममा एकसय ५४, सल्यानमा एकसय १७, जुम्लामा एकसय ८३, हुम्लामा ६९, मुगुमा ३१, कालिकोटमा ६५ रडोल्पामा ४८ वटा घरेलु हिंसाका घटना भएका छन्
सात महिनामा पाँचसय उजुरी
यस्तै चालु आर्थिक वर्षको सात महिनामा झण्डै पाँचसय महिलाले घरेलु हिंसाबाट पीडित भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । न्याय माग्दै प्रहर ीसँग आइपुगेका उजुरी मध्ये सुर्खेतमा तीनसय १८, दैलेखमा ७४, जाजरकोटमा २२, रुकुमपश्चिमा १८, सल्यानमा २७, कालिकोटमा १४, हुम्लामा दुई र डोल्पामा ६ वटा उजुरी परेका छन् । प्रहर ीसँग पुगेका उजुरी मध्ये दुई सय ४४ वटा मिलापत्र भएका छन् भने बाँकी घटना छानबिनकै क्रममा छन् । चालु आर्थिक वर्षको सात महिनामा मुगु र जुम्लामा भने घरेलुहिंसाका उजुरी परेका छैनन् ।





